Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २४ शनिबार
  • Saturday, 08 August, 2020
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २० शनिबार ०६:४०:००
अर्थ प्रिन्ट संस्करण

भैरहवा विमानस्थलको व्यवस्थापन जर्मनीको म्युनिख एयरपोर्टलाई नदिइने, प्राधिकरणले नै सञ्चालन गर्ने

नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २० शनिबार ०६:४०:००

जिटुजीअन्तर्गत म्युनिखलाई सञ्चालनको जिम्मा दिने वा ठेक्का प्रक्रियाबाट छनोट गर्ने विषयमा प्राविधिक समितिमा एकमत हुन नसकेपछि सरकार म्युनिखलाई दिने तयारीबाट पछि हटेको हो । अब यो विमानस्थल नागरिक उड्डयन प्राधिकरणले नै सञ्चालन गर्नेछ ।

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गभर्मेन्ट टू गभर्मेन्ट (जिटुजी) मोडलबाट सञ्चालन गर्न दिने प्रक्रियाबाट सरकार पछि हटेको छ ।जर्मनीको ‘म्युनिख’ विमानस्थललाई भैरहवा विमानस्थल सञ्चालनको जिम्मा दिने प्रक्रिया अगाडि बढाएको सरकार अन्तिम चरणमा पछाडि हटेको हो । म्युनिखसँगको प्रक्रिया रोकिएपछि तत्काल अर्को व्यवस्था नभएसम्म नागरिक उड्डयन प्राधिकरणले नै विमानस्थल सञ्चालन गर्नेसमेत निर्णय भएको छ । 

पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय र प्राधिकरणका प्रतिनिधि सम्मिलित प्राविधिक समितिमा म्युनिखलाई दिने विषयमा सहमति नभएपछि सरकार पछाडि हटेको हो । ‘प्राविधिक समितिमै एकमत भएन, त्यसपछि तत्काललाई म्युनिखलाई दिने प्रक्रिया रोकिएको छ,’ प्राधिकरण स्रोतले भन्यो । 

समितिमा हवाई उड्डयन ऐन २०५३ मा ‘विमानस्थल, निर्माण, सञ्चालन र संरक्षणको जिम्मा नागरिक उड्डयन प्राधिकरणको हुने’ उल्लेख छ । यो प्रावधानले भैरहवा विमानस्थलको पनि प्राधिकरणले नै सञ्चालन गर्नुपर्ने हुन्छ । तर, सरकारले जर्मनीको म्युनिखलाई सञ्चालनको जिम्मा दिने तयारी गरेपछि समितिमा एकमत हुन नसकेको हो । म्युनिखलाई दिनुपर्दा तत्काल ऐन संशोधन गर्नुपर्ने अथवा सार्वजनिक बोलपत्र अह्वान गरेर मात्रै कम्पनीको छनोट गर्नुपर्ने विषयमा विवाद भएपछि प्रक्रिया नै रोकिएको छ ।  

नेपाल सरकारकै आग्रहमा म्युनिखले गत कात्तिकमा ३० वर्षका लागि विमानस्थल सञ्चालनका लागि विस्तृत प्रस्ताव पठाएको थियो । सरकारले सोही प्रस्तावका आधारमा दुईपक्षीय छलफललाई तीव्रता दिएको थियो । गत फागुनमै प्रस्ताव तयार पारेर सम्झौताको सहमतिका लागि मन्त्रिपरिषद् पठाउने तयारीसमेत गरिएको थियो । ‘जिटुजी मोडलमा चलाउने निर्णय भए पनि बोलपत्र आह्वान नभएकाले विवाद हुने डरले सरकार पछाडि हटेको हो,’ प्राधिकरण स्रोतले भन्यो ।

‘म्युनिख’ले ०७५ माघमा नेपाललाई अनौपचारिक प्रस्ताव गरेको थियो । गत वर्ष साउन पहिलो साता नेपाल सरकारलाई औपचारिक पत्र लेख्दै भैरहवा विमानस्थलको सञ्चालन जिम्मा दिन आग्रहसहितको पत्र पठाएको थियो ।

उक्त पत्र आएसँगै साउन अन्तिम साता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको थियो । सोही सैद्धान्तिक सहमतिसँगै मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको नेतृत्वले ‘म्युनिख’को टोलीसँग विभिन्न चरणका वार्ताहरू गरेको थियो । मन्त्रालयले ‘म्युनिख’लाई विस्तृत प्रस्ताव पेस गर्न आग्रह गरेको थियो ।

