२०७६ मङ्सिर १२ बिहीबार १६:३८:००
नयाँ पत्रिका

पहिलो पटक सबैभन्दा ठूलो प्राणी ह्वेल माछाको धड्कन नापियो

संसारको ठूलो जीवित स्तनधारी प्राणी ‘ब्लु ह्वेल’ (निलो ह्वेल) माछाको मुटुको धड्कन नापिएको छ । अनुसन्धानकर्ताले ह्वेल माछाको मुटुको धड्कन नाप्न सफल भएको स्ट्यानफोर्ड विश्वविद्यालयले जनाएको छ ।

पेन्गुइन र ‘क्यापटिभ किलर ह्वेल’पछि विश्वविद्यालयका अन्वेषकहरुको टोलीले ह्वेलको मुटुको गति नापेका हुन् । समुन्द्री ह्वेलको शरीरमा इलेक्ट्रोनिक सेन्सरको प्रयोग गरी धड्कन नापिएको विश्वविद्यालयले जनाएको छ ।

पौडिरहेका बेला ह्वेलको मुटुको धड्कन प्रतिमिनेट ४ देखि ८ पटक र सबैभन्दा कम प्रति मिनेट २ पटक पाइएको अनुसन्धानकर्ताहरुले बताएका छन् । समुन्द्रको पिँधमा ह्वेलको धड्कन २ दशमलव ५ प्रतिशतले बढ्ने र बढीमा प्रतिमिनेट २५ देखि ३० पटक धड्किने अनुसन्धानले देखाएको छ ।

विश्वविद्यालयका जिव विज्ञानका सहायक प्रोफेसर एवं अनुसन्धानको नतिजाका प्रमुख लेखक जेरेमी गोल्डबोजेनले यो अध्यनले लोपोन्मुख ह्वेलको संरक्षण र व्ययवस्थापनमा सहयोग हुने बताएका छन् । ह्वेलको तौल करिब १ लाख ३६ हजार किलोग्रामभन्दा बढी हुन्छ । यसको लम्बाइ ३० मिटरसम्म हुने गरेकाे छ । एजेन्सी