Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २२ बिहीबार
  • Thursday, 06 August, 2020
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २४ बुधबार ०७:४१:००
मुख्य समाचार प्रिन्ट संस्करण

नयाँ आइजिपी : इमानदार छवि, मध्यम क्षमता 

नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २४ बुधबार ०७:४१:००

सरकारले एआइजी शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी)मा नियुक्त गरेको छ । उनले अबको २२ महिना प्रहरीको नेतृत्व गर्नेछन् ।मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले वरीयताका आधारमा थापालाई आइजिपी नियुक्त गरेको हो । हालका आइजिपी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि अवकाश पाउँदै छन् । थापाले बिहीबारदेखि नेतृत्व सम्हाल्नेछन् । 

आइजिपीका लागि थापासँगै अर्का एआइजी हरिबहादुर पाल पनि प्रतिस्पर्धामा थिए । तर, वरीयतामा थापा पहिलो नम्बरमा थिए । एआइजी पालले सरकारको निर्णयसँग आफ्नो कुनै गुनासो नभएको र नवनियुक्त आइजिपी थापालाई पूर्ण सहयोग गर्ने बताए । थापाले पनि सामूहिक नेतृत्वका आधारमा अघि बढेर प्रहरीलाई बलियो बनाउने प्रतिबद्धता जनाएका छन् । प्रहरी नियमावलीको व्यवस्थाअनुसार थापाले १८ वैशाख ०७९ सम्म प्रहरीको नेतृत्व गर्नेछन् । 

आइजिपी नियुक्तिमा यसपटक विगतमा जस्तो अस्वस्थ प्रतिस्पर्धा र विवाद भएन । गृहमन्त्री रामबहादुर थापा बादलका राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ले कार्यदक्षता, कार्यक्षमता र निष्पक्षताका आधारमा नियुक्ति भएको बताए । 

इमानदार छवि, मध्यम क्षमता 

१९ वैशाख ०४९ मा नेपाल प्रहरीमा १६ जना इन्स्पेक्टर खुला प्रतिस्पर्धाबाट भर्ना हुँदा शैलेश थापा क्षेत्रीको नाम पहिलो नम्बरमा थियो । त्यसयता आफ्नो ब्याचमा उनी प्रायः अग्रस्थानमा रहे । डिएसपीमा भने उनकै ब्याचका राजेशलाल कर्ण पहिलो नम्बरमा बढुवा भएका थिए । सेवा परिवर्तन गरी फरेन्सिकतर्फ गएकाले उनी छिटो बढुवा भए । पछि फेरि कर्ण प्रशासनतर्फ नै एसपीमा पहिलो नम्बरमा बढुवा भएर आएका थिए । दोस्रो नम्बरमा दिलीप चौधरी र तेस्रोमा थापा बढुवा भएका थिए । 

तर, एसएसपीमा फेरि थापा नै पहिलो नम्बरमा बढुवा भए । त्यसपछि डिआइजी र एआइजीमा पनि पहिलो नम्बरमा नै बढुवा हुन सफल भए । वरीयता र इमानदारी नै उनलाई महानिरीक्षक बन्ने ढोका बन्यो । २८ वर्षको प्रहरी करिअरमा उनी कुनै विवादमा परेका छैनन् । थापाको इमानदारीमाथि पनि अहिलेसम्म प्रश्न नउठेको प्रहरी अधिकारीहरू बताउँछन् । तर, नेतृत्वमा हुनुपर्ने कमान्ड क्षमता र राजनीतिक नेतृत्वसँग ‘डिल’ गर्ने कार्यशैलीमा भने उनी कमजोर रहेको गृह मन्त्रालयका एक अधिकारीले बताए । कार्यक्षमतामा मध्यम भएको प्रहरी अधिकारीहरूको टिप्पणी छ । 

भक्तपुर कटुन्जेका स्थानीय थापा पूर्वप्रहरीकै छोरा हुन् । उनका बुबा शम्भु थापाले डिआइजीबाट अवकाश पाएका थिए, जो इमानदारीका लागि प्रहरीमा कहलिएका थिए । प्रहरीको २८औँ महानिरीक्षक उनका छोरा शैलेश पनि इमानदारिताकै शक्तिमा सधैँ बढुवामा अगाडि रहँदै नेतृत्वमा पुगेका छन् । महानिरीक्षक पदमा पनि त्यो छवि कायम राख्नु नै उनको सबैभन्दा चुनौती रहेको प्रहरी अधिकारीहरू बताउँछन् ।