२०७६ मङ्सिर १ आइतबार ०६:५६:००
सुवास भट्ट काठमाडाैं

ब्रुमर खरिदमा अख्तियारको छानबिन

अख्तियारका प्रवक्त प्रदीप कोइराला भन्छन् - ब्रुमर खरिदको विषयमा उजुरी परेपछि प्रारम्भिक अनुसन्धान सुरु भएको छ । यसभन्दा बढी थाहा भएन ।

काठमाडौं महानगरपालिकाले ब्रुमर खरिद गर्दा भ्रष्टाचार भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । ब्रुमर  खरिद सम्बन्धमा उजुरी परेपछि आयोगले प्रारम्भिक अनुसन्धान सुरु गरेको हो । आयोगले महानगरपालिकासँग ब्रुमर  खरिदसम्बन्धी कागजातसमेत माग गरेको छ । गत २४ कात्तिकमा अख्तियारले महानगरपालिकालाई पत्रसमेत काटेको छ । ‘ब्रुमर  खरिदका विषयमा उजुरी परेपछि प्रारम्भिक अनुसन्धान सुरु भएको छ,’ अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने, ‘यसभन्दा बढी थाहा भएन ।’

स्थानीय तहको निर्वाचनताका महानगरका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंलाई धुलोधुवाँमुक्त सहर बनाउने घोषणा गरेका थिए । त्यही चुनावी प्रतिबद्धता पूरा गर्न र सडकमा बढ्दो धुलो नियन्त्रण गर्न महानगरले ब्रुमर खरिद गरेको थियो । महानगरले २६ फागुन ०७४ मा गोरखापत्रमा सूचना प्रकाशित गरी पाँच थान ब्रुमर  खरिदका लागि ‘आइसिबी मेथड’बाट बोलपत्र आह्वान गरेको थियो । विशेष परिस्थितिमा खरिद गर्नुपर्ने निर्णय गरी महानगरले २५ दिनको सूचना अवधि तोक्दै अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान गरेको थियो । 

यसअघि ०७४ को २६ असार र १३ कात्तिकमा राष्ट्रियस्तरको बोलपत्र सूचना जारी गरिएको थियो । तर, बोलपत्रको सूचनामा ‘ओभर बिडिङ’ भएको र बोलपत्र पनि नियमसंगत नभएका कारण कुनै पनि बोलपत्रदाता छनोट हुन नसकेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय बोलपत्र आह्वान भएको थियो । प्रतिथान करिब दुई करोड २५ लाखका दरले पाँच थानका लागि ११ करोड २३ लाख ६९ हजार रुपैयाँ तथा तीन वर्षको सञ्चालनमा पाँचजना चालक खर्च ८७ लाख ४४ हजार रुपैयाँसहित १२ करोड ११ लाख रुपैयाँको लागत अनुमान स्वीकृत भएको थियो । ब्रुमर खरिदका लागि सातवटा कम्पनीले टेन्डर हालेकामा प्राविधिक परीक्षणमा चारवटा मात्र उत्तीर्ण भएका थिए । त्यसमध्ये ‘वर्ल्डवाइड ट्रेडिङ प्रालि’ ब्रुमर खरिदका लागि छनोट भएको थियो । सो कम्पनीले १० करोड ८९ लाख २४ हजार रुपैयाँको बोलपत्र पेस गरेको थियो । सम्पूर्ण प्रक्रिया टुंग्याएर ०७५ चैतमा इटालीबाट ब्रुमर काठमाडौं भित्रियो । 

महानगरपालिकाका अनुसार पाँच थान ब्रुमरको इटालीमा परेको मूल्य सात लाख ६२ हजार चार सय ७० युरो थियो । यसबाहेक स्पेयर पार्टस्को भन्सार शुल्क २६ लाख १६ हजार आठ सय ६१ रुपैयाँ र कोलकातादेखि काठमाडौंसम्मको ढुवानी खर्च ३० लाख रुपैयाँ लागेको छ । त्यस्तै, आयात गर्दा पाँचवटा ब्रुमरको वीरगन्ज भन्सारमा भन्सार शुल्कबापत दुई करोड १५ लाख १७ हजार ४३६ रुपैयाँ तिरिएको महानगरले जनाएको छ । महानगरका अनुसार ती ब्रुमर युरो ४ एमिसन स्ट्यान्डर्डका डुलेभो ६००० मोडेलका हुन् । ती ब्रुमरको इन्जिन क्षमता १०७ किलोवाट छ ।

अगाडि एउटा छेउमा दुईवटा र बीचमा एउटा ब्रस भएको ब्रुमरमा पाँच सय लिटरको पानीट्यांकी र ४.६८ घनमिटरको धुलो भण्डारण क्षमता रहेको महानगरले जनाएको छ । यसको अधिकतम सफाइ क्षमता २५ हजार वर्गमिटर (०.०२५ वर्गकिलोमिटर) प्रतिघन्टा हो । ब्रसले न्यूनतम २६ सय मिलिमिटर र अधिकतम ३६ सय मिलिमिटर चौडाइमा सफाइ गर्न सक्छ भने सफाइका क्रममा यसको अधिकतम गति १० किलोमिटर प्रतिघन्टासम्म रहेको छ ।

