२०७६ मङ्सिर ५ बिहीबार १७:०३:००
नयाँ पत्रिका

युरोपका विभिन्न देशमा ‘शुभलभ’ लिएर जाँदै सन्तोष

सन्तोष लोहनीद्वारा निर्देशित चलचित्र ‘शुभलभ’ युरोपका विभिन्न देशमा प्रदर्शन हुने भएको छ ।

निर्देशक लोहनीले युकेका ६, जर्मनी ३, बेल्जियमका तीन, पोर्चुगलका पाँच, नर्वे, फिनल्यान्ड र स्पेनमा डिसेम्बर, जनवरी, फेब्रुअरीमा फिल्म प्रदर्शन गर्ने तयारी रहेको जानकारी दिए । 

नेपालको सानो बजारमा हुने अस्वस्थ प्रतिस्पर्धाले आफ्नो फिल्म ओझेलमा परेको भन्दै उनले प्रदर्शनका लागि विदेशमा चलचित्र लैजाने बताए । नेपाली फिल्म प्रचारप्रसारका लागि र नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुगोस् भन्ने उद्देश्यले उनले फिल्म विदेशमा प्रदर्शन गर्ने योजना बनाएको उनको भनाइ छ ।

चलचित्र गत वर्ष १५ चैतदेखि नेपालका हलमा प्रदर्शन भएको थियो । चलचित्रका मुख्य कलाकार हरिहर अधिकारी र नवनायिका कृस्टिन पौडेलले यसै फिल्मबाट डेब्यु गरेका हुन् । हरिहर चर्चित ज्योतिष हुन् भने कृस्टिन मिसटिन–२०१७ की विजेता हुन् ।

बुद्ध इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता धर्मराज सुवेदी हुन् । चलचित्रमा पुराना कलाकार सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र, रविन्द्र झा, प्रदिप बास्तोला, अनुज पाण्डे, सूर्या थापालगायतको मुख्य भूमिका छ । प्रेम कथामा आधारित चलचित्रमा दर्शकहरू कमेडिबाट पनि भरपुर आनन्द लिन सक्ने छन् । कथा प्रेममा आधारित छ।

हिमाल, तातोपानी कुण्ड, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, देवघाट, पोखरालगायका स्थानमा चलचित्र छायाँकन गरएकाले पनि पर्यटक तान्ने निर्देशक लोहनीको विश्वास छ ।

चलचित्रमा हरिहर अधिकारीको कथा, अभिमन्यू निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामेश्वर कार्कीको छायांकन, रोशनविक्रम भट्टराईको एक्सन, कोरियोग्राफर रामजी लामिछाने, बनीष शाह र भूपेन्द्र अधिकारीको सम्पादन छ । यस चलचित्रका प्रस्तुत कर्ता प्रदिप उदय हुन् ।