‘प्रविधि भित्र्याउन र व्यवस्थापन हेर्न र सिक्नका लागि पनि जिटुजी वा सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमा जानुको विकल्प नभए पनि प्रक्रिया नमिलेकाले पछाडि हटेको हो,’ स्रोतले भन्यो । केही समयअगाडि पर्यटनमन्त्री योगेश भट्टराईले पनि जिटुजीबाट सञ्चालकको टुंगो नलागे सरकार आफैँले विमानस्थल सञ्चालन गर्ने बताएका थिए । ‘प्रक्रियागत हिसाबले र कानुनी सबै कुरा हेरेर काम अगाडि बढ्छ, नभए प्राधिकरणले विमानस्थल सञ्चालन गर्नेछ,’ मन्त्री भट्टराईले भने । 

विमानस्थल निर्माणको लागत ३३ अर्ब 
सन् २०१८ मै निर्माण सम्पन्न गरेर सञ्चालन गर्ने गरी सन् २०१६ मै विमानस्थल निर्माणको जिम्मा ठेकेदार कम्पनी चिनियाँ नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले पाएको थियो । विमानस्थल निर्माणको लागत करिब ३३ अर्ब पुगेको छ । आयोजना निर्माणका लागि ८ अर्ब ५५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको थियो । तर, लागत बढेर पहिलो चरणमै १० अर्ब पुग्ने अनुमान गरिएको छ । यता मुआब्जाका लागि २३ अर्ब रुपैयाँ खर्च भइसकेको छ । 

ठेकेदार कम्पनीले पटक–पटक निर्माणको अवधि तन्काउँदै जाँदा अन्य प्रक्रियामा समेत असर परेको छ । जनवरीसम्ममा सम्पन्न गर्ने भन्दै गत जुनमा डिसेम्बरसम्मको समय अवधि थपिएको थियो । तर, कम्पनीलाई पुनः तीन महिना समय थप गरेर गत मार्च अन्तिम तथा चैत १५ सम्मको समय दिइएको थियो । कोभिड–१९ का कारण पुनः म्याद थप गरेर डिसेम्बर २० सम्म निर्माण अवधि बढाइएको छ । 

चिनियाँ कम्पनीले सन् २०१४ मा निर्माणको ठेक्का पाएको थियो । एसियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१६ देखि निर्माण सुरु गरिएको थियो । २०१८ मा सञ्चालनमा ल्याउने घोषणा गर्दै निर्माण सुरु भए तापनि हालसम्म पनि सम्पन्न हुन सकेको छैन । 

विमानस्थलको स्तरोन्नतिसँगै सन् २०२० सम्ममा ६० लाख यात्रु धान्न सक्ने गरी गुरुयोजना निर्माण भएकोे थियो । विमानस्थल ३ हजार मिटर लामो धावनमार्ग र ४५ मिटर चौडाइ रहेको छ । धावनमार्गको कालोपत्रेको काम सम्पन्न भइसकेको छ भने टर्मिनल भवनसमेत निर्माणको अन्तिम चरणमा पुगेको छ । बाँकी इक्युपमेन्ट, रेडार बत्ती तथा प्रविधि जडानको काम भने अझै हुन सकेको छैन । 

भैरहवा विमानस्थल सञ्चालनमा अझै १० महिना
कोभिड–१९ का कारण गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा अझै १० महिना पर धकेलिएको जनाएको छ । सरकारले ठेकेदार कम्पनीलाई निर्माण सम्पन्न गर्नका लागि डिसेम्बर २० सम्मको अवधि थप गरेको छ । ‘हामी यतिवेला विमानस्थल सञ्चालनमा ल्याएका हुन्थ्याैं, तर अब समय केही धकेलिएको छ,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भने । विभिन्न देशबाट आउनुपर्ने सामग्री नआउँदा पनि समस्या आएको मन्त्री भट्टराईको भनाइ छ । लकडाउनको अवधिमा विमानस्थलमा थप ३ प्रतिशत काम भएको समेत मन्त्री भट्टराईले जानकारी दिए । अहिले विमानस्थलको काम ९१ प्रतिशत सम्पन्न भएको छ । अब डिसेम्बरसम्मका ठेकेदार कम्पनीहरूले काम सम्पन्न गरेर सरकारलाई बुझाउने र त्यसको तीन महिनामा तयारी गरेर विमानस्थल सञ्चालनमा ल्याउने मन्त्री भट्टराईको भनाइ छ ।