Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २१ बुधबार
  • Wednesday, 05 August, 2020
सञ्जय शर्मा
२०७७ जेठ २७ मंगलबार १०:०३:००
दृष्टिकोण

अलगीकरणको राष्ट्रवाद

सञ्जय शर्मा
२०७७ जेठ २७ मंगलबार १०:०३:००

हामी भारतीयलाई मात्र गाली गरिरहेका थिएनौँ, नश्लवाद पनि पोख्दै थियौँ, विषाक्त पुरुषत्व देखाउँदै थियौँ, भारतीय पनि त्यसै गर्दै थिए 

भारतसँग सीमा–विवाद बढ्दै जाँदा सामाजिक सञ्जालमा थुप्रै थरी राष्ट्रवादी पोस्ट साझा गरिए । धेरैजसो यस्ता पोस्टमा भारतलाई गाली गरिएको थियो । नेपालले आफ्नो ठानेको भूमिमा धाबा बोलिएका कारण यस्तो हुनु स्वाभाविक पनि थियो । नेपाली र भारतीय साइबर सेनाले एकअर्काविरुद्ध थुप्रै ‘अट्याक’ र ‘काउन्टर अट्याक’ पनि गरे । झगडामा दुवै पक्षबाट तल्लो स्तरको गालीगलोज पनि भयो । हामी भारत, भारतीय मिडिया र भारतीयलाई मात्र गाली गरिरहेका थिएनौँ, नश्लवाद पनि पोख्दै थियौँ । विषाक्त पुरुषत्व देखाउँदै थियौँ । भारतीय पनि त्यसै गर्दै थिए । तर, यो लेखमा नेपालका आयाममा केन्द्रित रहौँ । 

नेपालीले राष्ट्रियता र क्षेत्रीयता प्रस्तुत गर्ने क्रममा फेरि पनि आफूभित्र जमेर बसेको राष्ट्रवाद, नश्लवाद, पितृसत्ता र औपनिवेशिक मानसिकता पनि प्रदर्शन गरे । यो लेख लेख्न सोच्दै गर्दा दीपेन्द्र झा र सरिता गिरीको राष्ट्रियतामाथि प्रश्न उठाइँदै थियो भने मनिषा कोइरालामाथि निम्नस्तरको टिप्पणी गर्ने भारतीय मिडियाको चर्को विरोध हुँदै थियो । मिनेन्द्र रिजाल, रवि लामिछाने र राजेश हमालको वाहवाही हुँदै थियो । लेख्दै गर्दा वर्षा राउतमाथि सामाजिक सञ्जालमा घटियास्तरको हमला हुँदै थियो । ऋतिक रोशन काण्ड र इराकमा १२ नेपाली मारिएपछि घटित साम्प्रदायिक दंगा र सबै मधेस आन्दोलन र भारतीय नाकाबन्दीताका मधेसी समुदायमाथि हुने नश्लीय लाञ्छना र जातीय भेदभावको गन्ध लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गर्दा सामाजिक सञ्जालमा देख्न पाइयो । महिलामाथि हुने घरेलु हिंसा र राज्यले तीमाथि गरेको दोस्रो दर्जाको व्यवहारलाई सामाजिक सञ्जालमा राष्ट्रवाद र राष्ट्रियताको जामा पहि¥याइन्थ्यो । 

