सरकारले काम गरेन भन्ने बेला भएको छैन : मन्त्री विष्ट

२०७५ पौष २८ शनिबार १७:२९:०० | कास्की

नेपाल सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भने चौतर्फी आलोचना भइरहेका वेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारले काम गरेन भनेर भन्ने बेला भइनसकेको बताएका छन् ।


प्रेस संगठन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम मन्त्री विष्टले वर्तमान सरकार सय तलाको भवन बनाउने योजनामा रहेको र त्यसका लागि आवश्यक बलियो जग निमार्णमा व्यस्त रहेकाले बाहिर सतहमा काम नदेखीएको दाबी गरे । हाल सरकार जमिन मुनी फाउन्डेसन बनाउने काममा लागेकाले बाहिरि सतहमा घर देखिएन भनेर आलोचना गर्नु भनेको सरकारमाथि अन्याय हुने उनको भनाई थियो । सय तलाको घरको जग मजबुत बनाउनुपर्ने र यसका लागि केहि समय लाग्ने भएकाले अहिल्यै सरकारले काम गरेन भनि आलोचना नगर्न उनले सुझाव दिए ।


सरकारले विकास, पूर्वाधार निमार्ण र समृद्धीको लागि आवश्यक काम आधारभुत तहबाट सुरु गरेकाले परिणाम देखाउन केही समय लाग्ने भन्दै सरकार बिरोधीहरुले भएका कामलाई पनि छायाँमा पारेर कामै नभएको भनि हल्ला फिजाईरहेको उनको आरोप थियो ।
पार्टीले निर्वाचनका वेला ५÷१० र २० वर्षमा पुरा गर्न सकिने कार्यक्रम ल्याएको स्मरण गर्दै उनले ६ महिनामा ति काम पुरा भएन भनेर आलोचना गर्नु पनि तर्क संगत नरहेको उनले बताए ।


नयाँ संविधान लागुसँगै तीन तहका सरकार गठन भइसकेपनि देशमा अझै संक्रमण काल रहेको भन्दै विष्टले विगतको एकात्मक शासन व्यवस्था हुँदा निमार्ण भएका दुई सय ५३ वटा कानुनलाई परिमार्जन गर्नुपर्ने र यसका लागि सरकारले सम्वन्धित क्षेत्रका विज्ञहरुसँग सल्लाह लिइरहेको जानकारी दिए । 
विकास र समृद्धिको आधार तयार गर्न वर्तमान सरकार देशमा प्रणाली स्थापना गर्नका लागि कम्मर कसेर लागेको दाबी गर्दै यसका लागि स्थिरता, सुशासन, विधि, पारदर्शिता प्रणाली लगायतका विषय र कामला लाई संस्थागत गर्न लागेको बताए । 


प्रधानमन्त्री रोजगार कार्यक्रमको काम सुरु
मन्त्री विष्टले आफ्नो मन्त्रालय अन्र्तगत रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमले काम सुरु गरेको बताए । यसका लागि आवश्यक नीति नियमावली पारित भइसकेको भन्दै अव देशका ७ सय ५३ स्थानीय तहमा रोजगार सेवा केन्द्र खेली काम सुरु गर्ने जानकारी दिए ।
श्रमशक्ती र श्रमवजार विचको सूचना जोड्ने गरि काम गर्ने कार्यक्रम मार्फत ५ वर्षमा देशमा लाखौ रोजगारी सिर्जना गर्ने भन्दै मन्त्री विष्टले त्यसपछि जीवन निर्वाहका लागि विदेश जानेहरुलाई देशमै रोजगारी दिने र विदेश जान नपर्ने दाबी गरे ।
सेवा केन्द्रले प्रत्येक स्थानीय तहमा रोजगारिको क्षेत्र, सम्भावना र बेरोजगारहरुको तथ्याङ्क संकलन गर्ने बताए । उनले राज्यको कोष र सरकारी निकायले संचालन गर्ने विकास निमार्णको काममा यसै कार्यक्रम मार्फत कामदाहरुको व्यवस्थापन गर्ने जानकारी दिए । 


कामको सम्मान नहुँदा समस्या                                                          

नेपालमा काम सँगै काम गर्नेहरुको सम्मान नहुँदा समस्या भएको उनको भनाई थियो । विष्टले दिन–रात काम गर्नेहरुको जीवन स्तरमा केही सुधार र प्रगती नहुने तर काम नगर्नेहरु रातारात सम्मान सहित धनी हुने उनले बताए । निरपेक्ष गरिबिको रेखा मुनी रहेकाहरुलाई श्रमगर्ने र सवल वनाउने र काम गर्ने संस्कारलाई बढवा दिन सरकार लागि परेको उनले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस