Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २८ बुधबार
  • Wednesday, 12 August, 2020
२०७६ पौष १५ मंगलबार १४:४१:००
ब्लग

नेपालमा भारतीय राजदूतको छवि

२०७६ पौष १५ मंगलबार १४:४१:००

भारतीय कूटनीतिज्ञका लागि नेपाल संवेदनशील कार्यक्षेत्र हुँदो रहेछ । पूर्वभारतीय राजदूत कृष्ण भी राजनको यससम्बन्धी रोचक संस्मरण रहेछ । अबकासपछि राजनले सम्पादन गरेको ‘द एम्व्यासडर्स क्लब, द इन्डियन डिप्लोम्याट ए्याट लार्ज’मा राजनले नेपाल मामिला सञ्चालनको रोचक प्रसंग उल्लेख गरेका छन् ।

राजन नेपालका लागि राजदूत नियुक्त हुनुअघि लण्डनस्थित भारतीय उच्चायुक्त (राजदूत) थिए । उनी नेपाल आउन लाग्दा लण्डनमै ५४ औँ जन्मदिन मनाउँदै थिए । उनका साथिहरुले त्यस साँझ नेपालको नक्सा अंकित केक तयार गरेछन् र केक काट्न लगाए छन् । तर राजनले नेपाली झण्डाको प्रतिक स्वरुपको केट काट्न इन्कार गरेछन् । त्यही बसाईमा ज्योतिष सम्बन्धी ज्ञान भएका एकजना पत्रकारले राजनलाई भनेछन्, ‘तपाईँले नेपालको नक्सा राखेको केक नकाटेर एकदम ठीक गर्नुभयो । किनभने अमेरिकाका लागि मेक्सिकोजस्तै भारतका लागि नेपाल हाइपर सेन्सिटिभ छ । नेपालमा धेरै समस्या छन् । किनभने नेपालको राशिफल नै यस्तो छ ।’ (पृष्ठ ३५)

भारतले परम्परागतरुपमा नेपाललाई सुरक्षाका दृष्टिले डिल गर्दै आएको छ । नेपालको उत्तरी छिमेकी चीन, नेपालभित्र भारतका सम्बन्धमा विभाजित जनमत, विभाजित राजनीतिक पंक्ति, खुला सीमाना, समान सांस्कृतिक सम्बन्ध इत्यादिका कारण नेपाललाई एउटै कुटनीतिक ढाँचाबाट डिल हुन नसक्ने भारतीय नीति निर्माताहरुको बुझाई छ । चीन, अमेरिका तथा पश्चिमा मुलुकहरुको बलियो उपस्थितिलाई भारतीय नीतिनिर्माताले ठूलो वा सानो सुरक्षा चिन्ताका रुपमा हेरेका छन् ।  नेपालको विभाजित मनोविज्ञानसँग काम गर्नुपर्ने दायित्व हुन्छ भारतीय कूटनीतिज्ञका लागि ।  नेपाललाई हेर्ने भारतीय विदेश नीति वा सुरक्षा नीति जेसुकै भए पनि यहाँ आउने भारतीय राजदुतका व्यवहार र भूमिकाले भारतको छवि कस्तो निर्माण हुने भन्नेमा भुमिका खेल्ने गरेको छ । यसैगरी निर्माण भएको छविले नेपाल भारत सम्बन्ध सञ्चालनमा दुवैका लागि निर्णायक भूमिका खेल्दै आएको छ । परिस्थितिले भारतीय राजदूतलाई नेपालीहरु माझ नायक र खलनायक बनाइदिने गरेको छ, भलै ती राजदूतको कार्यक्षमता र कार्य सम्पादनबारे भारत सरकार आश्वस्त किन नहोस् । 

पछिल्लो पटक भारतीय राजदूतहरुले विशेष परिस्थिति सामना गर्दै आएका छन् र त्यही आधारमा नेपालमा उनीहरुको बेग्लाबेग्लै छवि निर्माण भएको छ । दोस्रो जनआन्दोलनपछिका भारतीय राजदूत राकेश सुद बिबादमा आउने स्थिति बन्यो । प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाउने प्रचण्ड सरकारको निर्णयलाई राष्टपति डा. रामवरण यादबले रोक्नुको पछाडि भारतीय भूमिकामा राजदूत सुद निश्चय नै जोडिने भए । सुदको व्यक्तिगत आनीवानी र आचरणले पनि यहाँ भारतको नकारात्मक छवि स्थापित हुन भूमिका खेल्यो । तर, सुदपछि आएका राजदूत जयन्तप्रसादले पुष्पकमल दाहालसँग भारत सरकारको सम्बन्ध सुधारमा भूमिका निर्वाह गरे । किनभने त्यसअघि भारत सरकार र दाहालबीच सम्बन्ध तिक्ततामा बदलिएको थियो । जयन्तप्रसादकै पालामा नेपाल भारतबीच बिप्पा भयो । खिलराज रेग्मी नेतृत्वको सरकार गठन हुँदा जयन्त नै राजदुत थिए । उनीपछि रणजीत रायको कार्यकालमा नेपालमा संविधान जारी भयो । त्यो बेला नेपाल भारत सम्बन्ध तिक्तताको शिखरमा पुग्यो । नाकाबन्दी लगायतका परिस्थितिमा नेपालमा राजदूत रायको नकारात्मक छवि निर्माण भयो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पहिलो सरकार ढाल्नमा रायको भूमिका जोडेर आलोचना पनि भयो । हुन त सरकार ढाल्न षड्यन्त्र गरेको अभियोग लगाएर ओली सरकारले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई नै फिर्ता बोलाएको पनि त्यही बेला हो । 