नेपाली राष्ट्रियताको सवालमा थुप्रै छुटाउन नहुने खालका विषय छन् । तर, पहिचान र स्वाधीनता मुख्य विषय हुन्, जुन धेरै हदसम्म एक–अर्काका पर्याय पनि हुन् । हामी गौतम बुद्ध, सगरमाथा र सीताको छवि संस्थागत गरेर नेपाली हुनुको पहिचान दिन्छौँ । त्यस्तै भारत र चीनसँगको सिमानाबाट र घरेलु अर्थराजनीतिमा बाहिरी शक्तिको चलखेल निस्तेज भएको सार्वभौम राष्ट्रको परिकल्पना गर्छौं । कुनै मुद्दा यी दुवै मापदण्डमा टेकेर सैद्धान्तीकरण हुन्छन् । जस्तै– ‘वीर गोर्खाली’को अवधारणा पहिचान र स्वाधीनता दुवैसँग जोडिन्छ । यो अवधारणाले नेपाली राष्ट्रियतामा पहिचान थप्ने काम मात्र गर्दैन, गोर्खाली साम्राज्यद्वारा स्थापित भौगोलिक सिमानाको समेत अवधारणा तय गर्छ । भर्खरैको नक्सा विवादमा ‘ग्रेटर नेपाल’को नक्सा सतहमा यही कारण आएको थियो । हाम्रो राष्ट्रियता र राष्ट्रवादमा ‘वीर गोर्खाली’को इतिहास र वर्तमान गहिरो गरी जोडिएको छ । र, रोचक कुरा के हो भने पञ्चायतकालीन ‘वीर गोर्खाली’को अवधारणा ब्रिटिस उपनिवेश, राष्ट्रवाद, क्षेत्रीयता, पुरुषत्व र नश्लवादसँग जोडिएको छ । यो लेखले यी विषयको उठान गर्नेछ ।

गोर्खाली सेनासँग रुष्ट र गोर्खाली युद्धबन्दीलाई पश्चिम नेपालमा जम्मा गरेर बेलायतले ‘गुर्खा रेजिमेन्ट’ निर्माण सन् १८१४–१६ को नेपाल–बेलायत युद्धका वेला गरेको थियो । पछि ब्रिटिस साम्राज्यको औपनिवेशिक स्वार्थ पूरा गर्न ब्रिटिस गोर्खा प्रयोग भयो । रसियन युद्ध होस् वा दुइटै विश्वयुद्ध वा इराक र अफगानिस्तानमा, नेपालीले बेलायतका लागि लडिरहे । ब्रिटिस गोर्खामा भर्ती हुनुमा आर्थिक कारण नै मुख्य थियो । सँगसँगै राणाशासकले पहाडबाट खासगरी जनजाति युवालाई जबर्जस्ती पनि गल्लावालको जिम्मा लगाए (थप सन्दर्भका लागि मेरी डेसेनको १९९१ को पिएचडी शोधपत्र) । निरंकुश व्यवस्था टिकाउन राणाले आफ्ना नागरिक ब्रिटिसका लागि खटाइरहे । । बिस्तारै भर्ती सांस्कृतिक महत्वको विषय पनि हुन पुग्यो । आर्थिक रूपले सम्पन्न मात्र नभएर ‘ब्रेभ गुर्खाज’को उपनामले संसारभरि चर्चित नेपाली युद्ध कौशलका लागि ब्रिटिसको सेवामा लागिरहे । हाल आएर यो भू–राजनीतिले पनि महत्वपूर्ण हुन पुगेको छ । ब्रिटिस गोर्खा सैनिकले सपरिवार ब्रिटिस पासपोर्ट प्राप्त गर्न सक्छन् । गोर्खाली सँगसँगै सिख र पठान युवालाई ‘ब्रिटिस इन्डियन आर्मी’मा भर्ती गरेर ब्रिटिसले आफ्नो पुँजीवादी, साम्राज्यवादी र विस्तारवादी वर्चस्व दशकौँसम्म पूरा गरिरहे ।

यो पितृसत्तात्मक समाजमा महिलाले भोग्ने दुःख पुरुषले कहिल्यै भोग्दैनन् र बुझ्न सक्दैनन्, हिन्दू राष्ट्रवादी र अतिवादी बढ्दै गएको हाम्रो समाजमा एउटा मुस्लिमले कैयौँपटक आफ्नो राष्ट्रियता पुष्टि गर्नुपर्छ, जातीय विभेदग्रस्त समाजमा अन्तर्जातीय विवाह गरेकै कारण मर्नुपर्छ । 

