मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १२ सोमबार
  • Monday, 25 May, 2020
देवेन्द्र  कार्की धरान
२०७७ जेठ ८ बिहीबार १९:४९:००
समाचार

चारवटा एम्बुलेन्स तयारी अवस्थामा छन्, तर कोरोना संक्रमितलाई बोक्न मान्दैनन्

देवेन्द्र  कार्की धरान
२०७७ जेठ ८ बिहीबार १९:४९:००

गत ६ जेठमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा रहेका इटहरी उपमहानगरका एक युवालाई कोरोना संक्रमण भएको पुष्टि भयो । त्यसपछि ती युवालाई विराटनगरस्थित कोभिड– १९ अस्पताल पठाउन तयारी भयो । साढे १० बजेतिर कोरोना तथा अन्य रोगका बिरामी व्यवस्थापनका फोकल पर्सन डा. इन्द्र लिम्बू एम्बुलेन्स व्यवस्थापनमा जुटे । तर, तीन घन्टासम्म पनि ती बिरामी बोक्ने एम्बुलेन्स पाइएन ।

धरान उपमहानगर र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा आपतकालीन बिरामी बोक्न भनेर तीनवटा एम्बुलेन्स व्यवस्था गरिएको थियो । तीनमध्ये रेडक्रस सोसाइटीको एम्बुलेन्स इनरुवा गएको थियो । अन्य दुईवटा एम्बुलेन्सचालक भने कोरोना संक्रमित व्यक्ति नबोक्ने भन्दै आउन मानेनन् । कुनै एम्बुलेन्सले नमानेपछि प्रतिष्ठानले आफैँ व्यवस्था गरेर विराटनगर पठायो ।

यस्तै, बुधबार कोरोना संक्रमण पुष्टि भएकी  धरानकी एक महिलालाई राति ८ बजे नै बिपी प्रतिष्ठानको आइसोलेसन वार्डमा लैजाने तयारी गरियो । संक्रमण पुष्टि भए पनि घरमै राखिएको भन्दै स्थानीयले असन्तुष्टिसमेत जनाएपछि वडाध्यक्ष नेत्र काफ्ले बुधबार राति नै एम्बुलेन्सको खोजीमा जुटे, तर कुनै पनि एम्बुलेन्सचालक संक्रमितलाई बोक्न तयार भएनन् । बिहीबार बिहान साढे १० बजे मात्र उनलाई नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्समार्फत बिपी प्रतिष्ठान पुऱ्याइएको छ ।

प्रदेश १ मा विराटनगरपछि सबैभन्दा धेरै एम्बुलेन्स धरानमा चल्छन् । यहाँ चार दर्जन हाराहारीमा एम्बुलेन्स छन् । नेपालकै राम्रो मानिएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भएकाले पनि धरानमा एम्बुलेन्सको निकै ठूलो व्यापार हुने गरेको छ । तर, अहिले कोरोना महामारीको वेला भने सेवा दिने एम्बुलेन्स एउटा पनि नपाउनु विडम्बना भएको धरान–१८ का वडाध्यक्ष नरेन्द्रकुमार राई (प्रवीण)ले बताए ।

प्रतिष्ठानको ऱ्यापिड रेस्पोन्स टिमका सदस्य एवं मेडिसिन विभाग प्रमुख प्रा.डा. सञ्जीव शर्माले चालकहरू डराउनुपर्ने अवस्था नभएको बताए । उनले भने, ‘हामी सबै सुरक्षाका नियम पालना गरेर मात्र पठाउँछौँ ।’ उनले बिरामी बोक्न नमान्नु मानवताविपरीत भएकोसमेत बताए ।

बिपीको एम्बुलेन्स तरकारी बोक्दै
बुधबार बेलुकी धरानकी कोरोना संक्रमित महिलालाई बिपी प्रतिष्ठान पुऱ्याउन एम्बुलेन्स खोजी भइरहेको थियो । वडाध्यक्ष नेत्र काफ्ले एम्बुलेन्सको खोजीमा सम्भव भएसम्मका व्यक्ति तथा संस्थामा फोन गरिरहँदा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको को.१च ५२८३ नम्बरको एम्बुलेन्समा भने धरान–१३ कै कृषि बजारबाट तरकारी लोड गरिँदै गरेको अवस्थामा भेटियो । 

स्थानीय तहको तयारी प्रचार मात्र 
कोरोना संक्रमणको आशंका गरिएका व्यक्तिहरूलाई तत्काल क्वारेन्टाइनस्थलसम्म पुऱ्याउन भन्दै धरानमा चारवटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । गत ८ चैतमै धरान उपमहागनरपालिका, इलाका प्रशासन कार्यालय, नेपाल रेडक्रस सोसाइटी सुनसरी, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, एम्बुलेन्सचालक संघ सुनसरीको संयुक्त बैठकले चारवटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने निर्णय गरेको थियो ।

रेडक्रसको एक, बिपी प्रतिष्ठानको एक र एम्बुलेन्सचालक संघको दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने सहमति भएको थियो । तर, आवश्यक परेको समयमा एम्बुलेन्स पाउन सकिएको छैन । धरान उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत विदुरप्रसाद खनालले यसअघि आशंका लागेका बिमारीलाई मात्र बोक्न भनेर तयार पारिएको र बिहीबारदेखि उपमहानगर र नेपाल रेडक्रसको एक-एकवटा एम्बुलेन्स संक्रमित बोक्ने गरी तयारी गरिएको बताए । अबका दिनमा भने समस्या नहुने उनको दाबी छ ।