सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २२ सोमबार
  • Monday, 06 July, 2020
२०७७ जेठ १८ आइतबार ०८:०४:००
समाचार

गुल्मीकाे इस्मा दर्लामचाैरमा लिफ्टिङमार्फत घरघरमा पानी

२०७७ जेठ १८ आइतबार ०८:०४:००

इस्माका ६७ वर्षीय लक्ष्मण खत्रीको पानी बोकेरै उमेर ढल्कियो । घरनजिकै दुई लाख लिटरको ट्यांकी बनेर घरमै पानी आउला भन्ने उनले कल्पना पनि गरेका थिएनन् । खानेपानी लिनकै लागि हस्तिचौरको छहरादेखि दोहलीको गौडा पुग्नुपर्थ्यो । जुन दूरी आउजाउ गर्न दुई घन्टा लाग्छ । 

त्यो वेला वस्तुभाउ धेरै हुन्थे । थोरै पानीले पुग्दैनथ्यो । घामको झुल्को नआउँदै एकखेप र त्यसपछि अर्कोखेप पानी मुस्किलले घर आउँथ्यो । खत्रीले कुटानी पिसानीसँगै पानी ल्याउनुपर्ने भएकाले महिलाहरूलाई झन् समस्या हुने गरेकाे उनले सुनाए । ‘खानेपानी आएपछि दर्लामचौरका नागरिकले जुग फेरिएको महसुस गरेका छन्,’ उनले भने, ‘पन्ध्र दिन अघिसम्मकै अवस्था  निकै पीडादायी रह्यो ।’

सोही स्थानका ज्योतिराज कुँवरसँग पनि खानेपानीसँग जोडिएका थुप्रै विगत छन् । बिहान एकखेप पानी लिएर स्कुल पुग्ने र फर्केपछि पनि पानी बोक्नु नै आफूहरूको काम भएको उनले स्मरण गरे । यो पानी लिफ्ट प्रविधिमार्फत सञ्चालनमा आएकाले स्वाभाविक रुपमा महँगाे छ । पानीकै कारण काकाकुल बन्ने अवस्था भएकाले केही परिवारबाहेक अधिकांशलाई पानीको बिल तिर्न कुनै समस्या नरहेको दर्लामचौरकै युवा कृष्ण पाण्डेयले बताए । उनले विपन्न परिवारको विषयमा भने तीनवटै सरकारसँग माग राखिएको  बताए । 

खानेपानीले फेरियो दैनिकी

इस्मा गाउँपालिका उपप्रमुख विमला खत्रीले घरको जिम्मेवारीमा महिला हुने भएकाले खानेपानी योजना सफल भएपछि महिलाहरू बढी खुसी भएको बताइन् । ‘घन्टाैँ पानी बोकेर मेलापात गर्ने दिदीबहिनीको मुहारमा अहिले खुसी देख्न पाएका छौँ,’ उनले भनिन्, ‘पानी पर्याप्त भएपछि तरकारी खेतीदेखि व्यक्तिगत सरसफाइ र आनीबानीमा परिवर्तन भएको छ ।’  इस्मा गाउँपालिका-३ दर्लामचौरका नागरिकले थुप्रै पुस्ता खानेपानीको चरम संकट झेले । सडकछेउको धारोमा पालो कुरेका सयौँ गाग्रोसहितको तस्बिर र नागरिकका पीडा पत्रपत्रिकामा निकै छापिए । त्यहाँका नागरिक एक गाग्रो पानीका लागि घन्टाैँ हिँडेर पँधेरा पुग्नुपर्ने बाध्यता थियो । एक बिहानमा बल्ल–बल्ल बोकेको एक गाग्रो पानीले घाँटी चिसो पार्नुबाहेक अर्को विकल्प थिएन । नजिक खानेपानीका मुहान छैनन् । मालिका गाउँपालिका-५ छापबाट ल्याएको भुल्ने खानेपानीले थेग्न सकेन । जसका कारण इस्मा गाउँपालिकाका दोहली र रजस्थलकाे भन्दा दर्लामचौरका नागरिकले खानेपानीको समस्या धेरै भोग्न बाध्य भए । 

