• वि.सं २०७६ चैत २१ शुक्रबार
  • वि.सं २०७६ चैत २१ शुक्रबार
  • Friday, 03 April, 2020
रोहितराज पराजुली कास्की
२०७६ पौष २१ सोमबार १९:०१:००
समाचार

गण्डकी प्रदेशको हिउँदे अधिवेशन २३ पुसदेखि

२०७६ पौष २१ सोमबार १९:०१:००

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन २३ पुसदेखि सुरु हुने भएको छ । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले प्रदेश सभा बैठकको मिति तय गरेसँगै बैठक बस्ने भएको हो ।

गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले पोखरा–३ नदीपुरस्थित प्रदेश सभा भवनमा २३ गते ११ बजे बैठकका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए । गण्डकी प्रदेश सभाको बस्न लागेको यो पाँचौँ बैठक हो । यसअघि दुई वटा हिउँदे र दुई बर्खे अधिवेशन सम्पन्न भइसकेको छ भने विभिन्न ३० वटा विधेयक पनि पारित भएका छन् ।

बर्खे अधिवेशनलाई बजेट अधिवेशन र हिउँदे अधिवेशनलाई कानुन तथा नीति नियम बनाउने अधिवेशनका रूपमा लिने गरिन्छ । गत असोज १४ मा बर्खे अधिवेशन सम्पन्न भएको थियो । चौथो अधिवेशन सकिएको ९९ दिनपछि पाँचौँ अधिवेशन सुरु हुन लागेको हो ।