राष्ट्रियता र पहिचान : पछिल्लो लेखमा बेनेडिक एन्डरसनको ‘इम्याजिन्ड कम्युनिटिज’को अवधारणामा जब कुनै नेपालीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रहेका नेपाली मिलेर एउटा नेपाल राष्ट्र बन्छ भन्ने विषयमा छलफल गरे । त्यो नेपाली कल्पनाको एउटा ठूलो खोट पञ्चायतकालीन ‘एक भाषा, एक भेष’को अवधारणामा थियो । नेपाली राष्ट्रियता र नेपाली हुनुको परिभाषामा नेपाली बोल्ने, हिन्दू धर्म मान्ने, ‘उपल्लो’ जातको मध्यमवर्गीय पुरुष सजिलैसँग अटाउँछन् । यसमा गैरपहाडे, ‘उपल्लो’ भनिने जातबाहेकका मानिस, हिन्दूधर्म नमान्ने, नेपाली भाषा बोल्न नजान्ने, निम्नवर्गीय र पुरुषबाकेकका लिंग (महिला मात्रै होइन) लाई अटाउन हम्मे–हम्मे पर्छ । यहाँ राष्ट्रियताको वर्गीकरण र अलगीकरण हुन्छ । कसैले पहाडे राष्ट्रवादभन्दा भिन्न कुरा गरे त्यो बहिष्करणमा पर्छ । उदाहरण सरिता गिरी वा वर्षा राउत ।

राष्ट्रियताको अवधारणा पहिचानसँग नजिक हुन्छ । वीर गोर्खालीको एकात्मक संरचनामा पहाडे हिन्दू पितृसत्तात्मक राष्ट्रियता अटाउन खोजिए पनि यो पहिचानको विषय अरू धेरै कोणमा गएर ठोक्किन्छ । कति कोण समानान्तर रेखा बनेर निस्कन्छन् भने थुप्रै पहिचानका मुद्दा एक–आपसमा बाझिन्छन् । जस्तै– नेपालमा बस्ने कोही हिन्दू छन्, कोही छैनन् । नेपाली बोल्न नजान्ने थुप्रै छन् । कहिल्यै ढाकाटोपी र दौरा–सुरुवाल नलगाउने पनि छन् । कोही जातभात मान्दैनन् वा यस्तो वर्गीकरण गर्ने धर्म नै मान्दैनन् । कोही महिला, कोही पुरुष, कोही दुवै लिंगमा नपर्ने । एउटै मान्छेको पहिचान बहुआयामिक हुन्छ, बहुपहिचान बोकेको हुन्छ । यस्तो हाम्रोमा मात्रै होइन, संसारभरि हुन्छ ।

‘म र तिमीबीच फरक छ’ भनेर जनाउन पहिचान अपरिहार्य हुन आउँछ । यसरी आफू वा आफ्नाबाट अरूलाई अलग्याउनुलाई अंग्रेजीमा ‘अदरिङ’ भनिन्छ, नेपालीमा अलगीकरण भनौँ । नेपाली राष्ट्रियता र पहिचानको सवालमा अलगीकरणको मुद्दा पुरानो हो । पञ्चायतकालको अन्त्य हुँदासम्म नेपाली हुनु भनेको खस पहाडे उपल्लो जातको दौरा–सुरुवाल लगाउने, नेपाली भाषा बोल्ने र दसैँ मनाउने पुरुष बुझिन्थ्यो । अन्य धर्म, भाषा, लिंग, जात–जाति छँदै थिएनन् भनेको होइन, तर जे–जति अन्य थिए, ती अन्य नै भइरहे । अलगीकरणमा परिरहे । राज्यले तिनलाई दोस्रो दर्जाको व्यवहार गरिरह्यो । आमनागरिकले त्यही सिके, अहिले सामाजिक सञ्जालमा देखाइरहेका छन् ।

