२०७६ पौष २९ मंगलबार १९:०२:००
नयाँ पत्रिका काठमाडौं

संसद भवन नयाँ बनाउन विकास समितिको निर्देशन 

नयाँ पत्रिका काठमाडौं
२०७६ पौष २९ मंगलबार १९:०२:००

संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले सिंहदरबारस्थित संसद भवन भत्काएर अत्याधुनिक नयाँ भवन निर्माण गर्न निर्देशन दिएको छ ।

सहरी विकास मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधिसँग छलफल गरेपछि समितिले भूकम्पबाट जीर्ण बनेको संसद भवन भत्काएर यसको मौलिकतालाई बिग्रन नदिई नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको हो । समिति सभापति कल्याणीकुमारी खड्काले सहरी विकास मन्त्रालय र राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई यस्तो निर्देशन दिएकी हुन् ।

बैठकमा सांसदहरूले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले संसद भवन भत्काउने वा रेट्रोफिटिङ गर्ने भन्ने विषयमा उचित सुझाव दिन नसकेको बताएका थिए । सांसद रामबहादुर बिष्टले भूकम्प गएको धेरै वर्ष हुँदासमेत भवन निर्माणको सुरुवात हुन नसकेको र कसरी बनाउने भन्ने सुझावसमेत दिन नसकेको बताए । सांसद यज्ञराज सुनुवारले जीर्ण भवन राखेर उपयुक्त नहुने भन्दै नयाँ भवन निर्माण गर्नुपर्ने बताए ।

बैठकमा सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले पुरानो संसद भवन भत्काएर स्टेट गेस्ट हाउस बनाउने सुझावहरू विज्ञबाट आएको बताए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव शिवहरि शर्माले भवनलाई यथावत अवस्थामा राख्न उपयुक्त नहुने भएपनि भत्काएर अर्को संरचना बनाउने कि के गर्ने निर्णय नभएको बताए । उनले केही बजेट विनियोजन गरिए पनि के बनाउने भन्ने निक्र्योल भएपछि मात्र थप बजेट आउने बताए । समितिले भने भवनलाई यत्तिकै बचाएर उपयोग गर्ने अवस्था नहुने भएकाले मौलिकता कायम राखेर नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको हो ।