नेपालमा भारतीय राजदूतको भूमिकालाई लिएर चर्चा र बिबाद भइरहन्छ । नेपालका हरेक राजनीतिक परिवर्तनमा नेपाली राजनीतिक नेताहरुको चाहनामा भारतले ‘जमानी’ भूमिका खेल्दै आएको छ । त्यसकारण कार्यान्वयन प्रक्रियाको ग्यारेन्टरको भूमिका भारतीय राजदूतहरुले भुमिका निर्वाह गर्दै आएका छन् । पूर्वभारतीय राजदूत श्याम शरणले आफ्नो पछिल्लो किताब ‘हाउ इन्डिया सि त वल्र्ड’मा भारत १२ बुँदे समझदारीको ग्यारेन्टर भएको उल्लेख गरेका छन् । २००७ सालमा प्रजातन्त्र प्राप्तिको पृष्ठभूमि, २०४६ सालमा राजा र दलहरुबीच समझदारीको पृष्ठभूमि, २०६२ मंसिरमा तत्कालीन सात दल र माओवादीबीच भएको १२ बुँदे समझदारी, पहिलो मधेश आन्दोलनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आग्रहमा भारतीय राजदूत शिवशंकर मुखर्जीको निवासमा भएको सहमतिको पृष्ठभूमि आफैँमा दृष्टान्त हुन् जसले नेपालको राजनीतिक प्रक्रियामा भारतको भूमिका स्थापित गरेका छन् । यिनै दृष्टान्तको सेरोफेरोमा २४ जना भारतीय राजदूतले नेपालमा काम गरिसकेका छन् । मञ्जिब सिंह पुरीले यही पृष्ठभूमिमा भूमिका निर्वाह गरेका हुन । पछिल्लो पटक भारतको भूमिका र आफ्नो स्वभावजन्यकारण श्यामशरण, शिवशंकर मुखर्जी, राकेश सुद, रणजीत राय, मञ्जिबसिंह पुरीको चर्चा नेपाली राजनीतिक बृत्तमा फरकफरक रुपमा भइरहेको छ । 

नेपालका लागि २४ औँ राजदूत मञ्जिबसिंह पुरीले २ बर्ष ९ महिना ३ दिने कार्यकाल मंगलवार पूरा गरेका छन् । पुरीले सन् १९८२ देखि शुरु गरेको भारतीय कूटनीतिक सेवाबाटै अबकास पाएका छन् । नवनियुक्त भारतीय विदेश सचिव हर्षबद्र्धन श्रींगला अमेरिकाबाट अर्को साता दिल्ली फर्केपछि सम्भवतः नेपालमा पठाउने राजदूत तय हुनेछ । मालदिभ्सका पूर्वराजदूत अखिलेश मिश्र, सिंगापुरका लागि वर्तमान राजदूत जाभेद अख्तर, प्रधानमन्त्री कार्यालयमा कार्यरत सहसचिव गोपाल बाग्ले, साउथ ब्लकमा आर्थिक मामिला हेर्ने सचिव टीएस तिरुमुर्ती लगायतको नाम अहिले नेपालका लागि भारतले दुत तोक्नेहरुको सम्भावित नामका रुपमा चर्चामा  छ ।

मिश्रले विगतमा भारतीय विदेश मन्त्रालयको नर्थ डिभिजन प्रमुखका रुपमा नेपाल मामिला हेरेका छन् । मिश्र नेपाली भाषा समेत जान्दछन् । जाभेद पनि नेपालबारे जानकार मानिन्छन् । बाग्ले यसअघि भारतीय दूताबास काठमाडौंमा प्रबक्ताका रुपमा काम गरिसकेका छन् । दक्षिण भारतका तिरुमुर्तीलाई पुरी भन्दा अघि पनि नेपालको राजदूतका रुपमा पठाउन लागिएको थियो । जानकारहरुका अनुसार नेपालमा हिन्दीभाषी पठाउनुपर्ने पूर्वविदेशमन्त्री सुष्मा स्वराजको अडानका कारण तिरुमुर्ती आएनन् । यसपालि पनि सम्भवतः नेपाल पठाउने राजदूत हिन्दीभाषी र हिन्दु धर्मालम्बी नै हुनेछन् । 

