२०७६ मङ्सिर १ आइतबार ०७:३३:००

भक्तपुरमा ठूला पार्टीका केन्द्रीय नेता पनि गाउँगाउँमा

१४ मंसिरमा हुने उपनिर्वाचनमा राजधानीसँगैको जिल्ला भक्तपुरमा चुनावी माहोल उत्कर्षमा पुगेको छ । काठमाडौंसँगै जोडिएको जिल्ला भएकाले ठूला दलका केन्द्रीय नेताहरू पनि गाउँगाउँ पुग्न थालेका छन् । उपनिर्वाचनको मिति नजिकिएसँगै प्रतिस्पर्धी उम्मेदवारहरूले चुनाव प्रचारप्रसारका गतिविधि तीव्र पारेका छन् । नेता–कार्यकर्ता गाउँ–गाउँ डुलिरहेका छन् । मनोनयन दर्तापछि गाउँ पसेका उम्मेदवारहरूलाई घर–घर पुगेर मत माग्न भ्याई–नभ्याई छ । बजार, पसल र सार्वजनिक स्थलमा चुनावी चर्चा बढेको छ ।

भक्तपुरका दुई नगरका दश वडामा चुनावी सरगर्मी तातेको छ । प्रदेश सभा सदस्यमा भक्तपुर–१ (क) बाट निर्वाचित सांसद हरिशरण लामिछानेको हृदयघातका कारण निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । गत निर्वाचनपछि गाउँ नपुगेका नेता फेरि भोट माग्दै गाउँ पुगेका छन् । 

उपत्यकाभित्र उपनिर्वाचन हुने एक मात्रै निर्वाचन क्षेत्र भएकाले पनि यहाँ चुनावी गतिविधि र नेता–कार्यकर्ताको उपस्थिति बाक्लो छ । पार्टीका शीर्ष नेता, केन्द्र, प्रदेश र जिल्ला कमिटीका नेता तथा स्थानीय कार्यकर्ता उपनिर्वाचन हुने क्षेत्रमा केन्द्रित छन् । मुख्य गरी प्रतिस्पर्धी ठूला राजनीतिक दलका नेता कार्यकर्ताको उपस्थिति र गतिविधि बाक्लिएको छ । 

आफ्नो प्रभाव देखाउन दलहरूले शक्ति प्रदर्शन, घरदैलो, टोल–टोलमा चुनावी सभा र प्रचारप्रसार तथा चुनाव परिचालन समिति बनाइरहेका छन् । उपत्यकाभित्रैको निर्वाचन क्षेत्रमा चुनाव हुने भएकाले केन्द्रीय नेताहरू नै मतदाता रिझाउन गाउँ–गाउँ पुगेका छन् । ठूला राजनीतिक दलबीच शक्ति प्रदर्शनको प्रतिस्पर्धा नै चलिरहेको छ । यो क्षेत्रमा सत्तारुढ नेकपा, नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुँदै छ । 

नेकपाका उम्मेदवार देवीप्रसाद ढकालको मनोनयन दर्तापछि आयोजित सभामा नेता वामदेव गौतमले ढकाललाई जिताए पार्टीले प्रदेश सरकारको मन्त्री बनाउने आश्वासन दिए । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल शुक्रबार सरस्वती खेल पुगे । ढकाललाई जिताउन भन्दै उनले स्थानीयका घरदैलोमै पुगेर भोट मागे । टोल–टोलमा चुनावी सभा गरिरहेका उम्मेदवार ढकालसँगै नेकपाका केन्द्रीय सदस्य महेश बस्नेत, दिलीप प्रजापति र सोमप्रसाद मिश्र खटिएका छन् । 

कांग्रेसका उम्मेदवार कृष्णलाल भडेलले पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र अन्य केन्द्रीय सदस्यसहितको उपस्थितिमा उम्मेदवारी दर्ता गराए । मतदाताको घरदैलो चहार्दै डुलिरहेका भडेललाई जिताउन नेता एनपी साउद, रामहरि खतिवडा, मोहनबहादुर बस्नेतलगायत भक्तपुर पुगेर चुनावी सभालाई सम्बोधन गरेका छन् । 

नेमकिपाले पनि पार्टीको चुनावी प्रचारलाई तीव्र बनाएको छ । भक्तपुरमै केन्द्रीय कार्यालय रहेको र पार्टी अध्यक्ष नारायणमान बिजुक्छेसमेत यहीँ बस्ने भएकाले सिंगो केन्द्रीय कमिटी नै चुनावमा परिचालित छ । 