पहिचानको मुद्दासँग आफ्नो र पराईको द्वैधता प्रस्ट देखिन्छ । कसैले ‘म नेपाली हुँ’ भने अरूलाई ‘तिमी नेपाली होइनौ’ भनेको हुन सक्छ । खासमा नेपालभित्रै ‘म नेपाली हुँ’ भनिरहनु पर्दैन । नेपाली प्रस्ट बोल्न पनि नसक्नेले बारम्बार भनिरहेको हुन सक्छ । ‘म पहाडे हुँ’ भनेर सायदै भनिन्छ । तर, नश्लवादी देशमा ‘तिमी मधेसी हौ’ भनेर धेरै ठाउ“मा विभेद गरिन्छ । यो पितृसत्तात्मक समाजमा महिलाले भोग्ने दुःख पुरुषले कहिल्यै भोग्दैनन्, त्यसैले बुझ्न सक्दैनन् । हिन्दू राष्ट्रवादी र अतिवादी बढ्दै गएको हाम्रो समाजमा एउटा मुस्लिमले कैयौँपटक आफ्नो राष्ट्रियता पुष्टि गर्नुपर्छ । जातीय विभेदग्रस्त समाजमा अन्तर्जातीय विवाह गरेकै कारण मर्नुपर्छ । 

वीर गोर्खालीको निर्माण : पाश्चात्य साम्राज्यवादी शक्तिहरूले पूर्वीय संस्कृतिलाई ‘रोमान्टिसाइज’ गरेर प्राच्यवाद (ओरिएन्टलिजम) को परिकल्पना गरे । पूर्वलाई असभ्य भनेर पाश्चात्य सभ्यतालाई श्रेष्ठ देखाउनु प्राच्यवादको उद्देश्य थियो । संसारमा धेरैथरीका प्राच्यवाद चर्चित थिए । यो लेखमा वीरताको निर्माणलाई पुरुषत्वसँग जोड्न जाँदै छु । ख्यातिप्राप्त प्राध्यापक एडवर्ड सइद भन्छन्, ‘यसरी साम्राज्यवादीहरूको प्राच्यवादमा औपनिवेशिक देशहरू (जस्तै– टर्की, इरान, भारत) ले पनि सहमति जनाउँछन् । साम्राज्यवादीहरूले आख्यान वा गैरआख्यानको सहयोगले औपनिवेशिक जनताको एकखाले चरित्र निर्माण गरेका हुन्छन् र उपनिवेशका मानिसहरूले यो चरित्रलाई ग्रहण गरेका हुन्छन् ।’ सइद भन्छन्, ‘प्राच्यवाद रोमान्टिसाइज गरिएको परिदृश्य र झुटको खेती मात्र होइन । यसमा साम्राज्यवादीहरूले शताब्दीयौँ लगानी गरेका हुन्छन्, सिद्धान्त प्रतिपादन गरेका हुन्छन् । र, यसलाई प्रयोगमा ल्याएका हुन्छन् ।’ सइदको समालोचनामा परेका ‘असभ्य अरबहरू’को परिकल्पना, प्राध्यापक सैयद हुसेन अलातासले समालोचना गरेका दक्षिणपूर्वी एसियाका ‘अल्छी आदिवासी’को चित्रण र हामी सबैले सुन्ने गरेको ‘ब्रेभ गुर्खाज’को निर्माणमा ठेलीका ठेली किताब लेखिएका छन् ।

सन् १९८० सम्म ब्रिटिस गोर्खाका बारेमा ३२० वटाजति लेख–रचना प्रकाशित थिए । पछिल्ला ४० वर्षमा यो संख्या आकासिएको हुनुपर्छ । सोआस युनिभर्सिटीका प्राध्यापक लिओनेल काप्लानको वर्गीकरणअनुसार ‘वीर गोर्खाली’का विषयमा अंग्रेजी भाषामा लेखिएका किताबलाई सैन्य इतिहास, संस्मरण र आत्मवृत्तान्त, फोटोग्राफीका किताब तथा भर्तीमा काम लाग्ने हाते किताब गरी चार भाग लगाउन सकिन्छ । 

