२०७६ मङ्सिर १७ मंगलबार ०८:४४:००
नयाँ पत्रिका

गाईघाट झरनामा सधैँ भिडभाड

केही वर्षअघिसम्म तारा, अर्गल, हिल अमरभूमिका बासिन्दा गलकोटबाट ताराखोला जाँदा आउँदा खोला तर्ने ठाउँ थियो गाईघाट । गाईघाटको ठीक अघि डरलाग्दो अग्लो छहरा थियो । अहिले यही छहारा पर्यटकी गन्तव्य बनेको छ ।

गलकोट र ताराखोलाका स्थानीयले तत्कालीन घाटलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरेका छन् ।  पहिलेको ‘गाईघाट’ र त्यही छेउको पुरानो अग्लो छहरा अहिले गाईघाट झरना भएको छ । ताराखोला गाउँपालिका–१ मा पर्ने गाईघाट झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण केन्द्र बनेको छ । 

५० मिटर अग्लो झरनाको भित्रपट्टि रहेको गुफाले पनि पर्यटकलाई लोभ्याएको छ । झरना वरिपरि सुन्दर बगैँचा छ । प्राकृतिक सौन्दर्ययुक्त गाईघाट झरनालाई गण्डकी प्रदेश सरकारले पर्यटकीय गन्तव्यका रूपमा सूचीकृत गरेको छ ।

झरनामा यस वर्ष मात्रै १५ हजारभन्दा बढी आन्तरिक पर्यटकले पुगेको गाईघाट झरनाका व्यवस्थापक अमरबहादुर पाइजाले बताए । झरनामा दैनिक एक सयको हाराहारीमा आन्तरिक पर्यटकहरू आउँछन् ।

प्रायः विद्यालयका विद्यार्थी आउने गरेका छन् । पाइजाले भने, ‘यहाँ अधिकांश शैक्षिक भ्रमणका लागि विद्यार्थी आउँछन् ।’ गाउँपालिकाले गाईघाट झरना हेर्न र तस्बिर खिच्न गत वर्षदेखि ३० रुपैयाँको टिकट व्यवस्था गरेको छ ।

विद्यार्थीलाई आधा छुट र १० वर्षमुनिको बच्चालाई निःशुल्क गरिएको छ । व्यवस्थापक पाइजाका अनुसार चाडबाड र बिदाका वेला झरनामा बढी चहलपहल हुन्छ ।