Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ५ सोमबार
  • Monday, 21 September, 2020
२०७७ श्रावण ११ आइतबार १७:३६:००
खेलकुद डिजिटल संस्करण

इपिएलको अन्तिम दिनमा क्लबका फरक लक्ष्य

२०७७ श्रावण ११ आइतबार १७:३६:००

सन् २०१९/२० को इंग्लिस प्रिमियर लिग (एपिएल)कै आइतबार अन्तिम दिन हो । इपिएलमा साँझ एकै समयमा हुने प्रतिस्पर्धाहरू रोमाञ्चकताले भरिनेछन् । युरोपियन च्याम्पियन्स लिगमा शीर्ष दुई क्लब लिभरपुल र म्यानचेस्टर सिटीले स्थान बनाइसकेका छन् । इपिएलबाट दुई क्लब छनोट हुन बाँकी छन् । यसमा तीन टोलीबीच प्रतिस्पर्धा चलिरहेको छ । तेस्रो स्थानको म्यानचेस्टर युनाइटेड, चौथो स्थानको चेल्सी तथा पाँचौँ स्थानमा रहेको लेस्टर सिटीले अर्को वर्षको च्याम्पियन्स लिगमा दाबेदारी दिइरहेका छन् । 

लेस्टरले युनाइटेडको सामना गर्नेछ । चेल्सीले उल्भ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रशिक्षक ओले सोल्सायरको प्रशिक्षणमा दोस्रोपटक च्याम्पियन्स लिगको स्थान पक्का गर्न युनाइटेडले लेस्टरलाई केवल बराबरीमा रोक्दा काफी छ । यदि लेस्टरले बाजी मारे युनाइटेडको छनोट गणितीय आधारमा बाँकी रहनेछ । उल्भ्सलाई हराउँदा वा बराबरीमा रोक्दा पनि चेल्सी चौथो टोलीका रूपमा च्याम्पियन्स लिगमा छनोट हुनेछ । 

 

 

‘हामीहरूको प्रयास तीन अंक हो,’ चेल्सीका प्रशिक्षक फ्याँक लाम्पार्डले भने, ‘लिगको अन्तिम खेल त्यति सहज छैन ।’ उल्भ्सले चेल्सीमाथि जित निकाल्दा लगातार दोस्रोपटक युरोपा लिगमा छनोट हुनेछ । यसले पनि चेल्सीका प्रशिक्षक लाम्पार्ड ढुक्क हुन नसकेका हुन् । ‘टोलीका लक्ष्य नै च्याम्पियन्स र युरोपा लिग हुन्, यसकारण चेल्सी र उल्भ्स गुमाउने पक्षमा छैनन्,’ लाम्पार्डले भने । 

गत २२ जनवरीमा ब्रुर्नलीसँग २–० ले पराजित हुँदा म्यानचेस्टर युनाइटेडको च्याम्पियन्स लिग त के शीर्ष चारको सम्भावनासमेत पातलिएको थियो । तर, लकडाउनबीच सुचारु भएको लिगमा युनाइटेडले सानदार प्रदर्शन गर्दै आफूलाई शीर्ष चारमा बलियो दाबेदारी प्रस्तुत गऱ्याे । युनाइटेडका प्रशिक्षक सोल्सायरले अन्तिम दिनमा शतप्रतिशत खेल्न निर्देशन दिएका छन् । 

सोल्सायर भन्छन्, ‘यसपटक शीर्ष चारमा लिग सकाउने सम्भावना छ, यसले नै खेलाडीहरूलाई अन्तिम दिन शतप्रतिशत नतिजा निकाल्न भनेको छु ।’ युनाइटेडले लिगको अन्तिम दिनमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आइरहेको उनले जनाए । सोल्सायरले भने, ‘इतिहास पल्ट्याउने हो भने युनाइटेडले अन्तिम दिनमा खराब नतिजा निकालेको छैन, यसकारण आज पनि म यस्तै नतिजाको अपेक्षा राख्छु ।’

जति युनाइटेडको च्याम्पियन्स लिग खेल्ने सम्भावना छ, त्यति नै लेस्टरको पनि छ । यसले त लेस्टरका प्रशिक्षक ब्रेन्डान रोजर्स अर्को सिजनमा आफ्ना खेलाडी च्याम्पियन्स लिग खेलेको सपना देखेको बताउँछन् । उनी भन्छन्, ‘यो निकै कठिन समय हो, एक गोलले खेलको नतिजा मात्र होइन, क्लबको भविष्यसमेत परिवर्तन गर्न सक्छ, यसकारण हामी पनि शीर्ष चारकै लागि खेल्नेछौँ ।’ 