प्राच्यवादी ‘वीर गोर्खाली’को निर्माणमा सघाउन ‘सैन्य जातिको सिद्धान्त’ (मार्सियल रेस थ्यौरी) को प्रतिपादन भयो, जसले कुनै विशिष्ट जातिमा सैन्य कौशल अरूभन्दा धेरै हुने बताउँछ । गोर्खालीको साथसाथै स्कटल्यान्डका पहाडे जाति, सिख र पठानमा पनि यस्तो कौशल रहेको विश्वास गर्ने बेलायतीले अध्ययन र निजी अवलोकनका आधारमा यस्ता जातिलाई अरूभन्दा बलिया र आँटिला हुने देखाउँदै थुप्रै किताब लेखे (प्राध्यापक हेथर स्ट्रिट्स सल्टरको समलोचनाहरू) । 

यस्तो सिद्धान्तको अवधारणा कुनै जातिलाई विशेष देखाएर फाइदा उठाउनु मात्रै थिएन, जातविशेषलाई अर्कोभन्दा कनिष्ठ बनाउनु पनि थियो । दक्षिण एसियामा बेलायतीले गोर्खाली, सिख र पठानलाई वीर मात्र बनाएनन्, पढालिखा बंगालीको बढ्दो राजनीतिक पहुँच कम गर्न तिनलाई डरपोक, पुरुषत्व कम भएको र स्त्रीवत् भनेर व्याख्या गरे । यसले दक्षिण एसियामा व्याप्त लैंगिक विभेदलाई झनै मलजल गर्‍यो । गोर्खालीलाई ‘जब्बर, कट्टर, आत्मानुशासित र हसमुख’ भनी परिभाषित गरे । साथै समथर भूभागका (जस्तै बंगाली) लाई ‘नरमरनिर्धो’ भन्ने गर्थे (काप्लानको वारियर जेन्टलमेन, मृनालिनी सिन्हाको कोलोनियल म्यास्कुलिनिटी, हेदर स्ट्रिट्सको मार्सियल रेसेजलगायत समालोचना) । अहिलेको नेपाल–भारत विवादमा यो भावना प्रसारित देखिन्छ । विषाक्त पुरुषत्व देखाउन थुप्रै लालायित देखिन्छन् ।

तर, प्राच्यवादी ब्रिटिसले चलाखीपूर्वक यी ‘बलिया र आँटिला’ पूर्वीय ‘जाति’हरूलाई तर्क गर्न नजान्ने र अविवेकी भनेर वर्गीकरण गरे अनि आफूलाई विशिष्ट । गोरा ब्रिटिस, पहाडे गोर्खाली र समथरका भारतीयबीच दर्जा बनाए, अलगीकरण गरे र आफूलाई सबैभन्दा श्रेष्ठ स्थापित गराए । 

‘विभाजन गर र शासन गर’को नीति ब्रिटिसले अंगीकार गरे, सफल पनि भए । सन् १८५७ को विद्रोहदेखि मलायाको युद्धसम्ममा गोर्खालीले यो पुष्टि गरिदिए । थुप्रै युद्धमा सामेल भएर धेरैले ज्यान गुमाए । नेपालीले आफूलाई वीर बनाइरहे । यही पछि पहाडे नेपाली राष्ट्रियतामा परिणत गरियो । तिनले भारतीयलाई निर्धो ठानिरहे, जुन हालसम्म पनि ‘भारतीयजस्तो देखिने’माथि अलगीकरण गर्ने अस्त्रका रूपमा प्रयोग भइरहन्छ ।

नेपाली राष्ट्रियताको निर्माण : ब्रिटिस गोर्खालीलाई ‘बहादुर, बफादार, र सैन्य कौशल भएको’ भनेर ब्रिटिसले लेखे,  सो कुरा नेपालीले सिरोपर गरे । महेन्द्रीय राष्ट्रवादको निर्माणताका काठमाडौंका पढालिखा वर्गको यस्तो संरचना निर्माणमा विशेष योगदान रह्यो । नेपाललाई ‘एक राष्ट्र’का रूपमा चिनाउन भानुभक्तीय नेपाली भाषाको उत्खनन गरेर मुलुकभरि नेपाली भाषाको पठनपाठन र बोलचालमा जोड दिइएको थियो (थप सन्दर्भका लागि इतिहासकार प्रत्युष वन्तको सन् १९९६ मा सिन्हास् जर्नलमा प्रकाशित लेख) । दार्शनिक मिसेल फुकोलले भनेझैँ राज्यशक्तिको नजिक जो थियो, उसैले ज्ञानको निर्माण गर्न थाल्यो । यसबाट पहाडे ‘उच्च’ जातका सम्भ्रान्त पुरुषले बढी फाइदा उठाए । 

