Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २२ बिहीबार
  • Thursday, 06 August, 2020
यमबहादुर दुरा
२०७६ पौष २८ सोमबार ०९:४१:००
दृष्टिकोण

साझा फूलबारीका फूल 

यमबहादुर दुरा
२०७६ पौष २८ सोमबार ०९:४१:००
यमबहादुर दुरा

बाइसे–चौबीसे राज्यमा विभक्त नेपाललाई एकीकरण गरेको विशद् चर्चा भइरहँदा एउटा महत्वपूर्ण पक्ष सधैँ ओझेलमा पर्दै आएको छ । त्यो पक्ष हो– एकीकरण अभियानलाई सघाउने जनस्तरका हितैषी । घडीका कलपुर्जाजस्ता साना, तर चल्ताफुर्ता नागरिकका योगदानविना बहादुर पृथ्वीनारायण शाहका सौर्यगाथा लेखिने थिएन । पृथ्वीनारायण शाहका पछाडि कस्ता कलपुर्जा वा संयन्त्र सक्रिय थिए, जसले नेपाललाई एउटै सूत्रमा बाँध्ने पृथ्वीनारायण शाहका सपना साकार पार्न सघाए भन्नेबारे बिरलै चर्चा हुन्छ । आफूभित्रको स–साना पुर्जा रिठ्ठो नबिराई अविराम चलयमान हुँदा घडीले जीवन पाउँछ । त्यस्तै, जनस्तरका नागरिकको साथ–सहयोगविना पृथ्वीनारायण शाहको अभियान सम्भव थिएन । 

इतिहासका बाछिटालाई एकठ्ठा गरेर हेर्दा जनस्तरका नागरिकले पृथ्वीनारायण शाहलाई अनेक किसिमले साथ दिएको भेटिन्छ । तर, तिनका बारेमा हुनुपर्नेजति अभिलेखीकरण नभएकाले उनीहरूको इतिहास विलुप्तप्रायः छ । पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा जोडिन आउने एउटा नाम हो, झगल गुरुङ । इतिहासकार उनलाई पृथ्वीनारायण शाहको सैन्य अभियानका मुख्य व्यक्तिमध्ये एक मान्छन् । नेपाल एकीकरण अभियानमा आइपरेका बाधा–अड्काउ फुकाउन र षड्यन्त्रलाई गर्भमै निस्तेज तुल्याउन उनले उल्लेखनीय योगदान गरेको चर्चा सुन्न पाइन्छ ।   

तत्कालीन पहाडी राज्यमा गोरखा आर्थिक र सैन्यशक्तिका दृष्टिले कमजोर राज्य थियो भनेर धेरै इतिहासकारले उल्लेख गरेका छन् । गोरखा राज्य विस्तारका क्रममा आवश्यक हातहतियार खरिद गर्न अपुग रकम जोहो गर्न धौ–धौ भएको थियो । कोष नहुँदा पृथ्वीनारायण शाहको मनोबल ढलपल भएको अवस्थामा खर्च जोहो गर्नेबारे बिसे नगर्चीले सजिलो उपाय सुझाएका थिए । उनी पृथ्वीनारायण शाहका कटुवाल थिए । उनले पृथ्वीनारायण शाहलाई एक रुपैयाँ दाम चढाएर गोरखाका १२ हजार घरधुरीबाट यही दरले रकम उठाएमा हातहतियार किन्न मनग्य पुग्छ भनेर ढाडस दिएका थिए । 

अरूको भन्दा बिसे नगर्चीको चर्चा बढी भएको पाइन्छ । उनले गोरखा दरबारमा सिलाइबुनाइ गर्ने, नगरा बजाउने र पृथ्वीनारायण शाहको गोरखा राज्य विस्तारको अभियानमा गोरखाली फौजसँगै लडाइँमा नगरा बजाउन हिँड्ने गरेको देखिन्छ । पृथ्वीनारायण शाहले घरेलु हातहतियार बनाउने सीप भएका स्थानीय विश्वकर्मालाई पनि प्रयोग गरेको भेटिन्छ । हातहतियार निर्माणका लागि कच्चापदार्थ कहाँबाट ल्याइन्थे र हतियार निर्माणका क्रममा कुन विधि–प्रविधि प्रयोग हुन्थे भन्नेबारे नखुले पनि उनले स्थानीयस्तरमै उपलब्ध कालिगडको उपयोग गरेको पाइन्छ ।