शीर्ष चारपछि युरोपा लिग छनोटका लागि उल्भ्स र टोटनह्यामबीच घम्साघम्सी हुने देखिन्छ । सामान्य अवस्थामा इपिएलको अन्तिम दिन मिडिया निकै व्यस्त हुन्थे । च्याम्पियनसिप टोलीको सेलिब्रेसन, च्याम्पियन्स लिगमा छनोट हुँदाको क्षेण तथा रेलिगेसनमा परेको टोलीका खेलाडीको भाव क्यामरामा कैद गर्न फोटोदेखि टिभी जर्नालिस्टबीच तँडाडमछाड हुन्थ्यो । तर, यसपटक यस्तो केही देखिने छैन इपिएलको अन्तिम दिन । कोरोना भाइरसका कारण रंगशालामा दर्शक जान प्रतिबन्ध छ । 

 

 

रंगशालामा पनि सीमित मिडियालाई मात्र प्रवेश दिइएको छ । यसपटक आस्टोन भिल्ला, वाटफाेर्ड र बर्नेमाउथमध्ये एक टोली रेलिगेसनमा पर्नेछ । आस्टोन भिल्लाबाकेह वाटफोर्ड र बर्नेमाउथ रेलिगेन जोनमै छन् । नर्विच यसअघि नै रेलिगेसनमा परेको टोली हो । रेलिगेसन जोनमा रहेका टोलीबीच रमाइलो अंकगणितीय भिडन्त देखिन्छ । १७औँ स्थानको आस्टोन भिल्ला र १८औँ स्थानका वाटफोर्डले समान ३४ अंक बटुलेका छन् । 

१९औँ स्थानमा अवस्थित बर्नेमाउथको ३१ अंक छ । बर्नेमाउथ भिल्ला र वाटफोर्डभन्दा तीन अंकले पछि छ । भिल्लाले अंक–तालिकाको मध्यमा रहेको वेस्टहामको सामना गर्नेछ । वाटफोर्डले एफए कप फाइनलिस्ट आर्सनलविरुद्ध प्रतिस्पर्धा गर्नेछ । बर्नेमाउथले एभर्टनविरुद्ध भिड्नेछ  । रेलिगेसनको सम्भावना रहे पनि आफूहरू सुरक्षित रहेको आस्टोन भिल्लाका प्रशिक्षक डिएन स्मिथले दाबी गरेका छन् । स्मिथ भन्छन्, ‘हामी सुरक्षित छौँ र खेल पूर्ण रूपले नियन्त्रण राख्न सक्षम छौँ, तर खेल कस्तो हुन्छ भन्न सकिन्न ।’ 

यता युरोपमा आयोजना हुने फुटबल प्रतियोगिताको डाटा संकलन गर्ने संस्था ग्रासेनोटले बर्नेमाउथको ९५ प्रतिशत, वाटफोर्डको ७५ प्रतिशत र आस्टोन भिल्लाको २८.५ प्रतिसत रेलिगेसन हुने उल्लेख गरेको छ । यसपटक जेमिनी भार्डी गोल्डेन बुटका प्रबल दाबेदार हुन् । भार्डीलाई म्यानचेस्टर सिटीका केभिन डि ब्रेनेले पछ्याइरहेका छन् । आठ वर्षअघिको कुरा गर्दा पनि भार्डी प्रिमियर लिगका खेलाडी थिएनन्, त्यसवेला उनी स्थानीय क्लब फिटउडका खेलाडी थिए । 

यो आठ वर्षभित्र भार्डी एक विश्वस्तरीय खेलाडी बनेका छन् । लेस्टरका प्रशिक्षक ब्रन्डानले नै भार्डीको खोजी गरेका हुन् । एकपछि अर्को सिजनमा भार्डीले फिनिसिङमा राम्रो गरिरहेका छन् । ३३ वर्षीय भार्डीले यो सिजनमा २३ गोल गर्दै गोल्डेन बुटको दाबेदारी दिएका हुन् । उनले साउथह्याम्टनका डानीलाई दुई गोलले पछाडि राखेका छन् । लेस्टरले आफ्नै घरेलु मैदानमा युनाइटेडको सामना गर्दा भार्डी नै मुख्य आकर्षक खेलाडीका रूपमा रहनेछन् । पछिल्ला केही खेलमा भार्डी युनाइटेडविरुद्ध गोल गर्दै आइरहेका छन् । 