नेपाल कहिल्यै उपनिवेश नरहेको पढ्दा आफ्नै शासकहरूले पहिले ब्रिटिस र पछि भारतको सहानुभूतिमा राज्य चलाएको पढेनन्, पुरुषत्वले ओतप्रोत राष्ट्रवादलाई कहिल्यै प्रश्न गरेनन् । मुढेबलले जितिन्छ भन्ने पढे तर कूटनीतिले युद्धभन्दा बढी काम गर्छ भन्ने पढेनन् । 
 

‘उपल्लो’ भनिने जातले बोल्ने ‘खस कुरा’लाई राष्ट्रिय भाषा बनाएपछि पञ्चायती राज्यले बहुजातीय र बहुभाषिक मुलुकलाई नेपालीकरण गर्न थाल्यो । हाम्रा बहुआयामिक पाटालाई ढाकाटोपी र दौरा–सुरुवालको पर्दाले छोप्न थालियो । नेपाली राष्ट्रियताको निर्माण गर्न अगाडि भनिएजस्तै ‘एक भाषा, एक भेष’को अवधारणा आयो । प्रत्युष वन्त (सन् १९९६) यसमा थप्दै तर्क गर्छन्, ‘वीर गोर्खाली’को अवधारणाले बहुजातीय नेपाललाई राष्ट्रिय एकताको सूत्रमा बाँध्न खोज्यो । राष्ट्रियतालाई चिनाउन देशको बहुजातीय, बहुभाषिक, बहुधार्मिक चित्रलाई वीर गोर्खालीको एकसूत्रीय भावनाले जित्न थाल्यो । गोर्खाली राज्यद्वारा जसका पुर्खाको हत्या भयो, तीसमेत ‘वीर गोर्खाली’को सूत्रमा बाँधिन थाले ।

नेपाली भाषाको राष्ट्रियकरणमा साहित्यकारहरूको विशेष भूमिका छ । उनीहरूले वीर नेपालीबारे ठेलीका ठेली रचना गरे । नेपाली भाषा शिक्षालाई अनिवार्य बनाएर, अन्य मातृभाषा पठनपाठन र बोलीचालीलाई निरुत्साहित गरेर, नेपाली पाठ्यक्रममा राष्ट्रवादी सामग्री पढाएर, रेडियो टिभीमा राष्ट्रप्रेमी गीत घन्काएर वीरताको पहिचान राज्यले संस्थागत गर्‍यो । चलचित्रबाट पनि भएको छ (राजेश हमालले नेपाल–भारत सीमा स्तम्भ बोकेर ‘ठीक’ ठाउँमा गाडेको दृश्य हाल सामाजिक सञ्जालमा चर्चित छ) । 

सामाजिक सञ्जालमा झगडा गर्ने नेपाली खुकुरी बोकेर भारतीय क्षेप्यास्त्रसँग लड्न तयार भए । यसो किन गरे भने हामीले सानैदेखि यही पढ्दै र सुन्दै आइरहेका छौँ । काँगडामा लड्दाको वीरगाथा मात्र पाठ्यक्रममा पढियो, लड्नेको चीत्कार कहिल्यै पढिएन । वीर गोर्खालीको कथा पढाउँदा ब्रिटिससँग हारेको कथा महत्वका साथ पढाइएन । नेपाल कहिल्यै उपनिवेश नरहेको पढ्दा आफ्नै शासकहरूले पहिले ब्रिटिस र पछि भारतको सहानुभूतिमा राज्य चलाएको पढेनन् । ‘म कहिल्यै नझुक्ने नेपालको छोरो’ गीत मात्र सुने । पुरुषत्वले ओतप्रोत राष्ट्रवादलाई कहिल्यै प्रश्न गरेनन् । मुढेबलले जितिन्छ भन्ने पढे तर कूटनीतिले युद्धभन्दा बढी काम गर्छ भन्ने पढेनन् । 

