Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २७ मंगलबार
  • Tuesday, 11 August, 2020
२०७६ माघ २४ शुक्रबार ०९:१४:००
स्वास्थ्य र जीवनशैली

अझै असुरक्षित गर्भपतनको जोखिम

२०७६ माघ २४ शुक्रबार ०९:१४:००

२० वर्षीया सृष्टि (नाम परिवर्तन) काठमाडौंको एक कलेजमा स्नातक अध्ययनरत छिन् । उनी विगत एक वर्षदेखि कलेजकै केटा साथीसँग प्रेममा थिइन् । गत महिना उनको महिनावारी ढिला भयो । जाँच गर्दा गर्भ रहेको पुष्टि भयो । उनले प्रेमीको सल्लाहबमोजिम एक क्लिनिकबाट किनेको औषधि खाएर गर्भपतन गराइन् । गर्भपतन गराएको सुरुका केही दिनसम्म उनलाई अत्यधिक रक्तश्राव भयो । रिंगटा लाग्ने, खान मन नलाग्ने र कमजोरीको समस्या भयो । र, कलेज जानसमेत गाह्रो भयो, उनलाई । ‘त्यसपछि साथीहरूको सल्लाहमा अस्पताल गएँ,’ उनी भन्छिन् ।

यस्तै, एक १८ वर्षीया युवती क्षेत्रपाटीस्थित एउटा औषधि पसलमा कमजोरीका कारण आफूलाई रिंगटा लाग्ने गरेको बताउँदै औषधि किन्न आइन् । जाँच गर्दा उनको ब्लडप्रेसर कम हुनुका साथै हातगोडा पनि पहेँला भएका थिए । कुरा गर्दै जाँदा उनले दुई महिनाअघि गर्भपतनको औषधि खाएको खुलाइन् । अत्यधिक रक्तश्रावका कारण शरीरमा रगतको कमी भएकाले थप समस्या निम्तिन नदिन अस्पताल गएर जाँच गर्न औषधि पसलेले उनलाई सल्लाह दिए । उनी भने भिटामिन र आइरन चक्की लिएर घर फर्किइन् ।

पछिल्लो समय सहरी क्षेत्रमा ‘लिभिङ टुगेदर’ संस्कृति मौलाएको छ । यस्तो सम्बन्धमा रहेका युवतीहरूले पनि गर्भपतनका लागि असुरक्षित तरिका अपनाउने गरेको पाइन्छ । लिभिङ टुगेदरमा बसेका जोडी परिवार र समाजको डरले बाहिर खुल्न चाहँदैनन् । यस्तो स्थितिमा कतिपयले जथाभावी औषधि प्रयोग गरिरहेका हुन्छन् । काठमाडौंमा  एक युवकसँग डेढ वर्षदेखि लिभिङ टुगेदरमा बसिरहेकी कृष्णा (नाम परिवर्तन) यस्तै एउटा उदाहरण हुन् । पछिल्लो एक वर्षमा उनले तीनपटक गर्भपतनको औषधि प्रयोग गरिन् । ‘अहिले महिनावारीमा धेरै रगत जाने र अत्यधिक पेट दुख्ने समस्या देखिएको छ,’ उनी भन्छिन् ।

पछिल्लो समय सहरी क्षेत्रमा ‘लिभिङ टुगेदर’ संस्कृति मौलाएको छ । यस्तो सम्बन्धमा रहेका युवतीहरूले पनि गर्भपतनका लागि असुरक्षित तरिका अपनाउने गरेको पाइन्छ ।

अविवाहितले मात्र नभई विवाहित महिलाले समेत गर्भपतनका लागि असुरक्षित बाटो अपनाउने गरेका उदाहरण प्रशस्तै भेटिन्छन् । गर्भपतन गराउने औषधि फार्मेसीमा सहजै उपलब्ध हुनु यसको कारण हो । अस्पताल जाने झन्झटबाट मुक्ति पाउने बहानामा कतिपयले पसलबाटै किनेर सीधै औषधि प्रयोग गर्ने गरेका छन् । चिकित्सकको सल्लाहमा घरमै औषधि खाँदा कुनै स्वास्थ्य समस्या नआएको कतिपयको तर्क छ । यद्यपि, विवाहितभन्दा बढी अविवाहित युवतीले गर्भपतन गराउने औषधि लाने गरेको मेडिकल सञ्चालकहरू बताउँछन् । सरकारले गर्भपतनलाई कानुनी मान्यता दिइसकेको अवस्थामा पनि असुरक्षित गर्भपतन गराउनेको संख्या झन् बढिरहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. रोशन पोखरेलको भनाइ छ ।