योपटक भार्डीले थप गोल गर्दा १८ वर्षपछि इपिएलमा बेलायती खेलाडीले गोल्डेन बुट जित्नेछन् । सन् १९९९–२००० को सिजनमा सन्डरल्यान्डका केभिन फिलिप्स तथा न्युकासलका एलान सेररले गोल्डेन बुट जितेका थिए । सन् २०१५/१६ को सिजनमा भार्डी गोल्डेन बुटका उपविजेता बनेका थिए । 

त्यस समयमा म्यानचेस्टर सिटीका अर्जेन्टिनी फवार्ड सर्जियो अगुएरो पनि दोस्रो नै भए । टोटनह्यामका ह्यारी केनले उपाधि जिते थिए । अर्कोतिर म्यानचेस्टर सिटीका  डेभिड सिल्भाले प्रिमियर लिगकै अन्तिम खेलमा उपस्थिति जनाउने छन् । गत जुनमा उनले सिटीबाट अर्को सिजन नखेल्ने घोषणा गरेका थिए । दश वर्षअघि सिटीमा आबद्ध भएका सिल्भाले तीन सय नाै प्रिमियर लिगमा सहभागिता जनाएका छन् । पक्कै पनि सिटीकै उत्कृष्ट खेलाडीमा गनिने सिल्भाको बिदाइ सानदार हुनेछ । तर, दर्शकविनाको बिदाइ उनको हुनेछ । ३४ वर्षीय सिल्भाले एक दशक सिटीमा बिताउँदा ११ उपाधि हात पारेका छन् ।

स्पेनिस राष्ट्रिय टोलीका पूर्वखेलाडी सिल्भा सिटीमा दश वर्ष बिताउनु सपनाझैँ लागेको बताए । उनी भन्छन्, ‘मेरो नजरमा दश वर्ष काफी हो, यो एक दशक सिटीमा कसरी बिताइयो, त्यो थाहा नै भएन, अब नयाँ खोज्नु गन्तव्यमा लाग्नुपर्छ, यसैकारण मैले अर्को सिजनमा यहाँ नहुने घोषणा गरेको हुँ ।’ 

सन् २०१० मा सिटीले उनलाई दुई करोड ४० लाख पाउन्डमा भ्यालेन्सियाबाट अनुबन्ध गरेको थियो । एक दशकमा सिल्भाले ६० गोल गर्नुका साथै ९३ पटक असिस्ट गरेका थिए । प्रिमियर सिगमा सिटीका अगुएरो २०११ यता सर्वाधिक गोल गर्ने खेलाडीमा पर्छन् । 


इंपिएल अंक–तालिका
स्थान    क्लब    खेल    गोल    अंक
१    लिभरपुल    ३७    ५०    ९६
२    म्यानचेस्टर सिटी    ३७    ६२    ७८
३    म्यानचेस्टर युनाइटेड    ३७    २८    ६३
४    चेल्सी    ३७    १३    ६३
५    लेस्टर    ३७    २८    ६२
६    उल्भ्स    ३७    १३    ५९
७    टोटनह्याम    ३७    १४    ५८
८    सेफिल्ड युनाइटेड    ३७    २    ५४
९    ब्रुनेली    ३७    –६    ५४
१०    आर्सनल    ३७    ७    ५३
११    एभर्टन     ३७    –११    ४९
१२    साउथह्याम्टन    ३७    –११    ४९
१३    न्युकासल    ३७    –१८    ४४
१४    क्रिस्टिल प्यालेस    ३७    –१९    ४२
१५    वेस्टहाम    ३७    –१३    ३८
१६    ब्राइटन    ३७    –१६    ३८
१७    आस्टोन भिल्ला    ३७    –२६    ३४
१८    वाटफोर्ड    ३७    –२७    ३४
१९    बर्नेमाउथ    ३७    –२७    ३१
२०    नर्विच    ३७    –४४    २१