२०७६ फाल्गुण १ बिहीबार १०:५३:००
सप्तरंग

दमनको सहकार्यसँगै जमेका हास्यकलाकार

त्यो सहकार्य

२०७६ फाल्गुण १ बिहीबार १०:५३:००

कुनै कलाकार दुःखले स्थापित हुन्छन् । र, आफूसँग सहकार्य गर्ने कलाकारलाई स्थापित गराउन पनि सक्षम हुन्छन् । नवआगन्तुक कलाकारसँग सहकार्य गर्न कतिपय स्थापित कलाकार हिच्किचाउँछन् पनि । हास्यकलाकार दमन रूपाखेतीले भने नयाँ कलाकारलाई अवसर मात्रै दिएनन्, उनीहरूसँग सहकार्य नै गरे । ती कलाकार अहिले निकै लोकप्रिय छन् । तीन दशकको हास्यकलाकारितामा सक्रिय रूपाखेतीको सहकार्यबाट सफल हास्यकलाकार यी हुन् :

सीताराम कट्टेल ‘धुर्मुस’
‘धुर्मुस’ उपनामबाट चिनिएका सीताराम कट्टेललाई बालबालिकादेखि वृद्धवृद्धासम्मले चिन्छन् । उनले स्थापित गरेका प्रत्येक थेगो जनजिब्रोमा झुन्डिएका छन् । हाल समाजसेवामा पनि सक्रिय उनले हास्यकलाकारितामा स्थापित हुन रूपाखेतीको मार्गदर्शन पाएका थिए । ‘यस क्षेत्रमा हरिवंश आचार्यपछिका भर्सटायल कलाकार हुन्, सीताराम,’ रूपाखेती भन्छन् । उनले रूपाखेतीसँग टेलीशृंखला ‘जिरे खुर्सानी’मा सहकार्यको अवसर पाएका थिए । त्यसपछि टेलीशृंखला ‘मेरी बास्सै’ धुर्मुसको ‘टर्निङ प्वाइन्ट बन्यो ।

केदार घिमिरे ‘माग्ने बुढा’
रूपाखेतीसँग सहकार्य गरेका अर्का कलाकार हुन्, केदार घिमिरे ‘माग्ने बुढा’ । यस क्षेत्रमा आउनुअघि उनले रूपाखेतीसँग ६ महिनाको अभिनय कक्षा नै लिएका थिए । उनले हास्यकलाकारितामा यथार्थपरक अभिनय भित्र्रयाएको रूपाखेती बताउँछन् । समाजका हरेक विषयवस्तुमाथि व्यंग्य गर्न माहिर घिमिरेको अभिनय बनावटी नभएको रूपाखेतीको भनाइ छ ।

कुञ्जना घिमिरे ‘सुन्तली’
महिला कमेडी पात्रमा पहिलो नम्बरमा आउँछिन्, कुञ्जना घिमिरे ‘सुन्तली’ । उनले अभिनयको कक्षा लिइरहेका वेला जीवन्त अभिनय देखेर रूपाखेतीले ‘मेरी बास्सै’मा सहकार्य गरे । कुञ्जनाका लागि यस क्षेत्रमा लाग्ने ‘टर्निङ प्वाइन्ट’ बन्यो, त्यो सहकार्य । ‘धेरैले महिला पात्रलाई उठाउन गाह्रो मान्छन् । तर, कुञ्जनामा अभिनयको भूत सवार थियो,’ रूपाखेती भन्छन्, ‘उनको लगाव र मिहिनेतबाट प्रभावित भएँ । र, हामीले मिलेर काम गर्‍यौँ ।’

‘म त मध्यस्थकर्ता मात्रै हुँ, उहाँहरू आफ्नै मिहिनेतले सफल हुनुभयो, खुसी लाग्छ,’ रूपाखेती भन्छन् ।

सुरवीर पण्डित ‘दाह्री बा’
अभिनय यात्राको सुरुवाती चरणमा सुरवीर पण्डित गम्भीर भूमिकामा बढी देखिन्थे । रूपाखेतीसँगको सहकार्यबाट उनको अभिनय यात्रा हास्यतिर मोडियो । रूपाखेती र पण्डितले थुप्रै हास्य टेलिशृंखलामा सहकार्य गरे । अहिले उनी स्थापित हास्यकलाकार बनेका छन् । ‘हँसाउन सक्ने कलाकार हुन्, सुरवीर बा । त्यसैले हास्यकलाकार हुन सफल हुनुभयो,’ रूपाखेती भन्छन् ।

‘मुला साग’देखि ‘ठ्यासकुमारी’सम्म
‘मुला साग’ थेगोका कारण चर्चित छन्, सुरेन्द्र केसी । रूपाखेतीले उनीसँग पनि यसबीचमा धेरै सहकार्य गरे । केसीले ‘हर्के हवल्दार’, ‘ब्रेक फेल’, ‘मेरी बास्सै’लगायत हास्य टेलिशृंखलामा अभिनय गरिसकेका छन् । ‘चम्सुरी’ उपनामले चिनिने पल्पसा डंगोलसँग पनि रूपाखेतीले सहकार्य गरे । डंगोललाई हास्यकलाकारितामा जम्न रूपाखेतीकै हौसला थियो । नीरु खड्का ‘ठ्यासकुमारी’लाई नेपाली कमेडीमा ल्याउने जस पनि रूपाखेतीलाई नै जान्छ । ‘म त मध्यस्थकर्ता मात्रै हुँ, उहाँहरू आफ्नै मिहिनेतले सफल हुनुभयो, खुसी लाग्छ,’ रूपाखेती भन्छन् ।