२०७६ पौष २९ मंगलबार ०७:३२:००
एजेन्सी, इस्लामाबाद

मुसर्रफलाई सुनाइएको मृत्युदण्डको सजाय उच्च अदालतद्वारा रद्द

एजेन्सी, इस्लामाबाद
२०७६ पौष २९ मंगलबार ०७:३२:००

पाकिस्तानको एक अदालतले पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई सुनाइएको मृत्युदण्डको फैसला उल्टाएको छ । विशेष अदालतको कानुनी प्रक्रियालाई असंवैधानिक भन्दै लाहोरस्थित उच्च अदालतले सोमबार मुसर्रफमाथिको सजाय बदर गरेको हो । १७ डिसेम्बरमा विशेष अदालतले मुसर्रफलाई देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै संविधानको धारा ६ बमोजिम मृत्युदण्डको फैसला सुनाएको थियो ।

‘मुसर्रफविरुद्ध गरिएको उजुरी, अदालतको गठन, अभियोजनकर्ताको छनोटलगायतका कानुनी प्रक्रिया सबै अवैध छन्,’ उच्च अदालतले भनेको छ । मुसर्रफले अदालतको फैसलालाई चुनौती दिँदै निवेदन दिएका थिए । फैसलाले विशेष अदालतको सबै कारबाही रद्द गरिदिएको छ । उच्च न्यायालयको फैसलापछि मुसर्रफलाई सुनाइएको सजाय निस्प्रभावी हुनेछ ।

जनरल मुसर्रफले सन् १९९९ मा कु गरेर तत्कालीन प्रधानमन्त्री नवाज सरिफलाई सत्ताच्युत गरी सत्ता आफ्नो हातमा लिएका थिए । उनी सन् २००१ देखि सन् २००८ सम्म राष्ट्रपति बनेका थिए । 

मुसर्रफले आफ्नो कार्यकाल लम्ब्याउन सन् २००७ मा संविधान निलम्बन गरेर आपत्काल घोषणा गरेका थिए । आफूमाथि महाअभियोग लाग्ने डरले उनले सन् २००८ मा राजीनामा दिएका थिए । सन् २०१३ मा पाकिस्तानी मुस्लिम लिग (नवाज) सरकारमा आएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको थियो ।

यसै महिनाको सुरुमा उनले अस्पतालको बेडबाट एउटा भिडियो वक्तव्य जारी गर्दै आफूमाथिको मुद्दा आधारहीन भएको बताएका थिए । मुसर्रफ संविधान उल्लंघन गरेको आरोपमा मुद्दा लाग्ने पाकिस्तानका पहिलो सैनिक शासक हुन् । सोमबारको फैसलाको अर्थ जनरल मुसर्रफ अब स्वतन्त्र व्यक्ति भएको एक अभियोजनकर्ताले बताएका छन् । बिबिसीका अनुसार मुसर्रफमाथिको मुद्दाको सुनुवाई अर्को अदालतमा पनि हुन सक्छ ।