बिमाको पहुँच बढ्दै गएको छ

२०७५ पौष २७ शुक्रबार ०९:२७:००

बिमा समितिको नयाँ तथ्यांकअनुसार नेपालमा बिमाको पहुँच १४ प्रतिशतमा पुगेको छ । दुई वर्षअघिसम्म बिमाको पहुँच मुस्किलले ७ प्रतिशत थियो । नयाँ कम्पनीहरू सञ्चालनमा आएसँगै बिमाको पहुँच पनि बढेको छ । तर, कम्पनीहरू सहरमा मात्रै केन्द्रित भएको बिमा समितिको आरोप छ । कम्पनीहरूलाई ग्रामीण क्षेत्रसम्म पठाउन समितिले स्थानीय तहसँग छलफल तथा अन्तक्र्रियालाई पनि व्यापक बनाएको छ । नेपालमा बिमाको पहुँच कसरी बढाउन सकिन्छ र अभिकर्तालाई कसरी व्यावसायिक बनाउन सकिन्छ भन्ने विषयमा महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थीको दृष्टिकोण :

बिमाको पहुँच बढेको छ
नयाँ कम्पनीहरू सञ्चालनमा आएसँगै नेपालमा बिमाको पहुँच बढेको छ । यो स्वाभाविक पनि हो । एकातिर कम्पनीहरूले आफ्नो व्यवसाय विस्तारका लागि प्रचार–प्रसार गरिरहेका छन् । थपिएका कम्पनीहरूले व्यापार बढाउँदा पहुँच बढ्ने नै भयो । अर्कोतिर पुराना कम्पनीहरू पनि आक्रामक रूपमा अघि बढेका छन् । पुरानै ढर्राबाट चलेर पनि त भएन । त्यसैले पुराना कम्पनीहरूले केही नयाँ काम गर्न चाहेका छन् । बजारमा चहल–पहल बढेको छ । सरकारले कतिपय बिमालाई अनिवार्य गरेकाले पनि आममानिसमा बिमासम्बन्धी चेतना बढ्न थालेको छ । एकपटक विदेश गएर आएको मानिस बिमाप्रति धेरै सचेत भएको देखिन्छ । एकातिर कम्पनीहरूको संख्या बढ्नु र अर्कोतिर मानिसहरूमा चेतनाको विकास हुनुले पनि नेपालमा बिमाको पहुँच बढ्न पुगेको हो । यो क्रम प्रत्येक वर्ष बढ्दै जाने देखिन्छ ।

वैदेशिक रोजगार बिमामा कडाइ आवश्यक

वैदेशिक रोजगार म्यादी जीवन बिमामा अनियमितता भेटिने गरेको छ । वैदेशिक रोजगार म्यादी जीवन बिमाको नक्कली पोलिसी जारी भएको कुरा हामी सबैलाई थाहा छ । यसलाई नियन्त्रण गर्न कम्पनीहरू मात्रै सजग भएर पनि हुँदैन । वैदेशिक रोजगार विभागले पनि कडाइ गर्नुपर्छ । कम्पनीहरूले जारी गरेको पोलिसी विभागको सिस्टममा अनिवार्य रूपमा इन्ट्री गरेको हुनुपर्ने व्यवस्था गर्नुपर्छ । त्यसैका आधारमा विमानस्थलमा भिसा र बिमा पोलिसी नम्बर भेरिफाई गराउने हो भने नक्कली हो कि सक्कली पोलिसी हो भनेर थाहा पाउन सकिन्छ । त्यस्तै बिमा कम्पनीहरूले वैदेशिक रोजगार बिमालाई पुलबाट जारी गर्न बिमा समितिलाई सुझाब दिएका छन् । यसरी पुलबाट जारी गर्ने हो भने पनि केही हदसम्म नक्कली पोलिसीको समस्या समाधान हुन सक्छ । पुलबाट जारी गर्दा व्यवस्थापनमा कडाइ हुन्छ । बिचौलियौले चलखेल गर्ने सम्भावना कम हुन्छ । 

व्यावसायिक हुँदै  छन् अभिकर्ताहरू
पछिल्लो समय अभिकर्ताहरू व्यावसायिक हुन खोजिरहेका छन् । वर्षौँदेखि यसैलाई मुख्य पेसाका रूपमा अँगाल्दै आएका अभिकर्ताहरू व्यावसायिक रूपमा नै लागेका छन् । तर, अभिकर्ताहरूको मुख्य समस्या भनेको यसैमा पूर्ण रूपमा लाग्न नसक्नु हो । अझै पनि अधिकांश अभिकर्ताले यसलाई सहायक पेसाका रूपमा मात्र अँगालेका छन् । कतिपय अभिकर्ता यसैबाट जीविकोपार्जन हुँदैन भनेर पनि पूर्ण रूपमा नलागेको हुन सक्छ । त्यसैले सबैभन्दा पहिला त अभिकर्तालाई यस पेसाप्रति ढुक्क बनाउनुपर्छ । यो पेसामा लागेर उनीहरूले जीविकोपार्जन गर्न सक्छन् भन्ने महसुस गराउनुपर्छ । यसका लागि उनीहरूलाई आवश्यक थप सेवासुविधा पनि दिनुपर्छ । ता कि उनीहरू पूर्ण रूपमा यस पेसामा
लाग्न सकून् ।

