Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण १९ सोमबार
  • Monday, 03 August, 2020
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार ३ बुधबार ०७:१५:००
खेलकुद

फुटबल रिटर्न्स

नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार ३ बुधबार ०७:१५:००

तीन महिना बित्यो, इंग्लिस प्रिमियर लिग (इपिएल) स्थगित भएको । सन् १८८८ मा सुरु भएदेखि यति लामो समय लिगका खेल रोकिएको यो नै पहिलोपटक हो । नत्र, युद्धमा पनि इंग्लिस फुटबल रोकिएको थिएन । यसबीच, फ्रेन्च लिग ‘लिग वन’ले भने स्थगन गर्नुअघि खेलिएका खेलका अंकका आधारमा लिग विजेता (पिएसजी)को टुंगो लगाएको छ भने नेदरल्यान्ड्सले लिग नै रद्द गरेको छ । 

खाली रंगशालामा प्रतिस्पर्धा गराउँदै बुन्डेसलिगा सुरु भएको एक महिना हुन लाग्यो, ला-लिगा १० जुनदेखि पुनः सञ्चालनमा आयो । प्रिमियर लिग बुधबारदेखि सुरु हुँदै छ ।

कोरोना महामारीका कारण रोकिएको इपिएल पुनः सुरु गर्न हतारोमा छन्, लिभरपुल क्लब र यसका समर्थक । हतारो नहोस् पनि कसरी, लिग रोकिँदै नौ खेल बाँकी हुँदा दोस्रो स्थानको सिटीसँग लिभरपुलले २५ अंकको स्पष्ट अग्रता बनाएको थियो । र, बाँकी दुई खेलमै टाइटल सुनिश्चित गर्ने ध्याउन्नमा थियो ।

३० वर्षयता यो ‘युरोपियन जायन्ट’ले इपिएल उपाधि उचालेको छैन । पछिल्लोपटक सन् १९९० मा लिभरपुलले १८औँ पटक लिग जित्दा यसको चिरपरिचित प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडले जम्मा सातपल्ट उपाधि चुमेको थियो । यसबीच ‘रिभर मर्सी’मा कति पानी बग्यो भन्ने हिसाब छैन, तर एलेक्स फर्गुसनको युनाइटेडले लिभरपुललाई त्यतिमै रोक्दै आफ्नो लिग टाइटल संख्या २० पु-यायो । 

खाली रंगशालामा प्रतिस्पर्धा गराउँदै बुन्डेसलिगा सुरु भएको एक महिना हुन लाग्यो, ला-लिगा १० जुनदेखि पुनः सञ्चालनमा आयो । प्रिमियर लिग बुधबारदेखि सुरु हुँदै छ।

फर्गुसनको बहिर्गमनपछि ‘रेड डेभिल’ अब डेभिलजस्तो छैन भने क्लोपको आगमनमा ‘द रेड’को रङ झन् गाढा बन्दै आएको छ । तिनको लिग जित्दै ऐतिहासिक साख फर्काउने व्यग्रतालाई भने कोभिड–१९ ले तीन महिनापछि धकेलिदिएको छ ।

पुनः इपिएल सुरु गर्न अझै धेरै कठिनाइ छन् । खेल्न राम्रो तयारी पनि चाहियो । खेलाडी कसरी फिट होलान् भन्ने पिरलो एकातिर छ । अर्कोतिर, खाली रंगशालामा इपिएलका बाँकी ९२ खेल सात साताको व्यस्त तालिकाबीच सकाउनुको विकल्प पनि छैन ।

‘प्रिमियर लिग पुनः सुरु भए यसले मुलुककै मनोबल बढाउनेछ,’ बेलायती विदेशमन्त्री डोमिनिक राबले भनेका छन् । तर, प्रिमियर लिग पुनः सुरु गर्ने विषयमा मुलुकको मनोबलभन्दा यसको आर्थिक पक्षको मुख्य भूमिका छ । यो सिजन नसकाए इंग्लिस क्लबले विश्वभरको प्रत्यक्ष प्रसारणको करिब ३० करोड पाउन्ड गुमाउनेछ । क्लबले ठूलो राशिमा पारिश्रमिक खर्चनुपर्छ, बीचैमा लिग रोकिँदा उल्टो प्रायोजकले पैसा फिर्ता माग्न सक्छन् ।

पैसा एउटा पाटो हो, तर भाइरस संक्रमणको जोखिम उठाउनु पनि हुँदैन । फुटबल समूहमा खेलिन्छ र संक्रमण फैलिने त्यत्तिकै सम्भावना हुन्छ । त्यसैले लिग सुरु गर्नुअघि र भइसकेपछि पनि परीक्षणका सम्पूर्ण मापदण्ड पूरा गर्नैपर्छ । लिग सञ्चालनमा आए पनि यो खल्लो र दिक्कलाग्दो भने पक्कै हुनेछ । दर्शकविनाको फुटबल अस्वाभाविक र अप्राकृतिक मात्र देखिनेछैन, यसले खेलाडीलाई पनि निराश पार्नेछ । तर जे होस्, फुटबल लयमा फर्कंदै छ । यो एकदमै विषम परिस्थिति हो, तर धेरैको चाहना जसरी भए पनि फुटबल सुरु होस् भन्ने नै छ ।