महानगरको ‘विशेष परिस्थिति’मा सार्वजनिक खरिद अनुगमनको प्रश्न
विशेष परिस्थिति भन्दै महानगरपालिकाले अघि बढाएको खरिद प्रक्रियामा सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रश्न उठाएको छ । यससम्बन्धमा सार्वजनिक खरिद कार्यालयले भनेको छ, ‘ब्रुमर खरिद प्रक्रिया सुरु गर्नुअघि ऐनको व्यवस्थाअनुसार विशेष परिस्थिति सिर्जना भएको देखिँदैन । साथै, तत्काल खरिद नगर्दा महानगरपालिकालाई कुनै थप हानि–नोक्सानी हुने अवस्थासमेत देखिँदैन ।’ सार्वजनिक खरिद ऐनअनुसार विशेष परिस्थिति भनेको सुक्खा, अनावृष्टि, अतिवृष्टि, भूकम्प, बाढीपहिरो, आगलागीजस्ता प्राकृतिक वा दैवीप्रकोप तथा महामारी, युद्ध वा आन्तरिक द्वन्द्वजस्ता परिस्थिति हो । विशेष परिस्थिति उत्पन्न भई तत्काल खरिद नगर्दा सार्वजनिक निकायलाई थप हानि–नोक्सानी हुने अवस्थामा मात्र विशेष परिस्थितिमा खरिद गर्न सक्ने व्यवस्था ऐनमा छ ।

घटेन सडकको धुलो
महानगरले इटालीबाट खरिद गरेको पाँच ब्रुमरसँगै चीनको छेन्दु नगरले दिएका थप दुई ब्रुमरले अहिले काठमाडौंका सडक सफाइ भइरहेको छ । तर, धुलो कम हुन सकेको छैन । इटालियन ब्रुमर सञ्चालन सुरु गर्दा काठमाडौंको ८० प्रतिशत धुलो कम हुने दाबी महानगरको थियो । तर, धुलोमा कमी आए पनि दाबी गरेको अनुपातमा सडक सफा हुन नसकेको महानगरले स्वीकार गरेको छ । काठमाडौंमा धुलो घट्न नसक्नुको कारण कच्ची सडक र भइरहेको निर्माण कारक भएको महानगरपालिकाले जनाएको छ । ‘भूकम्पपछिको पुनर्निर्माण र आसपासका नगरबाट आउने सवारीले ल्याउने धुलो र कच्ची सडकका कारण धुलोको समस्या कम हुन नसकेको हो,’ प्रवक्ता ईश्वरमान डंगोलले भने, ‘मेलम्ची खानेपानी आयोजनाले सडक खनेका कारण पनि धुलो कम हुन सकेन । तर, पनि हामी ब्रुमरमार्फत सडक सफा गरेर धुलो कम गर्न प्रयासरत छौँ ।’ काठमाडौंको ८० प्रतिशत धुलो कम गर्न १० वटा ब्रुमर निरन्तर सञ्चालन हुनुपर्ने डंगोल बताउँछन् । महानगरको गत २६ वैशाखमा बसेको ३२औँ कार्यपालिका बैठकले थप दुई ब्रुमर किन्ने निर्णय गरेको थियो । महानगरले इटालियन कम्पनीसँगै ब्रुमर खरिद गर्न प्रक्रिया अघि बढाएको छ ।

स्मार्ट पार्किङमा पनि अनुसन्धान चल्दै
ब्रुमरसँगै महानगरले सञ्चालन गरेको स्मार्ट पार्किङका सम्बन्धमा पनि अख्तियारमा उजुरी परेको छ । यस विषयमा पनि महानगरसँग जवाफ माग गरिएको अख्तियार स्रोतले जानकारी दियो । न्युरोड क्षेत्रमा सुरु भएको स्मार्ट पार्किङ पाँच महिनामै अस्तव्यस्त हुन थालेको छ । पार्किङ शुल्कबापत उठेको २० प्रतिशत आफूले पाउने गरी ‘ह्विल्स ट्रली योर्स’लाई महानगरले स्थान उपलब्ध गराएको थियो ।

स्मार्ट पार्किङ निर्माण गर्दा उच्च प्रविधिको प्रयोग गरी सिसिटिभी, सवारी पार्किङको अवस्था स्मार्ट बोर्डमा हेर्न सकिने, सवारीसाधन तोकिएको संख्यामा मात्र पार्किङ गर्न सकिने र सवारी पार्किङका लागि पहेँलो घेरा कोरिनुपर्नेलगायत सम्झौता महानगर र कम्पनीबीचमा भएको थियो । तर, अहिले ‘क्युआर कोड’को माध्यमबाट बिलिङ गर्ने प्रणाली मात्रै छ । अरू व्यवस्था भने भद्रगोल अवस्थामा छन् । पार्किङबारे जानकारी दिन ठाउँ–ठाउँमा राखिएका डिजिटल बोर्डले समेत काम गर्न छाडिसकेका छन् । महानगरले ३२ जेठमा न्युरोड क्षेत्रमा स्मार्ट पार्किङ सुरु गरेको थियो । ०७५ फागुनमा कम्पनीसँग स्मार्ट पार्किङ सञ्चालनका लागि कम्पनीसँग सम्झौता भएको थियो । सोहीअनुसार काम अघि बढेको थियो । न्युरोड क्षेत्रका रामेश्वरम, विशालबजार, खिचापोखरी, धर्मपथ र पाकोमा स्मार्ट पार्किङ सिस्टम लागू गरिएको छ । जहाँ आठ सय बाइक र ६० वटा गाडी पार्किङ गर्ने क्षमता छ ।