Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २९ बिहीबार
  • Thursday, 13 August, 2020
नविन अर्याल काठमाडाैं
२०७७ असार २५ बिहीबार ०९:२३:००
नयाँCity

कोभिडले धर्मराउँदै ठमेल

नविन अर्याल, काठमाडाैं
२०७७ असार २५ बिहीबार ०९:२३:००

पर्यटन बन्द हामी के गर्ने ?
हामीलाई के दिने सरकार ?

पर्यटकीय हटस्पट ठमेलको चाक्सिबारी मार्गमा हिँड्दा माथि झुन्ड्याएको ब्यानरमा आँखा ठोक्किन्छन् । कालो ब्यानरमा लेखिएका सेता अक्षरले पर्यटन व्यवसायी र मजदुरको दयनीय अवस्था झल्काउँछ । 

कोभिड–१९ को विश्वव्यापी महामारीले सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा परेको छ । पर्यटन व्यवसायलाई थिलोथिलो बनाएको छ भने मजदुरको बिचल्ली भएको छ । लकडाउन खुकुलो बन्दै जाँदा अन्य व्यवसाय लयमा फर्किन थाले पनि पर्यटन व्यवसाय कहिलेदेखि खुल्ने यकिन छैन । ठमेलका पर्यटन व्यवसायी सुमन पाण्डे भन्छन्, ‘कोरोनाले जतिसुकै भयावह स्थिति सिर्जना गरे पनि यो अस्थायी हो, एक दिन पक्कै कोरोना हराएर जानेछ र पर्यटन क्षेत्र पुनः लयमा फर्किने छ ।’ 

छाया सेन्टरका सञ्चालक पाण्डेजस्तै पर्यटन क्षेत्रका अधिकांश व्यवसायी छिट्टै कोरोना मत्थर होला र आफ्नो व्यवसायले पनि लय समात्ला भन्ने आशामा छन् । तर, कोभिडको संक्रमण दिनप्रतिदिन बढिरहेको छ । पर्यटन विज्ञले भनिरहेका छन्, ‘कोरोनाले अर्थतन्त्रको परिभाषा नै बदलिदिनेछ ।’ यसको प्रत्यक्ष मार खेपिरहेको ठमेलको पनि लय बदलिने अनुमान गर्न थालिएको छ । 

लकडाउनले एक सय दिन पार गर्नैलाग्दा ठमेल डगमगाउन थाल्यो । केही व्यवसायीले घरभाडा तिर्न नसकेर पसल बन्द गरे । बैंकको किस्ता, घरभाडा र राज्यलाई कर तिर्न ताकेताले झन् सकस थपियो । ‘सरकारले भनेअनुसार नै व्यवसाय बन्द गरेर बसेपछि कहाँबाट पैसा ल्याएर घरभाडा, बैंकको ऋण र कर तिर्न सकिन्छ ?’ ठमेल विकास परिषद्का पूर्वअध्यक्ष रामशरण थपलिया भन्छन्, ‘सरकार, बैंक र घरधनीले व्यवसायीलाई बाँच्न सक्ने वातावरण बनाउनुपर्छ ।’

ठमेल छाड्दै व्यवसायी
ठमेलका स्थानीय तथा होटेल व्यवसायी कर्म गुरुङको घरमा ट्रेकिङका लागि चाहिने उपकरणहरूको पसल थियो । पर्यटन व्यवसायको भविष्य अनिश्चित देखेपछि पसलेले सटर बन्द गरेर आफ्नो बाटो लागे । खाली भएको सटरलाई रेनोभेट गरेर घरबेटी गुरुङले कफीसप चलाउँदै छन् । 

तीन दशकदेखि ठमेलमा फोटो व्यवसाय गरिरहेका ईश्वरी भण्डारीले कोरोनाकै कारण व्यवसायबाट हात झिकेका छन् । उनले ‘ठमेल फोटो जोन’बाट सबै सामान घरमा लगेर थन्क्याएका छन् । डेकोरेसनमा प्रयोग गरिएका सामग्री पनि सेकेन्डहेन्डमा बेचेका उनले घरबेटीलाई भनिदिए, ‘ल सटर खाली भयो है ।’ बैंकबाट ऋण लिएर घरबेटीलाई घरभाडा बुझाएको बताउँदै भण्डारी भन्छन्, ‘पछि अवस्था सहज भइदियो र कम भाडामा सटर पाइयो भने ठमेलमै पसल खोल्न सक्छु, अहिलेका लागि व्यवसाय बन्द गरेको हुँ ।’

चाक्सीबारीमा ह्यान्डमेड ज्वेलरी पसल चलाउँदै आएकी कोपिला सिम्खडाले पनि व्यवसायबाट हात झिकेकी छन् । कारण उही हो, ‘कोरोनाले पसल बन्द गर्नुपर्‍यो, पर्यटक तत्काल आउने देखिँदैन, पर्यटक नआई व्यापार हुँदैन, पसलको भाडा मिनाहा गरिदिने सुरसार देखिएन ।’ 

क्यापिटल कार्गोका सञ्चालक भरत दाहालले घरधनीसँग लङटर्म लिजमा लिएर अरूलाई सटर भाडामा लगाएका थिए । अगाडिका पाँचै सटरमा पसल राखेका व्यवसायीले भाडा घटाउन अनुरोध गरेका थिए, तर सुनुवाइ भएन । सबैले छोडेका छन् । 

