Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २७ मंगलबार
  • Tuesday, 11 August, 2020
ओज्गुर ओज्भातन
२०७६ फाल्गुण २१ बुधबार ०८:३३:००
दृष्टिकोण

जर्मनीमा बढ्दो नश्लवाद

अल्पसंख्यक र आप्रवासीसँग सत्तासीनले आत्मालोचना गरेपछि मात्र उनीहरूले जर्मनी आफ्नो सुरक्षित घर भएको महसुस गर्नेछन्

ओज्गुर ओज्भातन
२०७६ फाल्गुण २१ बुधबार ०८:३३:००

गत १९ फेब्रुअरीमा एउटाले अन्धाधुन्द गोली चलाउँदा जर्मनीको हनाउमा नौजना मारिए र पाँच घाइते भए । तोबियास आर नाम गरेका ४३ वर्षीय हत्याराले श्वेत सर्वाेच्चता देखाउँदै जातीय कत्लेआममा उत्रन आह्वान गरेका थुप्रै सन्देश केही दिनमै बाहिरिए । प्रशासनका अनुसार उनमा चरम नश्ल–जातिवादी प्रवृत्ति थियो । यो आक्रमण अनपेक्षित थिएन किनकि अहिले जर्मनीमा छ्याप्छ्याप्ती जातिवादी घटना देख्न पाइन्छ ।

नश्लीय अतिवादी ‘जर्मनी मुस्लिमले खाइरहेको’ भन्ने डिस्कोर्स सिर्जंदै छन् । यो धारणा रोक्न मूलधारका राजनीतिज्ञ चुकेका छन् । त्यसैले नै २०१७ मा आप्रवासी र मुस्लिमविरोधी जनमत लिएर जातिवादी दल एएफडी उदाएको हो । चरम दक्षिणपन्थी दल एएफडी उदाउनु मूलधारमा पार्टीलाई एउटा चुनौती भएको छ । जातीय अतिवादी जर्मनीलाई एकल नश्लीय गोराहरूको मुलुक बनाउन चाहन्छन् । एएफडीले यो घटनालाई मानसिक असन्तुलित व्यक्तिले निम्त्याएको दुःखान्त भनेको छ । तर, वास्तवमा यो जर्मनीमा बढिरहेको नश्लवादको परिणाम हो । यो मात्र एउटा घटना होइन, जर्मनीले यस्ता अरू पनि घटना देखिरहेको छ । जुनमा आप्रवासी समुदायबाट आएका नेता वाल्टर लुब्केलाई मारिएको थियो भने अक्टोबरमा जर्मनीको हालेमा अन्धाधुन्द गोली चलाइएको थियो । 

तर, अझै ढिलो भइसकेको छैन । अझै जर्मनीमा आप्रवासी, शरणार्थी र यहाँका स्थानीय मिलेर बस्न सक्नेछन् । तर, यसका लागि जर्मन प्रशासनले हनाउको आक्रमणबाट वेलैमा पाठ सिक्नुपर्नेछ । यसलाई सम्बोधन गर्नुपर्नेछ । यो आक्रमणपश्चात जर्मन राजनीतिज्ञ केही सचेत बनेका छन् । जर्मन चान्सलर एन्जेला मर्केलले भनिन्– जातिवाद एउटा विष हो । यसले मुलुकमा थुप्रै अपराध निम्त्याएको छ । त्यस्तै राष्ट्रपति फ्राङ्क वाल्टर स्टेनमरले पनि घटनाप्रति शोक व्यक्त गर्दै आफूले सधैँ जातीय विभेदको सिकार भोगेकाको पक्षमा उभिने बताए । 
जर्मन नेतृत्वले यसलाई मानसिक असन्तुलितको आक्रमणका रूपमा मात्र नलिएर राम्रो गरेको छ । तर, अझै जर्मनीमा आप्रवासीलाई विश्वस्त पार्न यसले अहिलेसम्म भएका कमी–कमजोरीका कारण यस्तो स्थिति आएको आत्मसात् गर्नुपर्छ ।

