चारदिने नेपाल भ्रमणमा आएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : अमुल थापा
२०७६ कार्तिक २७ बुधबार ०६:१९:००
नयाँ पत्रिका

बंगलादेशका राष्ट्रपति हमिद काठमाडौंमा : आज उच्चस्तरीय वार्ता

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद सद्भावना भ्रमणमा क्रममा मंगलबार काठमाडौं आइपुगेका छन् । हमिदलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षमा स्वागत गरेकी छिन् । हमिद–भण्डारी द्विपक्षीय भेटवार्ता बुधबार शीतल निवासमा हुँदै छ । 

औपचारिक सद्भावना भ्रमणमा आएका राष्ट्रपति हमिदलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेनन् । सोमबार साँझसम्म उपराष्ट्रपति पुनले राष्ट्रपति हमिदलाई स्वागत गर्ने कार्यक्रम तय भएको थियो । तर, मंगलबार राष्ट्रपति भण्डारी आफैँ गएकी थिइन् ।

यसअघि राष्ट्रपति भण्डारीले स्वागत गर्ने अवस्थामा प्रधानमन्त्री, मन्त्रिपरिषद्का सबै सदस्य विमानस्थल जाने गरेका थिए । ‘स्वास्थ्य अवस्था र राजनीतिक व्यस्तताका कारण प्रधानमन्त्री ओली नजानुभएको हो,’ बालुवाटार स्रोतले भन्यो । राष्ट्रपति हमिद आउँदा केही समय त्रिभुवन विमानस्थल खाली गराइएको थियो भने काठमाडौंका सडकमा यातायात अवरुद्ध थियो । 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार साँझ राष्ट्रपति हमिदसँग शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार बुधबार उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवाले हमिदसँग शिष्टाचार वार्ता गर्ने तय भएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पनि राष्ट्रपति हमिदसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । 

 बिहीबार पोखरा जाने
राष्ट्रपति हमिद बिहीबार पोखरा भ्रमणमा जाने कार्यक्रम छ । उनले फेवातालमा बोटिङ गर्ने तथा रूपाकोटबाट हिमालको अवलोकन गर्ने तय भएको छ । बिहीबारै काठमाडौं फर्केर शुक्रबार बिहान चन्द्रागिरी भ्रमण गर्ने र स्वदेश फर्किने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

नेपाल र बंगलादेशबीच १९७२ अप्रिल ८ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । सन् १९७१ मा पाकिस्तानबाट अलग भएर स्वतन्त्र मुलुक बनेको बंगलादेशलाई समर्थन गर्ने नेपाल सातौँ मुलुक हो । बंगलादेशको स्वतन्त्रता आन्दोलनमा तत्कालीन नेपाली कांग्रेसले हतियारसहित सहयोग गरेको थियो ।

बंगलादेशले पूर्वी नेपालबाट करिब ३० किलोमिटर पूर्व रहेको उसको चिटगाउँ र मंग्ला बन्दरगाह प्रयोगमा ल्याउन दिएको छ । सन् १९९७ देखि काँकडभिट्टा, फूलबारी बंगलाबन्द मार्ग सञ्चालनमा छ ।

बंगलादेश फर्किएर भक्तपुुरको चर्चा गर्छु :  हमिद
बंगलादेशका राष्ट्रपति हमिदले भक्तपुरका सांस्कृतिक सम्पदाको अवलोकन गरेका छन् । काठमाडौं आएलगत्तै उनले भक्तपुर दरबार स्क्वायर र तौमढी दरबार स्क्वायरको भ्रमण गरे । भ्रमणको क्रममा हर्षित हुँदै उनले भने, ‘म यहाँको संस्कृति प्रेमबाट प्रभावित भएँ, अब बंगलादेश फर्किएर भक्तपुुरको चर्चा गर्छु ।’ 

हमिदले बंगलादेशबाट आउने पर्यटकको संख्याबारे चासो राखेका थिए । भ्रमणका क्रममा हमिदको सहयोगी बनेका भक्तपुर नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर सुवालले नयाँ पत्रिकासँग भने, ‘उहाँले यहाँका सम्पदाबारे रुचिपूर्वक अवलोकन गर्नुभयो, हाम्रा ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक  सम्पदा एवं तिनको संरक्षणबारे चासो दिएर जानकारी लिनुभयो ।’ हमिदले भक्तपुरका राष्ट्रिय कला संग्रहालय, स्वर्ण ढोका, ५५ झ्याले दरबार, सिद्धिलक्ष्मी मन्दिर, यक्षेश्वर महादेव मन्दिर, बहताल हुँदै टौमढी क्षेत्रको पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको स्थलगत अवलोकन गरे । 

 ‘मयुरको झ्याल ’ उपहार
भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले हमिदलाई स्थानीय हस्तकलाका रूपमा चर्चित ‘मयुरको झ्याल’ उपहार दिएका छन् । नगरपालिकाले राष्ट्रपति हमिदको स्वागतमा माक प्याखँ र देवी प्याखँ (चर्चित स्थानीय सांस्कृतिक नृत्य) प्रस्तुत गरेको थियो । हमिदले विभिन्न झाँकी रुचिपूर्वक हेरेपछि देवी प्याखँमा भएको शेरसिंह बंगलादेशको एक प्रचलित नाचसँग मिलेको प्रतिक्रिया दिएका थिए ।