सात सय घर लाभान्वित

स्थानीय, प्रदेश र तथा केन्द्रको निर्वाचनमा दर्लामचौरका नागरिकले प्रमुख माग खानेपानी बनाए । पूर्वमन्त्री गोकर्ण विष्टले संघीय बजेटमार्फत ढाँडखोला–दर्लामचौर लिफ्टिङ खानेपानी योजना अगाडि सारे । खानेपानी कार्यालय गुल्मीमार्फत अहिले त्यो योजनाको सफल परीक्षण भएको छ । ‘एक घर एक धारा’को केही काम भएकाले अहिले पाइप लाइनमार्फत घरघरमै पानी पुगेको इस्मा गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष तोयनाथ शर्मा सापकोटाले बताए । यो योजना सफल भएपछि दर्लामचौरका पाँच सय घरपरिवार तत्काल लाभान्वित भएका छन् । अझै ‘एक घर एक धारा’को काम बाँकी भएकाले दर्लामचौर र हस्तिचाैरका करिब सात सय घरपरिवारमा खानेपानी पुग्ने सापकोटाले बताए । 

सात करोड लागतको खानेपानी योजना

खानेपानी मुलको विषयमा केही समय निकै विवाद चल्यो । मूलकै विषयमा खेतवालाको कुटाइ खाएको खानेपानी योजना उपभोक्ता समिति अध्यक्ष प्रेम भुसालले तीतो यथार्थ सम्झिए । उनले अत्यन्त अप्ठ्यारो ठाउँमा काम गर्नुपर्ने अवस्था भएकाले खानेपानी कार्यालय र उपभोक्ताको साथ र सक्रियतामा योजना सफल भएकोमा खुसी व्यक्त गरे ।

सात करोड लागतको यो खानेपानी योजनाको अहिलेसम्म करिब तीन करोडको काम सम्पन्न भएको छ । सातवटा ग्रिट च्याम्बरमार्फत पानी फिल्टर गर्ने, एक–एक लाख लिटरका दुईवटा र दुई लाख लिटरको एउटा ट्यांकी निर्माण गरेर खानेपानी लिफ्ट गर्ने काम सम्पन्न गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर प्रकाश न्यौपानेले जानकारी  दिए । उनले यो वर्ष जिल्लाका विभिन्न स्थानमा कार्यालयमार्फत १८ वटा खानेपानी योजना लिफ्ट भएको बताए ।

घरघरमै पानी पुर्‍याउने लक्ष्य

इस्मा गाउँपालिकाले ‘एक घर एक धारा’ अभियानलाई अगाडि बढाएको छ । जसमा ग्राभेटी र लिफ्ट दुई प्रविधिमार्फत सबै घरमा खानेपानी पुर्‍याउने काम भइरहेको गाउँपालिका प्रमुख लक्ष्मण विष्टले जानकारी दिए । उनले कोरोना संक्रमणको कारण काममा केही असहजता देखिएकाले आगामी वर्षका लागि पनि कृषि र खानेपानीलाई नै प्राथमिकता दिएर आफूहरूको कार्यकालमै घरघरमा खानेपानी पुर्‍याउने बताए । अहिलेसम्म वडा नं. १ मा गंगरे लिफ्टिङ खानेपानी योजना, वडा नं-२ मा सिदुङखा र पालुखा लिफ्टिङ खानेपानी योजना, वडा नं-३ मा ढाँडखोला–दर्लामचौर र आठमाने लिफ्टिङ खानेपानी योजना, वडा नं-४ मा अधेरी र डाँटेका रह लिफ्टिङ खानेपानी योजना र वडा नं-५ मा दुईवटा लिफ्टिङ खानेपानी योजनाहरू अगाडि बढेको विष्टले बताए ।