• वि.सं २०७६ चैत २६ बुधबार
  • वि.सं २०७६ चैत २६ बुधबार
  • Wednesday, 08 April, 2020
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २ शुक्रबार ०८:०२:००
अर्थ

मुक्तिनाथ केबलकारको इआइएका लागि वनले दिएन स्वीकृति 

नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २ शुक्रबार ०८:०२:००

८४ किलोमिटर लामो केबलकार परियोजनामा साढे ४३ अर्बको लगानी मोडालिटी टुंग्याउन बाँकी 

चार महिनाभित्रै विस्तृत परियोजना प्रतिवेदन बनाई निर्माणमा लैजाने तयारीमा रहेको मुक्तिनाथ केबलकार परियोजनाको वातावरणीय प्रभाव मूल्यांकनका लागि वन मान्त्रालयले स्वीकृति दिएको छैन । मुक्तिनाथ दर्शन प्रालिका कार्यकारी प्रमुख श्रीधर सापकोटाका अनुसार ४ महिनाभित्र डिपिआर तयार हुँदै छ । ८३.६५ किलोमिटर अनुमान गरिएको परियोजनाका लागि आवश्यक अध्ययन कार्य (फिल्ड वर्क) सकिएको छ । तर, डिपिआर सकेर निर्माणको चरणमा जाने तयारीमा रहेको परियोजनाका लागि वनले भने स्वीकृति दिएको छैन । 

‘इआइए गर्न अनुमति दिनका लागि नयाँ कार्यविधि बनिरहेको र कार्यविधि बनिसकेपछि मात्रै अनुमति दिने वन तथा वातावरण मन्त्रालयले बताइरहेको छ,’ सापकोटाले भने, ‘यसका लागि हामीले पहल गरिरहेका छौँ । केही समयमा त्यस्तो स्वीकृति प्राप्त हुने अपेक्षा गरेका छौँ ।’

परियोजनाको डिपिआर निर्माण कार्यमा विभिन्न अन्तर्राष्ट्रियस्तरका ७ वटा परामर्शदाता क्रियाशील रहेको उनले बताए । लगानी बोर्ड र प्रवद्र्धक मुक्तिनाथ दर्शन प्रालिबीच कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथ मन्दिरसम्म केबलकार सञ्चालनसम्बन्धी समझदारी २७ भदौ ०७५ मा भएको थियो । सोही मितिले दुई वर्षभित्र डिपिआर तयार गर्ने समझदारी भएको थियो । त्यसअघि १५ वैशाख ०७५ मा बसेको लगानी बोर्डको बैठकले उक्त केबलकार परियोजनाका लागि लगानी स्वीकृति दिने निर्णय गरेको थियो । 

सापकोटाका अनुसार वीरेठाँटी–घोरेपानी, घोरेपानी–तातोपानी, तातोपानी–लेते (मार्फा), लेते (मार्फा)–जोमसोम, जोमसोम–कागबेनी, कागबेनी–मुक्तिनाथसम्मका खण्डमा निर्माण हुन लागेको केबलकारको स्थायी र वैकल्पिक गरी कुल ११ वटा स्टेसन रहने यसअघिको ‘इन्सेप्सन रिपोर्ट’ले उल्लेख गरेको थियो । परियोजनामा निर्माण अवधिको ब्याजबाहेक ४३ अर्ब ५० करोड रुपैयाँ लगानी हुने अनुमान छ । डिपिआर तयार भएपछि लागत स्पष्ट हुने उनले बताए । 

डिपिआर बनेपछि त्यसकै आधारमा लगानी बोर्डसँग परियोजना विकास सम्झौता (पिडिए)का लागि वार्ता अघि बढाइने उनले बताए । परियोजनामा लगानी मोडललाई टुंगो लगाएर वित्तीय व्यवस्थापनसमेत पूरा गर्ने प्रवर्द्धक कम्पनीको लक्ष्य छ ।  

हालसम्मको अध्ययनअनुसार १० जना अट्ने ४ सय ७६ केबलकारका गोन्डोला (डब्बा) रहने अनुमान गरिएको छ । प्रतिसेकेन्ड ७.५ मिटरको गतिमा चल्ने गोन्डोलाले ३ घन्टामा वीरेठाँटीबाट मुक्तिनाथ मन्दिर पुर्‍याउन सक्ने अनुमान छ । दैनिक १० हजार तिर्थालुलाई मुक्तिनाथ पुर्‍याउने कम्पनीको योजना छ ।