‘सरकारी तथ्यांकमा असुरक्षित गर्भपतनमा अविवाहित महिलाको संख्या कम देखिन्छ । तर, लुकेर गर्भपतन गराउनेको संख्या झन् धेरै छ,’ उनी भन्छन्, ‘विवाहपूर्वको सम्बन्धका कारण बसेको गर्भ पतन गराउँदा समाजमा बेइज्जतीको डर हुन्छ, जसका कारण अधिकांश युवतीले स्वास्थ्यको परवाह नगरी असुरक्षित तरिका अपनाउने गरेका छन् ।’ अधिकांश अविवाहित युवतीले सूचीकृत नभएका स्वास्थ्य संस्थाबाट गर्भपतन गराउने भएकाले उनीहरूबारे यकिन तथ्यांक नरहेको उनी बताउँछन् ।

प्रसूतिगृहका प्रा.डा. गेहनाथ बरालका अनुसार गर्भपतन गराउने दुई तरिका छन्, शल्यक्रिया र औषधिको प्रयोग । यस्ता औषधि सुत्केरी हुँदा हुने रक्तश्राव कम गर्न र बच्चा जन्माउन गाह्रो हुने महिलालाई व्यथा लगाउन प्रयोग गरिन्छ । तर, औषधि पसलहरूले यसको दुरुपयोग गरिरहेको डा. बराल बताउँछन् । ‘जथाभावी बिक्री–वितरण गरिने यस्ता औषधिले महिलाको स्वास्थ्यमा धेरै असर पुर्‍याइरहेको हुन्छ,’ उनी भन्छन्, ‘यसको प्रत्यक्ष मारमा किशोरीहरू परिरहेका छन् ।’

गर्भपतनलाई कानुनी  मान्यता दिइसकेको अवस्थामा पनि असुरक्षित गर्भपतन गराउनेको संख्या झन् बढिरहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. रोशन पोखरेलको भनाइ छ

सूचीकृत नभएका स्वास्थ्य संस्था र औषधि पसलबाट जथाभावी बिक्री भइरहेका यस्ता औषधिले अधिकांश किशोरीमा नकारात्मक असर देखिने गरेको डा. बरालको भनाइ छ । ‘पछिसम्म बिरामीजस्तो देखिने, संक्रमण हुने, मानसिक रूपमा कमजोर हुने र कालान्तरमा बाँझोपन हुनेजस्ता गम्भीर समस्या आउँछन्,’ उनी भन्छन्, ‘अत्यधिक रक्तश्रावका कारण मृत्यु हुने जोखिम त छँदैछ ।’ १२ साताभन्दा बढीको गर्भ पतन गराउनुलाई असुरक्षित मानिन्छ । यस्तै, आवश्यक तालिम नलिएका स्वास्थ्यकर्मी र अनुमति प्राप्त नगरेका व्यक्तिबाट गरिएको गर्भपतन असुरक्षित हो । अनुमति प्राप्त नगरेका सरकारी, निजी वा गैरसरकारी स्वास्थ्य संस्थामा गरिएको गर्भपतनलाई पनि असुरक्षित मानिन्छ । अर्थात्, महिलाको ज्यानलाई जोखिम हुने गरी औषधि खाएर वा प्रयोग गरेर गरिएको गर्भपतन असुरक्षित हो ।

यस्तो छ तथ्यांक
असुरक्षित गर्भपतनकै कारण नेपालमा करिब सात प्रतिशत महिलाको मृत्यु हुने गरेको वातावरण, स्वास्थ्य र जनसंख्या क्रियाकलाप अनुसन्धान केन्द्रको तथ्यांकमा उल्लेख छ । परिवार स्वास्थ्य महाशाखाको ०७४ को तथ्यांकअनुसार नेपालमा करिब ५८ प्रतिशत गर्भवतीले असुरक्षित गर्भपतन गराउने गरेका छन् । तीमध्ये ५६ प्रतिशत विवाहित र दुई प्रतिशत अविवाहित छन् । नेपालमा बर्सेनि करिब तीन लाख २२ हजारले गर्भपतन गराउने गरेको सरकारी तथ्यांक छ ।