पृथ्वीनारायण शाहले हतियार निर्माण कार्यमा सिपालु धार्ने कामीसहितका कामी कालिगड भर्ना गरेर युद्धका लागि आवश्यक धनुकाँड, तरबार, भाला, ढाल, खुँडा, खुकुरी बनाउन लगाएका थिए । सोमध्वज विष्टकृत ‘शाही सैनिक इतिहास’मा यसबारे उल्लेख छ । बिसे नगर्चीसँगै मणिराज गाइने र बानादार दमाईको पनि नाम जोडिन आउँछ । पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा विजय हासिल भएका स्थानमा मणिराम गाइनेले विजयगाथा गाउँदै हिँड्थे । बिसे नगर्ची र बानादार दमाईले नगरा लगाउने काम गर्थे भन्ने भनाइ छ । गन्धर्व समुदायले नेपाल एकीकरणमा सघाएको देखिन्छ ।

जनस्तरका नागरिकले निर्माण गरेको इतिहास तीव्र गतिमा मर्दै गएको छ र यसले नजानिँदो किसिमले नेपाली विद्वत् परम्परालाई नै क्षति पुर्‍याइरहेको छ

नेपाल एकीकरणअघिदेखि नै राष्ट्र निर्माणको मूलमन्त्रलाई आत्मसात् गर्दै जनजनको दैलोमा पुगेर सन्देश उद्घोष गर्थे । गन्धर्वले बोकेको ऐतिहासिक बिरासतका दृष्टिले पनि पृथ्वीनारायण शाहले गन्धर्व समुदायलाई आफ्नो अभियानमा राम्रैसँग उपयोग गरेको अनुमान गर्न सकिन्छ । पृथ्वीनारायण शाहको अभियानलाई सांगीतिक दस्ताले सघाए पनि उनको संगीतप्रतिको नीति अलि फरक देखिन्छ । उनी गीत–संगीतप्रति उतिसारो उदार देखिँदैनन् ।

बाल्यकालमा उनलाई सांगीतिक रंग–रेशमबाट टाढै राखिएको इतिहासकारले उल्लेख गरेका छन् । मल्ल राजा र अन्य भुरेटाकुरे राजकुमार चाहिनेभन्दा बढी रस–रंगमा भुल्दा राजकाजमा नकारात्मक असर परेको पृथ्वीनारायण शाहका अभिभावकको बुझाइ थियो । यसबाट पाठ सिकेर उनलाई नाचगानको माहोलबाट टाढा राखिएको देखिन्छ । पृथ्वीनारायणको व्यक्तित्व निर्माणमा रानी चन्द्रप्रभाको नै मुख्य हात थियो । अरू चौबीसे राजकुमार ठाँटबाँट र भोगविलासद्वारा बिग्रने गरेको देखेकी चन्द्रप्रभाले यिनलाई नाचगान आदि विलासितादेखि टाढा राखिन् ।

यी तमाम कारणले पृथ्वीनारायण शाह रंगपरम्परा वा रागतानप्रति नरम देखिँदैनन् । उनले औपचारिक रूपमै रागतानको मोहमा नभुल्नू भनेका छन् । त्यसमा पनि उनी विदेशी संगीतप्रति बढी कठोर देखिन्छन् । ‘मलाई यवटा (एउटा) कुरोको सन्देह (शंका) लागिरहेछ, कुन्कुरो (कुन कुरो) भन्या मुग्लानानजिकै रहेछ, त्यस जग्गामा छोकडा (अल्लारे ठिटा) र पत्रिया (पातर्नी) रह्या छन् । चित्रकार भर्‍याका कोठामा ढोेलक सितारका रागतानमा भुल्नन् । रागतानमा बडो ठूलो मोह हुन्छ र दवलथ (दौलत) पनि षोलिन्छ (रित्तिन्छ) । देशको भेद पनि तिनैले लैजान्छन् र हरिपले (शत्रुले) दगा गर्छ । रागको अभ्यास पनि कसैले नगर्नू ।