तराई र हिमालका कैयन् समुदायलाई नेपाली राष्ट्रियताको साँघुरो घेराभित्र जबर्जस्ती अटाउन खोजियो । घेरा यति बलियो हुँदै गयो कि कसैको राष्ट्रियतामाथि प्रश्न उठाउन कसैले हिन्दी वा भोजपुरी बोलिरहनु पर्दैन, वर्ण नै विभेद गर्न काफी छ । काठमाडौंमा तरकारी बेच्नै पर्दैन, संसद्मा पुगे पनि वर्गीकरणमा परिरहन्छन् । धोती लगाउनै पर्दैन, लुम्बिनीमै जन्मे पनि बुद्धसँगको सम्बन्धमा प्रश्न खडा हुन्छ । ब्रिटिसको ‘फुटाऊ र राज गर’ नीति यतिसम्म ग्रहण गर्‍यौँ कि दाजुभाइ– दिदीबहिनीमाथि शंका गर्न थाल्यौँ । यसमा न नेपाली अछुतो छन्, न भारतीय नै ।

वर्गीकरणको राजनीति : नेपाली राज्यले राष्ट्रवादमा सबैभन्दा बढी प्रयोग गर्ने अस्त्र भारतको खलनायिकीकरण गर्नु हो । भारतले पाकिस्तानलाई खलनायक देखाउँछ । अहिले बन्दुकको नाल नेपालतर्फ पनि सोझिएको छ । महेन्द्रको पालादेखि सत्ता टिकाउन ‘इन्डिया कार्ड’ र ‘चाइना कार्ड’ प्रयोग गरिरहेकै छन् । भारतलाई शत्रु र चीनलाई मित्र सोच्ने मानसिकता निर्माणमा यसको ठूलो हात छ । पहाडे नेताले भारतसँग सम्झौता गर्दा नियतमा प्रश्न उठाइन्छ, राष्ट्रियतामा होइन । मधेसी नेताले गरे राष्ट्रियतामै प्रश्न उठाइन्छ । संसद्मा हिन्दी भाषामा बोल्दा सरिता गिरीको राष्ट्रियतामाथि प्रश्न गर्नु पुरुष पहाडे खसभाषीय राष्ट्रवादबाट प्रेरित छ । आमाको नामबाट नागरिकता नपाउने कानुन त्यही संकीर्ण राष्ट्रवादबाट प्रेरित छ । यो राष्ट्रवादले प्रशान्त तामाङलाई आफ्नो देख्छ, धोती लगाउने नेपालीलाई पराई । आर्थर गन र भिम निरौला समेटिन्छन्, तर वर्षा राउत बहिष्करणमा पर्छन् । 

महामारीले थपेको अलगीकरण : कोभिड–१९ को प्रकोप बढ्दै गर्दा अलगीकरण, वर्गीकरण र नश्लवाद झनै उदांगियो । नागरिकलाई आफ्नै देश फर्कन वञ्चित गरियो । भारतबाट फर्किएका नेपालीसँगै कोभिड–१९ पनि देश भित्रिँदा प्रधानमन्त्रीले नै ‘भारतीय भाइरस’ भनेर वर्गीकरण गरे । थुप्रैले आफ्नै घर आउन खोज्ने नेपालीलाई छिर्न दिन नहुने तर्क गरे, सरकारको लाचारीमाथि प्रश्न गरेनन् । रेमिट्यान्समार्फत अर्थतन्त्रमा भरथेग गरिरहेका नै बहिष्करणमा परे । कसैले आउँन खोज्दा–खोज्दै प्राणत्याग गरे । भारतबाट धार्मिक समारोहमा सहभागी भएर आएका त झन् घृणाको पात्र बनाइए । क्वारेन्टाइनमै बसेका युवाले स्वास्थ्य सेवा नपाएर ज्यान गुमाउँदा सरकारको आलोचना कम, भारतबाट आएका (अझ गैरहिन्दू) को ज्यादा भयो । सयौँ किलोमिटर पैदल हिँड्न बाध्य पारिएकाको कथाले समाज कति वर्गीय छ भनेर देखाइरह्यो । 