कतिपय व्यवसायी व्यवसाय बन्द गरेर निस्किँदै छन्, कतिपय घरभाडा मिनाहा हुन्छ कि भनेर कुरिरहेका छन् । ठूलो लगानी गरिसकेका व्यवसायी तत्काल निस्किन सक्ने अवस्थामा छैनन्, राहत प्याकेजको पर्खाइमा छन् । परिषद्का पूर्वअध्यक्ष थपलियाका अनुसार ठमेलमा सात हजार पाँच सयको हाराहारीमा व्यवसाय सञ्चालनमा छन् । दुई सय ५० होटेल, करिब दुई सय रेस्टुरेन्ट तथा डिस्को, डान्स, दोहोरी र गजल साँझ गरी एक रात्रिकालीन व्यवसाय सञ्चालनमा छन् ।

कोभिड–१९ र लकडाउनले पर्यटन व्यवसाय थिलथिलो भएसँगै प्रमुख पर्यटकीय केन्द्र ठमेल पनि सकसमा छ । लकडाउन लम्बिएसँगै व्यवसायी छाडेर जान थालेपछि ४० वर्ष लागेर बनेको ठमेलको भविष्यबारे चर्चा सुरु भएको छ । 
 

बौरिएला ठमेल ?
कोरोनाको कहरपछि ठमेल पुरानै चमकधमकसहित बौरिएला त ? ठमेल भगवतीमार्गस्थित एलओडी क्लबका सञ्चालक रविन श्रेष्ठ ठमेल पुरानै अवस्थामा फर्किनेमा आशावादी छन् । उनी भन्छन्, ‘परिस्थिति सहज बनेपछि ठमेलको पुरानो चमकधम फर्किहाल्छ, कति समय लाग्छ भन्ने कुरा मात्र हो ।’ कोरोना संक्रमणबाट जोगिन सरकारले बन्द गरेपछि सबैभन्दा ठूलो मारमा रात्रिकालीन व्यवसाय परेका छन् । श्रेष्ठ थप्छन्, ‘क्लबमा ठूलो लगानी भइसकेको छ, त्यो पनि बैंकको चर्को ब्याजको ऋण । लकडाउन जतिसुकै लम्बिए पनि साना पसलजस्तै छाडेर जान सक्दैनौँ, केही न केही उपाय त पक्कै निस्किएला नि ।’ 

घरबेटीले घरभाडा र बैंकले ऋणको ब्याजदर घटाइदिए ठूलो राहत मिल्ने ठमेलका व्यवसायी बताउँछन् । यदि भाडा नघटाएमा धेरै व्यवसायीले ठमेल छाडेर हिँड्नुपर्ने बताउँछन् फोटो व्यवसायी ईश्वरी भण्डारी । घरभाडा घटाउने विषयमा घरबेटी र व्यवसायीबीच छलफल पनि चलिरहेको छ । कतिपय घरबेटीले भाडा घटाएका पनि छन् । ‘घरबेटीले घरभाडा, बैंकले ब्याज र किस्ता बुझाउने समयावधिमा सहुलियत दिनुपर्छ, सरकारले राहत प्याकेज ल्याएर व्यवसायीलाई जोगाउनुपर्छ,’ व्यवसायी सुमन पाण्डे भन्छन् ।

लकडाउन खुकुलो भएसँगै केही पसल र रेस्टुरेन्ट खुलेका त छन्, तर ग्राहक देखिँदैनन् । विदेशी पर्यटक नआउँदासम्म ठमेल बौरिनेवाला छैन । ‘ठमेलको पर्यटन रिकभर हुन तीनदेखि पाँच वर्षसम्म लाग्न सक्छ,’ थपलिया भन्छन् । 

ठमेल पर्यटकीय केन्द्र बन्न झन्डै ४० वर्ष लागेको हो । सन् १९७० को दशकमा वसन्तपुरको झोंछे चकाचक थियो । हिप्पीको घुइँचो लाग्थ्यो । झोंछे साँघुरो भएपछि पर्यटन ठमेलतिर सरे । होटेलको स्तर वृद्धि हुँदै पाँचतारे डिलक्स होटेलसम्म खुलिसकेका छन् । म्यारियट, अलफ्ट, शेराटन र लीला प्यालेस गरी चारवटा बहुराष्ट्रिय होटेल ब्रान्ड भित्रिसकेका छन् । पाण्डे भन्छन्, ‘पर्यटक आउन थाले भने ठमेल ब्युँतिहाल्छ ।’ 

ठमेल साना तथा मध्यमखालका व्यवसायको हब नै हो । अहिले ठूला व्यवसायी पनि ठमेलमै केन्द्रित देखिन्छन् । ‘व्यवसायीलाई घरभाडा र बैंकको ऋणको समस्या हो, भरथेग गर्न सक्नेहरू टिक्छन्,’ पाण्डे भन्छन्, ‘आज कसैले पसल बन्द ग¥यो भने पनि भोलि चहलपहल सुरु हुनेबित्तिकै अर्को व्यवसायी आइहाल्छ । कोरोनाले एउटा व्यवसायी विस्थापित होला, तर समग्र ठमेल नै विस्थापित हुँदैन ।’