नेपालमा तीन तहको निर्वाचनका क्रममा स्थानीय तहको निर्वाचन भइरहँदा पुरी राजदूतका रुपमा आएका थिए । निर्वाचन प्रक्रियालाई सघाउने भारतीय नीतिको कार्यान्वयनबाट उनले नेपालमा काम शुरु गरे । तीन तहको निर्वाचनपछि सबैभन्दा ठूलो दल भएको एमालेका तत्कालिन अध्यक्ष केपी शर्मा ओली र भारतीय नेतृत्वबीच सम्बाद सहजीकरणमा उनले शुरुमै भूमिका निर्वाह गरे । तत्कालिन एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धनपछि वामहरुको बहुमत आउने र सरकार बन्ने निश्चित थियो । त्यस अवस्थामा एमाले नेतृत्व र भारतीय प्रधानमन्त्रीबीच सम्बन्ध सहजीकरण पुरीको अर्को महत्वपूर्ण मिसन थियो । यसमा उनले समन्वयकारी भूमिका निर्वाह गरे । 

तीन तहको निर्वाचन लगत्तै ७ माघमा भारतीय प्रधानमन्त्री मोदीले ओलीलाई टेलिफोनमार्फत् नयाँ सरकारको नेतृत्वका लागि बधाई दिए र १८ माघमा तत्कालिन विदेशमन्त्री सुष्मा स्वराजलाई विशेष प्रतिनिधिका रुपमा नेपाल पठाए । त्यो विशेष वार्ताका लागि पुरी र एमालेबाट डा. राजन भट्टराईले समन्वय गरेका थिए । स्वराजको भ्रमणपछि भारत सरकार र नेपालको नयाँ सरकारबीच समझदारी विकास भयो । २०७३ साउनमा सरकारबाट हटेपछि भारतीय नेतृत्व र ओलीबीच बढेको तिक्तता स्वराजको भ्रमणपछि सामान्यीकरण भयो । २०७४ फागुन ३ मा प्रधानमन्त्री भएपछि केपी शर्मा ओलीले भारतको राजकीय भ्रमण गरे । त्यसपछि मोदीले नेपालको राजकीय भ्रमण गरे । त्यसयता ओली र मोदीले क्रमशः दुई–दुईपटक भ्रमण गरेका छन् । 

राजदूत पुरी शिख समुदायबाट नेपालमा राजदूत भएका दोस्रा व्यक्ति हुन् । नेपालका लागि प्रथम भारतीय राजदूत सुरजितसिंह मजीठिया नेपाल पठाइएका पहिलो शिख राजदूत थिए । मजीठिया यस्ता राजदूत हुन् जो नेपालमा कार्यभार सम्हाल्न आउँदा सडकको बाटो आएका थिए भने फकिँदा जहाजबाट गएका थिए । मजीठिया आउँदा नेपालमा विमानस्थल थिएन, जाँदा थियो । पुरीले नेपालमा रहेका शिख समुदायलाई आफ्नो कार्यकालमा उनले समेटेका छन् । शिख समुदालयले नेपालको यातायात तथा पूर्वाधार विकासमा भुमिका खेलेका छन् । नेपालमा शिख सम्पदाको इतिहास पुरीकै कार्यकालमा आधिकारिक रुपमा लेखिएको छ । नेपालको बदलिँदो राजनीतिक परिवेशमा भारतको बदलिँदो नेपाल नीति कार्यान्वयन गर्ने क्रममा पुरी विवादरहित देखिएका छन् ।  पुरीले भारतीय राजदूतको फरक मानक स्थापित गरेका छन् । उनको पालामा केही परियोना ब्रेक थु्र भए, केही पूरा भए । 

अब भारतीय राजदूत को आउलान् ? यो सवैमा चासोको विषय छ । नेपालमा भारतका राजदूतले बढी महत्व पाउनुका पछाडि बहुआयामिक सम्बन्धसँगै सांस्कृतिक सम्बन्ध पनि हो । दिल्लीमा पूर्वराजदूत रणजीत रायलाई एकपटक भारतीय राजदुत नेपालमा कति शक्तिशाली हुनेरहेछन् ? भनेर सोध्दा उनको जबाफ थियो, ‘हाम्रो बहुआयामिक सम्बन्ध छ । त्यसलाई सम्बोधन गर्ने कोशिश बहुआयामिक तरीकाले हुन्छ । त्यस आधारमा राजदूतले भूमिका निर्वाह गर्ने हो । त्यसरी हेर्नुपर्छ ।’ भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायले पनि नेपालमा भारतीय राजदूतहरुले जस्तै दिल्लीमा पहुँच स्थापना गरेका थिए । वर्तमान राजदूत नीलाम्बर आचार्यले पनि त्यो कोशिस जारी राखेको देखिन्छ । दुवै देशका राजदुतले दुवै देशको भावना बुझेर भुमिका खेलेमा धेरै हदमा समानता बोकेका नेपाल र भारतको हितका लागि उक्त भुमिका सार्थक हुने छ ।