फुटबल थुप्रै संकटमाझ गुज्रेको छ । १ सेप्टेम्बर १९३९ मा जर्मनीले पोल्यान्ड कब्जा ग¥यो । भोलिपल्ट इंग्लिस लिग सुरु हुँदै थियो । त्यसै दिन बेलायतले पनि युद्धको घोषणा ग¥यो । ठूलो जमातमा भेला हुन निषेध गरियो, लिग स्थगित भयो । दुई महिनाभित्रै फेरि लिग सञ्चालनमा आयो । दर्शक नआउलान् भन्ने पिर थियो, तर पनि समर्थक भेला भए । किनकि, फुटबलका दर्शकलाई भेला हुन छुट दिइयो । यस्तै, ८ जुन १९४० को ‘वार कप’ फाइनल साँझ ६ः३० मा सुरु भएको थियो । बमबारीका बाबजुद विम्बलीमा ४२ हजार तीन सय दर्शक उपस्थित थिए ।

बीसौँ शताब्दीमा विश्वका सरकारले अहिलेभन्दा ठूला संकट बेहोरे, तर फुटबलका लागि यो नै सबैभन्दा विषम क्षण हो । फुटबल अद्भूत छ, यसले आफ्नो बाटो आफैँ तय गर्छ । संकटसँग जुध्न फुटबललाई सिकाइरहनुपर्दैन।

दोस्रो विश्वयुद्ध दौरान पनि फुटबल खेलियो । जर्मनीले सन् १९४५ अप्रिल अन्त्यसम्मै फुटबल खेल्यो, १९४३-४४ को सिजन पूरा नभए पनि फ्रान्सले हरेक सिजन वार कप विजेताको घोषणा ग-यो, नेदरल्यान्ड र इटालीले भने क्रमशः एक र दुई सिजन गुमाउनुपर्‍यो ।

६ डिसेम्बर १९४४ मा नाजीनियन्त्रित हंगेरीको बुडापेस्टमा रुसी सेनाले हमला गर्‍यो, त्यही दिन उजपेस्ट क्लबका प्रशिक्षक गेजा केर्टेजले अभ्यास सकेर पत्रकार सम्मेलनमा आगामी क्लब डर्बीका बारेमा बोले । साँझ उनलाई स्थानीय फासिस्टले समातेर गेस्टापोलाई सुम्पे । दुई महिनापछि उनको हत्या गरियो । तर पनि त्यहाँको लिग रोकिएन ।

लचिलो भएको र सबै पक्षले फुटबललाई रुचाउने कारण युद्धमा पनि खेल जारी हुन सम्भव भएको विज्ञहरू बताउँछन् । जर्मनीले युक्रेन कब्जा गरेपछि पनि लिगलाई स्थिति सामान्यीकरणतिर गएको बिम्बको रूपमा लिइयो ।

पुरानो डायनामो किभका खेलाडीले भरिएको स्टार्ट र नाजीको प्रतिनिधित्व गर्ने लुथ्वाफेबीचको खेल प्रशासनले मारामारको स्थिति आउने जोखिमबीच पनि चल्न दिइरह्यो । दोस्रो विश्वयुद्धमा बेलायत सरकारले पनि फुटबल दर्शकका लागि भीडभाडको प्रतिबन्ध खोलिदिएको थियो । त्यसको कारण फुटबलको प्रभाव भिन्न हुनु नै हो।

तर, युद्ध र भाइरसबीच तुलना गर्न मिल्दैन । अहिलेको शत्रु अदृश्य छ र यसले फुटबल रहेछ भनेर छोड्नेवाला पनि छैन । खेल्दाखेल्दै संक्रमण हुने जोखिम त्यत्तिकै छ । यसका लागि निश्चय नै भाइरसको संक्रमण दर तल झर्नुपर्छ । रंगशालाभित्र आवश्यक स्रोत-साधन उपलब्ध हुनुपर्छ । अभ्यासस्थलमा पनि सुरक्षित वातावरण हुनुपर्छ । यति भइसकेपछि भने फुटबल रोकिरहनु कुनै कारण छैन । सबै उद्योग लकडाउनपछि सञ्चालनमा आउन लागिपरेका छन् । फुटबलले पनि किन उनीहरूको सिको नगर्ने ?

बुन्डेसलिगाको पुनरागमन नै एउटा ठूलो परीक्षण हो । ‘खेलाडीका लागि सुरक्षाको त्यस्तो प्रावधान अपनाइएको छ, जुन अरू कुनै क्षेत्रमा छैन,’ बोरुसिया डर्टमन्डका प्रशिक्षक कास्र्टन कार्मर भन्छन्, ‘तर, यदि हामी असफल भयौँ भने फुटबलको इतिहासकै सबैभन्दा विद्रुप परिणाम आउनेछ ।’

महामारीबाट बच्न फुटबल सही समयमा रोकियो । १७ जुनदेखि सबैभन्दा लोकप्रिय इपिएलले पनि पुनरागमन गर्दै छ । यद्यपि, जोखिम कम भएको छ भनेर निक्र्योल गर्न कठिन छ । लिभरपुलको गीतले ‘तिमी एक्लो हुनेछैनौ’ भनेजस्तै फुटबल एकलकाँटे खेल हुँदै होइन । 

मैदानभित्र र बाहिर पनि यसको सञ्जाल व्यापक छ । ‘बीसौँ शताब्दीमा विश्वका सरकारले अहिलेभन्दा ठूला संकट बेहोरे, तर फुटबलका लागि यो नै सबैभन्दा विषम क्षण हो,’ खेल विश्लेषक जोनाथन विल्सनले गार्जियनमा लेखेका छन्, ‘किनकि, यसले एक्लै रहन दिँदैन । तर, फुटबल अद्भूत छ, यसले आफ्नो बाटो आफैँ तय गर्छ । संकटसँग जुध्न फुटबललाई सिकाइरहनुपर्दैन ।’

(एजेन्सीकाे सहयाेगमा)