उपनिर्वाचनमा पार्टीलाई जिताउन नेकपाले केन्द्रीय सदस्यत्रय बस्नेत, प्रजापति र मिश्रसहितको ११ सदस्यीय हाइकमान्ड बनाएको सञ्चार समन्वय संयोजक सोम शर्मा बजगाईंले जानकारी दिए । कांग्रेसले पनि पार्टीको जिल्ला कार्यसमिति, भ्रातृसंस्थाहरू र विद्यार्थी संगठनलाई चुनावमा परिचालन गरेको छ । तरुणहरूलाई परिचालन गर्न तरुण दलका केन्द्रीय महासचिव भूपेन्द्रजंग शाहीले भक्तपुर पुगेर निर्देशन दिएका छन् । 

आफ्ना उम्मेदवारलाई जिताउन नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा, सहसंयोजक रमेश पौडेल, अनेरास्ववियु नेता ऐन महर र रञ्जित तामाङलगायत नेता भक्तपुर पुगेर युवा र विद्यार्थीलाई परिचालित गरेका छन् । नेकपाले शुक्रबारबाट घरदैलो अभियान सुरु गर्ने जनाएको छ । ‘अहिलेसम्म सबै वडामा चुनाव परिचालन समिति बनाइयो, पार्टी एकतापछि संगठन नभएकाले एकीकृत चुनाव परिचालन कमिटीहरू बने, अब घरदैलो र चुनावी सभाका कार्यक्रम हुँदै छन्,’ सञ्चार समन्वय संयोजक बजगाईंले भने । 

संघीय संरचनामा जाँदै गरेको र चुनाव हारेर फुर्सदिलो बनेको कांग्रेस पहिलेको हारको बदला लिन गाउँ पसेको छ । उम्मेदवार भडेलसहित जिल्ला सभापति दुर्लभ थापा, पदाधिकारी र नेताहरू गाउँ–गाउँ पुगेर घरदैलो गरिरहेको निर्वाचन परिचालन समितिका संयोजक उद्धव खड्काले जानकारी दिए । कांग्रेसले दुवाकोट, सरस्वतीखेल, झौखेल, चाँगु र छालिङमा घरदैलो सकेको छ । 

एक प्रदेश सभा सदस्य पदका लागि भक्तपुर १ को क प्रदेश सभा निर्वाचन क्षेत्रमा १९ जनाको उम्मेदवारी छ । त्यसमध्ये १० जना स्वतन्त्र उम्मेदवार छन् । नेपाली कांग्रेस (बिपी)बाट मधुसुदन न्यौपाने, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मिङमार लामा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्यामप्रसाद नेपाल, समाजवादी पार्टीबाट सुदर्शन कुमार, नेकपा मालेबाट सुदर्शन लामिछाने र साझा पार्टीबाट सुरज प्रधानले उम्मेदवारी दिएका छन् । 

स्वतन्त्र उम्मेदवारमा अर्जुन कोजू, राकेश सुवाल, उत्तम साखकर्मी, कृष्णप्रसाद ह्योगो, कृष्णराम पोतामाहा, जीवनचन्द्र अधिकारी, जीवन नेपाली, संगीता पौडेल, सुजाता देउजा र सुमना कार्कीले उम्मेदवारी दिएका छन् । 

गत निर्वाचनभन्दा यसपटक एक हजार चार सय ८४ मतदाता थपिएका छन् । यो प्रदेश निर्वाचन क्षेत्रमा चाँगुनारायण नगरपालिकाका ९ वटै वडा र भक्तपुर नगरपालिकाको वडा नम्बर १० पर्छ । यसपटक ४५ हजार १५ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले बताए । उपनिर्वाचनका लागि २२ मतदानस्थलमा ५४ मतदान केन्द्र निर्धारण गरिएको छ । 

अघिल्लो निर्वाचनमा नेकपाका हरिशरण लामिछाने १२ हजार ७ सय ७९ मतसहित निर्वाचित भएका थिए । कांग्रेसका जीवन खत्रीले ९ हजार ९ सय ७७, नेपाल मजदुर किसान पार्टीका निरज लवजूले ७ हजार ११ मत र नेकपा माओवादी केन्द्रका देवीप्रसाद ढकालले ७ सय ८४ मत पाएका थिए । राप्रपाका मुकुन्द कार्कीले ४ सय ८५, विवेकशीलका कालीचरण कार्कीले ७ सय ८३ र नयाँ शक्तिका सानुप्रसाद वनले ७८ मत पाएका थिए ।