Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ६ मंगलबार
  • Tuesday, 22 September, 2020
मीनराज पन्थी
२०७७ श्रावण २१ बुधबार २०:३१:००
ब्लग डिजिटल संस्करण

पिसिआर मेसिनको दायरा बढाउने कि परीक्षणको ?

मीनराज पन्थी
२०७७ श्रावण २१ बुधबार २०:३१:००

कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित मुलुकहरूले परीक्षणको दायरा बढाउँदै लगिरहेका छन् । कतिपय मुलुकमा अहिले कोरोना फैलिने ग्राफ बिस्तारै झर्दै गएको देखिन्छ । तर, केही मुलुकमा संक्रमणको दर बढिरहेको छ । नेपालमा ६ साउनमा लकडाउन खुलेपछि पुनः संक्रमण दर बढ्दै गइरहेको प्रयोगशालाको तथ्यांकले देखाउँछ । 

लकडाउन खुल्नुअघि संक्रमण दर घटेको थियो, त्यसबारे सरकार र विज्ञका फरक–फरक धारणा देखिन्छन् । तर, अहिलेको विश्वव्यापी परिस्थिति हेर्दा कोरोनाको परीक्षण दर बढाएर संक्रमितको संख्या पत्ता लगाउनु उपयुक्त हुन्छ । संक्रमितलाई अइसोलेसनमा राखेर संक्रमण फैलिनबाट रोक्नु नै कोरोना रोकथापको उत्तम उपाय ठहरिएको छ । 

कोरोनाको परीक्षण दुई प्रकारबाट गर्ने गरिएको छ । एउटा आरडिटी विधि, जुन शरीरमा एनटिबडी बनेको छ वा छैन भनेर जाँच गरिन्छ । यस विधिबाट गरिएको परीक्षणको नतिजा केही मिनेटमै आउँछ । अर्को पिसिआर विधिबाट कोरोनाको परीक्षण गरिन्छ । यसमा शरीरमा भाइरसको जिन आर एन ए छ वा छैन भनेर हेरिन्छ । अहिले कोभिड–१९ को महामारीमा आरटिपिसिआर विधिबाट धेरै जाँच गरी संक्रमितलाई अइसोलेसन गर्ने र संक्रमण फैलिनबाट रोक्ने प्रयास भइरहेको छ । तर, पहिले आरडिटी विधिबाट पनि जाँच गरिएको थियो । जसको चर्को विरोध भएपछि अहिले सरकारले आरडिटी विधिबाट परीक्षण गर्न बन्द गरिसकेको छ । अब सम्पूर्ण परीक्षण आरटिपिसिआर विधिबाटै गर्ने घोषणा गरेर सरकारले काम गरिरहेको छ । 

किन पिसिआर नै गर्ने ? 

पिसिआर भनेको पोलिमरेज चेन रियाक्सन हो । यसले भाइरसको जिनलाई गुणात्मक रूपले बढाइदिन्छ । जसले शरीरमा भाइरसको लोड कम भए पनि यसले छ वा छैन भनेर देखाउँछ । संक्रमणको मात्रा कति छ भन्ने पनि पिसिआर परीक्षणबाट देखिन्छ । तर, आरडिटीमा भाइरसको संक्रमण विपरीत एन्टिबडी बनेपछि मात्र पोजेटिभ देखिन्छ । त्यसैले आरडिटीभन्दा भरपर्दो पिसिआर हुन्छ । तसर्थ संक्रमण रोक्नका लागि पिसिआर परीक्षणको दायरा बढाउनु उत्तम विकल्प हो । 

पिसिआर एक अति संवेदनशील परीक्षण प्रविधि हो । यसमा भाइरसको जिन पत्ता लगाउने रिएजेन्ट (प्राइमर)को प्रयोग हुने गर्छ । यो प्राइमर भाइरसको जिनको बनावटअनुसार डिजाइन गरिएको हुन्छ । एकै भाइरस भए पनि जिनमा मिउटेसन हुँदा डिजाइन गरिएको प्राइमर भाइरस सही तरिकाले पहिचान गर्न नसक्ने हुन सक्छ । अर्थात् फल्स नेगेटिभको सम्भावना बढेर जानेछ ।

फल्स पोजिटिभभन्दा पनि पिसिआरले फल्स नेगेटिभ देखाएर समुदायमा संक्रमित व्यक्ति पुग्दा कोरोना फैलिने अवस्था बढेर जाने हुन्छ । केही समयअघि नेपालमा प्रयोग भइरहेको प्राइमरले कोरोना भाइरस(म्याच नहुँदा) पहिचानमा समस्या हुन सक्ने निक्र्योलसाथ वैज्ञानिक लेख प्रकाशित भएको थियो । तसर्थ कोरोना भाइरस फैलिएको ६ महिना पुगिसकेको, भाइरसको जिनमा निरन्तर परिवर्तन आइरहेको, साथै नेपालमा भाइरस संक्रमितमा देखिएको लक्षण पनि विश्वको भन्दा भिन्न (लक्षणविहीन) देखिएकाले नेपालमा भाइरस पहिचानमा प्रयोग भइरहेको प्राइमर ठिक छ छैन भनेर हेर्नुपर्ने हुन्छ ।