हनाउको आक्रमण एक्कासि निस्किएको होइन । आप्रवासीका संघसंस्था र ग्रिन पार्टीका सेम ओडमिर र सोसियल डेकोक्र्याटिकका ससन छेब्लीजस्ता आप्रवासी पृष्ठभूमिका नेताले पहिल्यै नश्लवाद जर्मनीको बढ्दो आतंकवाद भएको सरकारलाई ध्यानाकर्षण गराइसकेका थिए । त्यसैले जर्मनीले अब सम्भावित पीडितको कुरा सुन्नुपर्छ । अल्पसंख्यक र आप्रवासीसँग सत्तासीनले आत्मालोचना गरेपछि मात्र उनीहरूले जर्मनी आफ्नो सुरक्षित घर भएको महसुस गर्नेछन् । 

भोटकै लागि जर्मन दलले जातीय र नश्लीयजस्ता चरम दक्षिणपन्थी एजेन्डा उठाउनु हुन्न, यसले कहिल्यै जातीय सहिष्णुतातिर उन्मुख गराउँदैन, बरु आप्रवासी र स्थानीयबीच थप दरार पैदा गर्छ

यस्तो नश्लीय हिंसा रोक्न जर्मन प्रशासनले अब उसको परम्परागत अपराध नियन्त्रण नीतिमा समेत पुनर्विचार गर्नुपर्छ । अहिलेसम्म जर्मन राजनीतिज्ञले आप्रवासी मुस्लिमलाई सांगठनिक अपराधीका रूपमा मूल्यांकन गर्ने गरेको छ । अपराधलाई निश्चित जातिसँग जोडेर हेर्ने परिपाटी छ । यसले गर्दा हजारौँ निर्दोषको अपराधीकरण हुने गर्छ । गत वर्ष जनवरीमा सिसा बारको झडपलाई प्रहरीले अरबी मूलका मानिसको पारिवारिक खिचातानीको परिणाम भनेको थियो । यसले मुस्लिमलाई अपराधसँग जोडेको थियो । फलस्वरूप यसपालि तोबियास आरले सिसा बारलाई नै निसाना बनाएको थियो । 

अपराधी समूहले जर्मनीका जोसुकैलाई क्षति पुर्‍याउन सक्छ । शान्ति–सुरक्षा कायम राख्नु जर्मनीको जिम्बेवारी हो । तर, शान्ति र सुरक्षाका नाममा जर्मनीले कुनै निश्चित समुदायका हजारौँ निर्दोषलाई अपराधीको संज्ञा दिनु हुँदैन ।अहिले जर्मन राजनीतिमा पनि अतिवाद हाबी हुँदै छ । एएफडीको उदय यसकै परिणाम हो । आफ्नो भोट नगुमोस् भनेर मूल धारका पार्टी र नेतासमेत आप्रवासीविरोधी नीति अघि सार्दै छन् । बढ्दो आप्रवासी बहसले अहिले चरम दक्षिण पन्थीलाई फाइदा पुगिरहेको छ ।

मूलधारका दलले आमजर्मन नागरिकको भावना बुझ्नुपर्छ, दक्षिणपन्थी विचारधारालाई होइन । १९९३ मा शरण दिने विषयमा जर्मनीले यस्तै राम्रो काम गरेको थियो । आप्रवासीप्रति यसरी नै जर्मनीका प्रमुख दल उदार बन्न सक्छन् । पहिलेभन्दा अहिले राजनीतिमा पनि आप्रवासी र अल्पसंख्यक पृष्ठभूमिबाट आएका नेता सक्रिय छन् । तिनको सहकार्यमा जर्मनीले अझ उत्तम आप्रवासी नीति अवलम्बन गर्न सक्छ, जसमा स्थानीय जर्मनको पनि भावना समेटियोस् । भोटकै लागि जर्मन दलले जातीय र नश्लीयजस्ता चरम दक्षिणपन्थी एजेन्डा उठाउनु हुन्न, यसले कहिल्यै जातीय सहिष्णुतातिर उन्मुख गराउँदैन । बरु आप्रवासी र स्थानीयबीच थप दरार पैदा गर्छ ।
(ओज्भातन बर्लिन इन्स्टिच्युट फर इन्टेग्रेसन एन्ड माइग्रेसन रिसर्चका अनुसन्धान संयोजक हुन्)  अलजजिरा डटकमबाट