राष्ट्रवादको वर्गीकरणलाई अझ सघाउन सीमामा काँडेतार लगाउने सुझाब आए । राष्ट्र (नेसन–स्टेट) को परिकल्पनामा ठोस सिमानाको अवधारणा पर्छ । तर, डोनाल्ड ट्रम्पले भन्नेजस्तो पर्खाल वा काँडेतारले कसलाई छेक्न खोजेको हो ? तस्करी गर्ने त सरकारसँगै काँधमा काँध मिलाएर धन्दा जारी राख्छन् नै ।  सांस्कृतिक र निजी सम्बन्ध रहेका सीमावारि र पारिका बासिन्दालाई ब्रिटिसले सिकाएको ‘फुटाऊ र राज गर’को मानसिकताबाट हामी कहिले माथि उठ्ने ? अहिले हाम्रो प्राथमिकतामा कोभिड–१९ हो कि काँडेतार ? खै हामीले सरकारमाथि दबाब दिन जानेको ?

अन्त्यमा : भारतसँग लिम्पियाधुरामा ‘लड्न तयार’ हामी ‘वीर गोर्खाली’को संरचनाबाट माथि उठ्न जरुरी छ । कसैले भनेजस्तो देशका लागि मर्ने–मार्ने युगको अन्त्य जरुरी छ र अन्तर्राष्ट्रिय सीमा–विवाद कूटनीतिबाट टुंगोमा पुर्‍याउन जरुरी छ । निश्चय पनि राष्ट्रियताको कुरा भावनात्मक हो । राज्यले भावनात्मक हुन नै सिकाउँछ । नेताले राष्ट्रवादी गफ दिएर गिर्दो लोकप्रियता उकास्न खोज्छन् । भइरहेको त्यही हो । नेपाल र भारतमा पनि लोकरिझ्याइँ गर्ने सत्तामा छन् । अकर्मण्यता लुकाउन राष्ट्रवादको चर्को नारा लगाइरहन्छन् । हामीले अब याद गर्नु जरुरी छ, खोक्रो राष्ट्रवादको सहारामा देशलाई अझै अधोगतितर्फ नधकेलून् । फेरि राष्ट्रवादको हुंकार दिने तर जनताको सेवामा सिन्को नभाँच्ने, उल्टै दम्भपूर्वक नागरिकलाई रैतीको व्यवहार गर्ने नेताले फेरि कहिल्यै चुनाव नजितून् । देश एकात्मक हिन्दू राज्य–व्यवस्थाबाट धर्मनिरपेक्ष संघीय गणतन्त्र बनिसक्यो । विविध भाषा, धर्म, जात–जाति, लिंग, भेषभूषा, संस्कृति र राजनीतिक आस्था बोकेकाको साझा फूलबारी हो । यसमा फेरि पहाडे हिन्दू पुरुषले आफूभन्दा भिन्न देखिनेको राष्ट्रियतामाथि प्रश्न उठाउन पाउँदैनन् ।

कसैलाई गाली गर्नुअघि हामीले महेन्द्रमाला र सामाजिक शिक्षामा पढेको वीर गोर्खालीको इतिहासलाई प्रश्न गरौँ । यो सबै राष्ट्रवाद, क्षेत्रीयता, नश्लवाद,  पितृसत्ता र औपनिवेशिक मानसिकताको धङधङी हो भन्ने मनन गरौँ । 

(शर्मा नेसनल युनिभर्सिटी अफ सिंगापुर, समाजशास्त्रमा 
विद्यावारिधि गरिरहेका छन्)