२०७६ मङ्सिर १५ आइतबार १८:५०:००

नातिनी बलात्कार गर्ने हजुरबा पक्राउ, बालिका गर्भवती भएसँगै घटना सार्वजनिक

ओखलढुंगामा नातिनी बलात्कार गर्ने एक वृद्ध पक्राउ परेका छन् । नाताले नातिनी पर्ने १५ वर्षीय बालिका बलात्कार गर्ने मोलुङ गाउँपालिकाका ५८ वर्षीय वृद्ध पक्राउ परेका हुन् । 

बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा वृद्धलाई पक्राउ गरी अनुसन्धान थालिएको ओखलढुंगाका प्रहरी निरीक्षक मिलन बस्नेतले बताए । गत साउन महिनामा बालिकालाई वृद्धले बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ । घरमा कोही नभएको बेला वृद्धले जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । 

हजुरबुबाबाट बलात्कृत बालिका गर्भवती भएपछि रहस्य बाहिरिएको हो । बालिकाको पेट अस्वभाविक बढेकाले आफन्तले सोधपुछ गर्दा बालिका गर्भवती भएको खुलेसँगै वृद्धले बलात्कार गरेको घटना सार्वजानिक भएको हो । बालिका २३ हप्ताकी गर्भवती रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र जिल्ला अस्पताल रुम्जाटारले जनाएको छ । 

बालिका सुस्त मनस्थिती र कम उमेरकी भएकाले गर्भपतनका लागि प्रशुती गृह थापाथली रेफर गरिएको केन्द्रकी घटना व्यवस्थापक कुमारी तामाङले बताइन् । बालिका जिल्लास्थित एक सुरक्षित आवास गृहको संरक्षणमा छिन् ।