हाल प्रयोग भइरहेको प्राइमर कोरोना देखिएको समयमा डिजाइन गरिएकाले हालसम्म उपयुक्त छ वा छैन हेर्न जरुरी हुन्छ । यदि पिसिआरको प्राइमरले सही पहिचान नगरी अर्थात् संक्रमितलाई पनि नेगेटिभ देखाए ठूलो गल्ती हुनेछ र ती संक्रमितहरू समुदायमा गएर अरूलाई कोरोना सार्ने ठूलो जोखिम हुनेछ ।

भरपर्दो उपाय हुँदाहुँदै पनि कहिलेकाहीँ यसको परीक्षणमा गडबडी भयो भने अवस्था असामान्य बन्न सक्छ । जसरी पाटन र टिचिङ अस्पतालमा जाँच गरेका सम्पूर्ण नमुना पोजेटिभ देखिएका थिए । यसैले नमुना संकलनदेखि जाँच गर्ने विधिसम्म अत्यन्तै संवेदनशील हुनुपर्छ । र, यसको ल्याब सेटअप पनि त्यत्तिकै संवेदनशील छ । जसरी पिसिआर सञ्चालनका लागि बि एस एल बायोसेफ्टी लेबललगायत ट्रेनिङ–प्राप्त एकेडेमिक मेनपावरको अत्यन्त जरुरी हुन्छ ।

अहिले केन्द्रीय प्रयोगशाला, केन्द्रीय अस्पताल, प्रादेशिक अस्पताल, प्रादेशिक प्रयोगशाला, विभिन्न गैरसरकारी अस्पताल र प्रतिष्ठान गरी जम्मा २९ वटा प्रयोगशालामा पिसिआर परीक्षण भइरहेको छ । सरकारी निर्णयअनुसार निजी प्रयोगशालालाई पनि परीक्षणको अनुमति दिने भनेपछि निजी प्रयोगशालाले जाँच गर्न पाऊँ भनी आवेदन दिएका छन् । ती प्रयोगशाला क र ख वर्गमा पर्छन् । जुन प्रयोगशालामा पहिले नै पिसिआर सेटअप छ । हाल सञ्चालन भएका सरकारीमातहतका प्रयोगशालामा दैनिक ५ हजारभन्दा माथि परीक्षण गर्ने क्षमता छ ।

जसरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको गाइडलाइनअनुसार क र ख वर्गभन्दा तलको प्रयोगशालामा पिसिआर सञ्चालन गर्न पाइँदैन । परीक्षणका लागि त्यसैअनुसारको मेनपावर पनि हुनुपर्छ । तर, अहिले कोभिड–१९ को सम्पूर्ण जाँच पिसिआर विधिबाट गर्ने भन्दै कुनै ल्याब सेटअपविना पिसिआर परीक्षण सञ्चालन गर्ने निर्णय विभिन्न जिल्ला, प्रदेश र पालिकामा भएको छ । पिसिआरको उद्घाटन गर्दै र खरिदका लागि टेन्डर अह्वान गर्दै गर्दा त्यसलाई कसरी दीर्घकालीन सञ्चालन गर्ने भन्ने योजना कसैले बनाएका छैनन् ।

ट्रेन एकेडेमिक मेनपावरविना खरिद गरेर सञ्चालन गर्दा त्यसबाट कस्तो प्रतिफल पाउन सकिएला ? महँगोमा खरिद गरेर कोभिड–१९ पछि यसको कसरी व्यवस्थापन गर्ने भन्ने योजना कसैले बनाएको पाइँदैन । त्यसलाई एक ठाउँमा थन्क्याएर नै राख्ने हो भने महँगो मूल्य तिरेर किन किन्ने ? तसर्थ स्थानीय तह वा जिल्लाले पिसिआर सञ्चालन गर्ने निर्णय गर्दै खरिदको टेन्डर आह्वान गर्दा केन्द्रीय सरकारले त्यसको अनुगमन गरी चाहिने वा नचाहिने के हो ? त्यसको निष्कर्ष ननिकाली पिसिआर सञ्चालन गर्न दिने हो त ?

यसरी मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको सवालमा तीनै तहका सरकारबीच एकअर्कामा समन्वय नहुँदा संघीयतामा स्वास्थ्य सेवाको मोडालिटी अलि फरक हुनुपर्छ भन्ने जनस्वास्थ्य विज्ञबीच बहस चलिरहेको छ ।