Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ५ सोमबार
  • Monday, 21 September, 2020
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ९ शुक्रबार ०६:२३:००
अर्थ प्रिन्ट संस्करण

उद्योग वाणिज्य महासंघको चुनाव पुनः स्थगित

सरकारले सभा-सम्मेलन खुला गरेको १५ दिनभित्र साधारणसभा गर्ने निर्णय, तीन पदाधिकारीको ‘नोट अफ डिसेन्ट’

नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ९ शुक्रबार ०६:२३:००

नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ वार्षिक साधारणसभा तथा निर्वाचन पुनः स्थगित भएको छ । महासंघका पदाधिकारी तथा पूर्वअध्यक्षहरूको बिहीबार बसको बैठकले साउन २६ र २७ का लागि तय गरिएको साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो । 

सरकारले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सभा–सम्मेलन गर्न रोक लगाएको परिस्थितिमा साधारणसभा आयोजना गर्न नहुने महासंघले निर्णय गरेको हो । सभा–सम्मेलन खुला गरेको १५ दिनभित्र साधारणसभा गर्ने निर्णय भएको अध्यक्ष भवानी राणाले बताइन् । 

तोकिएकै मितिमा साधारणसभा तथा निर्वाचन गर्ने वा सार्ने विषयमा महासंघभित्र दुई पक्ष रहेका छन् । एउटा समूह समयमै निर्वाचन गर्नुपर्ने पक्षमा छ भने अर्को समूह सार्नुपर्ने पक्षमा छ । विवाद र अन्योलकै बीच महासंघका पदाधिकारी तथा पूर्वअध्यक्षहरू सम्मिलित बैठकले आसन्न साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो ।  

‘कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी साउन ५ गते सोमबारको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट अर्को निर्णय नभएसम्मका लागि कुनै पनि प्रकारको सभा–सम्मेलन तथा भेला आयोजना गर्न प्रतिबन्ध लगाएको निर्णयसमेतलाई आधार मानी महासंघको निर्धारित साउन २६ र २७ गतेको वार्षिक साधारणसभा सरकारले सभा–सम्मेलन तथा भेला गर्ने स्वीकृति दिएको १५ दिनभित्र आयोजना गर्ने,’ बैठकको निर्णयमा भनिएको छ ।  

कोरोना संक्रमणको जोखिम अझै कम नभएको तथा सरकारले सभा–सम्मेलनलाई अझै प्रतिबन्ध लगाएका कारण साधारणसभा स्थगित गर्न बाध्य भएको अध्यक्ष राणाले बताइन् । ‘साधारणसभा तथा निर्वाचनमा २ हजारदेखि २५ सय प्रतिनिधि सहभागी हुन्छन्, यसले कोरोना संक्रमणको जोखिम बढाउँछ,’ उनले भनिन्, ‘यदि सभा–सम्मेलन खुला हुन ढिलाइ भएमा भने नयाँ मोडालिटी बनाएर चुनाव गर्नेछौँ ।’

तीन पदाधिकारी र एक पूर्वअध्यक्षको फरक मत

साधारणसभा तथा निर्वाचन स्थगित गर्ने निर्णयमा महासंघकै तीन पदाधिकारी र एक पूर्वअध्यक्षले भने फरक मत राखेका छन् । महासंघको वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एसोसिएट उपाध्यक्ष चन्दप्रसाद ढकाल, कोषाध्यक्ष निरक केसी र पूर्वअध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालले फरक मत राखेका हुन् । 

कार्यसमितिको अधिकार मिचेर पदाधिकारीले साधारणसभा सार्न नहुने भन्दै निर्णयमा फरक मत राखिएको उपाध्यक्ष ढकालले बताए । ‘साउन २६ र २७ गते साधारणसभा र निर्वाचन गर्ने निर्णय महासंघको कार्यसमितिले गरेको हो, त्यसलाई पदाधिकारीले उल्ट्याउन सक्दैन,’ उनले भने, ‘अर्कोतर्फ महासंघले साधारणसभा अनुमति माग्दै गरेको पत्रको जवाफ पनि आइसकेको छैन ।’ 

हतार तथा हताश मनस्थितिमा साधारणसभा स्थगित गरेका कारण आफूहरूले फरक मत राखेको ढकालले बताए । बैठकमा निवर्तमान अध्यक्ष पशुपति मुरारका, पूर्वअध्यक्षहरू महेशलाल प्रधान, प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, सुरज वैद्य, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र उपाध्यक्ष किशोरकुमार प्रधान सहभागी थिए ।