तिन जातलाई पाहाड आम्फदरफ (आवतजावत) कसैले नषोल्नु (गर्न नदिनू) अथवा फागुलाई यक (एक) दुई दिन गरी झिकी चाँडै बिदा गराइदिनु र देशको भेद पनि पाउँदैनन् । आफ्ना स्वषसयेललाई (सुखसयल) ता शास्त्रबमोजिमको तिनै सहर नेपालको नेवारहरूको नाच झिकाई हेर्‍या पनि हुन्छ । इनमा त दियाको पनि आफ्नै देशमा रहन्छ । यस्व भया (यसो भए) आफ्नु देश पनि गमन (सुरक्षित) रहन्छ’– पृथ्वीनारायण शाहको दिव्योपदेशमा उल्लेख छ । 

पृथ्वीनारायण शाहले निर्धारण गरेको नीति यिनको देहान्तपछि छोरा बहादुर शाहको प्रशासनकाल नभएसम्म १८ वर्षजति कायमै रहिरह्यो, तर यिनको पदच्युतपछि राजभवन, विशिष्ट भारदारका महल, विलासिता तथा षड्यन्त्रका अखाडाका रूपमा परिणत भए । र, एक सय ५० वर्षको नेपाल अधिराज्यको सांस्कृतिक इतिहास लज्जाजनक अवस्थामा पुगेको पाइन्छ । संगीतप्रति फरक दृष्टिकोण राख्ने पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानमा स्वदेशी रंगकर्मीलाई व्यापक रूपमा प्रयोग गरेको प्रमाण भेटिन्न ।

राष्ट्रिय कला एवं नाटकको विकास गर्ने प्रेरणा दिनका निम्ति उनले सालभरको नाच र गाना जाँची प्रथम ठहरेकालाई पुरस्कार दिने व्यवस्था गरेका थिए । नेपाल एकीकरण अभियानमा पृथ्वीनारायण शाहले सन्न्यासी जोगी र गाइनेलाई खबरदूतका रूपमा प्रयोग गरेका जनश्रुति छ । उनीहरूले युद्धका समयमा कसरी गोप्य सूचना संकलन गर्थे र कसरी सम्बन्धित निकायमा रिपोर्टिङ गर्थे भन्ने तथ्य अज्ञात छ । नेपालको हुलाक सेवा पृथ्वीनारायण शाहको मौलिक योगदान मानिन्छ । अभिलेख भन्छ– त्यस समयमा काठमाडौं, नुवाकोट, गोरखा र अन्य भागमा हुलाक सेवा सञ्चालनमा थिए ।

त्यसवेलाको हुलाक सेवा सर्वसाधारणको उपयोगका लागि थिएन । केवल सरकारी काजगात र मालताल ओसार्ने प्रयोजनका लागि हुलाक सेवा स्थापित भएको पाइन्छ । जनस्तरका अधिकांश नागरिक लेखपढ गर्न अक्षम रहेको त्यस समयमा हुलाक सेवा जनताका लागि आवश्यक नभएको पनि हुन सक्छ । त्यस समयमा ‘कागते हुलाक’ र ‘थाप्ले हुलाक’ गरी दुईथरीका हुलाक अस्तित्वमा रहेका थिए । ‘कागते हुलाक’मार्पmत सरकारी कागजात ओसारिन्थे भने ‘थाप्ले हुलाक’मार्फत सरकारी मालताल ओसारिन्थे । हुलाक सेवामा हुलाकीको रूपमा जनस्तरका विश्वासिला र गतिशील नागरिकले काम गरेका होलान् ।

जनस्तरका ती सहयोगीको कहीँ–कतै चर्चा पाइँदैन । लिखित दस्ताबेजलाई मात्र प्रमाण मान्ने इतिहास लेखन परम्पराले लोकस्मरणमा रहेका इतिहासका स्रोतलाई बेवास्ता गरेको देखिन्छ । यसबाट जनस्तरका नागरिकले निर्माण गरेको इतिहास तीव्र गतिमा मर्दै गएको छ । यसले रिक्ततापूर्ण वातावरण तयार भइरहेको छ । यस किसिमको रिक्तताले ज्ञान उत्पादन र इतिहास निर्माणमा सर्वसाधारण नागरिकले दिएका योगदानको इतिहास पनि मेटिँदै गएको छ । ज्ञान उत्पादन नै हुन नसकेपछि ऐतिहासिक विषयमाथि हुने विवेचना पनि स्वाभाविक रूपमा कमजोर हुन पुगेको छ । यसले नजानिँदो किसिमले नेपाली विद्वत् परम्परालाई नै क्षति गरिरहेको छ ।