Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २१ बुधबार
  • Wednesday, 05 August, 2020
२०७७ असार २८ आइतबार २०:४३:००
मुख्य समाचार डिजिटल संस्करण

झापामा बाढीले ३३ परिवार पूर्ण विस्थापित (फोटोफिचर)

२०७७ असार २८ आइतबार २०:४३:००

झापामा बाढीका कारण ३३ परिवार पूर्ण रूपमा विस्थापित भएका छन् । तटीय क्षेत्रमा रहेको बस्तीमा बाढी पस्दा ३३ घर पूर्ण रूपमा भत्किएका हुन् । 

यस्तै बाढीका कारण जिल्लाभरका दुई सय ४९ परिवार तत्काल घर फर्कन नसक्ने गरी विस्थापित भएका छन् । अविरल वर्षाका कारण झापामा रहेका साना–ठूला २७ वटा नदीमा पानीको बहाव बढेसँगै अधिकांश स्थान डुबानमा परेका छन् । कन्काई माई नदीले आसपासको क्षेत्रमा ठूलो क्षति पुऱ्याएको छ । नदी कटानका कारण शिवसताक्षी–१० का १० घर विस्थापित भएका छन् । विस्थापितहरूलाई कटान भइरहेको नदीछेउकै चौरमा त्रिपाल टाँगेर राखिएको छ । 

यस्तै, माई नदी कटानबाट झापा गाउँपालिका–७ मदरगाछाका १४ परिवार विस्थापित भएका छन् । १४ परिवारका ५२ जना जनकल्याण माविमा आश्रय लिइरहेका छन् । उनीहरूको खानाको व्यवस्थापन गाउँपालिकाले गर्ने अध्यक्ष जयनारायण साहले बताए । झापा गाउँपालिका–१ सालमारामा सात परिवार पूर्ण रूपमा विस्थापित भएका छन् । उनीहरू सालमारा प्राविमा बसिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । माई नदीका कारण गौरीगन्ज–१ हुकलबारीमा एक परिवार विस्थापित भएका छन् । यस्तै, कचनकवल–४ केचनाबस्तीको एक परिवार बाढीका कारण पूर्ण रूपमा विस्थापित भएको छ । उक्त परिवार छिमेकीकोमा आश्रय लिएर बसिरहेको छ । 

जिल्लाभर दुई सय ४९ परिवार विस्थापित
डुबानका कारण जिल्लाभरका दुई सय ४९ परिवार तत्काल घर फर्कन नसक्ने भएका छन् । उनीहरूलाई स्थानीय तवरमा व्यवस्थापन गर्ने कार्य भइरहेको रेडक्रस सोसाइटी झापामा सभापति लोकराज ढकालले जानकारी दिए ।

माई नदीमा आएको बाढीका कारण झापा गाउँपालिका–१ मिलनबस्ती र सालमाराका एक सय सात परिवार तत्काल घर फर्कन नसक्ने अवस्थामा छन् । गाउँपालिका अध्यक्ष साहका अनुसार उनीहरूलाई स्थानीय विद्यालयमा राखिएको छ । उनीहरूलाई खानाका व्यवस्था गाउँपालिकाले गरिरहेको छ । तर, सबै ठाउँ लजमग्न भएकाले खाना लैजानैसमेत सकस भएको अध्यक्ष साहले बताए । ‘त्यहाँसम्म पुग्न पौडन जान्नुपर्छ । उनीहरूलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा उद्धार गऱ्याैँ,’ उनले भने, ‘अब खाना व्यवस्थापनका लागि चामल, दाल लैजान्छौँ ।’ यस्तै, कन्काई माईले गौरीगञ्न्ज–१ हुकलबारीका ३१ र कमल खोलाले गौरीगन्ज–२ पिण्डारगुटु र भाकुमारीका १८ परिवार विस्थापित भएका छन् । उनीहरू तत्काल घर फर्कन सक्ने अवस्थामा नरहेको रेडक्रस झापाले जनाएको छ । माई नदीले शिवसताक्षी–१ र ६ का १५ परिवार तत्काल घर फर्कन नसक्ने गरी विस्थापित बनाएको छ । कचनकवलका ५० घरपरिवार विस्थापित भएको रेडक्रसले जनाएको छ । भद्रपुर–८ र ३ का २८ परिवार पनि डुबानका कारण विस्थापित भएका छन् ।

एकजनाको मृत्यु, एक बेपत्ता
बढीमा परी झापामा एकजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापाका दक्षिणी कचनाकवल, गौरीगन्ज झापा र बाह्रदशी बाढीका लागि उच्च प्रभावित क्षेत्र हो । यस्तै, शिवसताक्षी, भद्रपुर, गौरादह नगरपालिका र कमल गाउँपालिकाको दक्षिणी क्षेत्र उच्च जोखिममा रहेको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । जिल्लामा हरेक साल माई, रतुवा, बिरिङ, कमल, मेची, टाँगिङ, बनियानीलगायत नदी बस्तीमा पसेर वितण्डा मच्चाउने गरेका छन् ।

बाँध क्षति, दर्जनभन्दा बढी बस्ती जोखिममा 
रतुवा खुलाले कमल–५ स्थित पूर्व–पश्चिम राजमार्गको पुलमुनि बाँधमा क्षति पुगेको छ । जनता तठबन्धन कार्यक्रमले लगाएको पाँच मिटर चौडा र १७ मिटर लम्बाइको बाँध फुटाउन सुरु गरेको कार्यक्रमका इन्जिनियर जीतेन्द्र चौधरीले बताए । उनले भने, ‘यो बाँध भत्कियो भने ठूलो क्षति हुन्छ ।’

बाँध भत्किए कमला–६ को अधिकांश र ७ नम्बर वडा पूर्ण रूपमा बगाउने गाउँपालिका उपाध्यक्ष बेनु सिवाकोटीले बताए । ‘खोला पस्नै लाग्यो । हामीले बाँस त लगाएका छौँ । तर, थाम्न सक्ने अवस्था छैन,’ उनले भने, ‘यो बाँध भत्काइसक्नेबित्तिकै क्षतिको त अनुमान नै गर्न सकिँदैन ।’