कम्पनीअनुसार अभिकर्ता संरचना
बिमा ऐनअनुसार बिमा योजना बिक्री गरेबापत कम्पनीहरूले निश्चित रकम अभिकर्ताहरूलाई कमिसन दिन सक्ने व्यवस्था छ । अभिकर्ताहरूको व्यवस्थापनका लागि केही कम्पनीहरूले कर्मचारीलाई नै जिम्मेवारी दिएका छन् । तर, अधिकांश कम्पनीहरूले अभिकर्ताहरूमा विभिन्न तह सिर्जना गरेका छन् । जस्तै, भर्खरै अभिकर्ताको लाइसेन्स लिएको व्यक्ति अभिकर्ता हुन्छ । जब उसले अन्य अभिकर्ता पनि रेफर गर्न सक्छ, तब उसलाई जिम्मेवारी र पद पनि दिइन्छ । साथमा थप सुविधा पनि । केही कम्पनीमा पाँच तहसम्म सिर्जना गरिएका छन् । सोही तहअनुसार कम्पनीहरूले व्यवस्थापन खर्चको सीमाभित्र रहेर अभिकर्ताहरूलाई थप सुविधा र पारिश्रमिक दिँदै आएका छन् ।

अभिकर्ता व्यवस्थापनको जिम्मा अभिकर्ता नै

वास्तवमा कम्पनीहरूको अभिकर्ता संरचनामा सिर्जना गएका विभिन्न तह र पदको काम भनेको अभिकर्ताको व्यवस्थापन गर्नु हो । एउटै कम्पनीमा हजारौँ अभिकर्ता हुन्छन् । उनीहरूलाई त कम्पनीले जसरी पनि व्यवस्थापन गर्नुपर्छ या त कर्मचारी नियुक्त गरेर व्यवस्थापन गर्नुपर्छ । अर्को विकल्प भनेको अभिकर्ताको तह सिर्जना गरेर व्यवस्थापन गर्ने हो । कर्मचारी नियुक्त गरे पनि कम्पनीले तलब दिनैपर्छ । अभिकर्तालाई नै कुनै पद दिएर व्यवस्थापनको जिम्मेवारी तथा सुविधा दिएपछि उसले गर्ने काम पनि अन्य अभिकर्ताको व्यवस्थापन नै हो । त्यसैले अभिकर्ताभित्र सिर्जना गरिएको विभिन्न तहहरूका कारण कम्पनीमा आर्थिक भार पर्छ भन्नुमा म तुक देख्दिनँ ।

बैंकासुरेन्स र संस्थागत अभिकर्तामा फरक छ
बिमा कम्पनी र बैंकबीच अहिले हुँदै आएको सम्झौता भनेको संस्थागत अभिकर्ताको सम्झौता हो । बैंकहरूले संस्थागत अभिकर्ताको लाइसेन्स लिएर काम गरेका छन् । तर, बजारमा प्रचार–प्रसारका लागि पनि यसलाई बैंकासुरेन्स भनिएको हो । वास्तवमा बैंकासुरेन्स र संस्थागत अभिकर्ताको परिभाषा फरक छ । केही बैंकले भने कता–कता बैंकासुरेन्सको अभ्यासगरेको पाइन्छ । बैंकासुरेन्सप्रति अभिकर्ताको पनि उत्तिकै गुनासो छ । यो स्वाभाविक पनि हो, किनभने बैंकले र अभिकर्ताले बिक्री गर्ने प्रडक्ट एउटै छ । त्यसैले पनि अभिकर्ताहरू आन्दोलित बनेका हुन् । तसर्थ, बैंकले बिक्री गर्ने प्रडक्ट र अभिकर्ताले बिक्री गर्ने प्रडक्टमा  भिन्नता हुनुपर्छ ।

नयाँ प्रडक्ट ल्याएका छन्

केही समयअगाडि हामीले भारतीय बिमा योजनालाई नै कपी गर्दै आएका थियौँ । तर, अहिले कम्पनीहरूले केही हदसम्म भए पनि नयाँ योजनाहरू ल्याउन थालेका छन् । विशेष गरी घातक रोगका विषयमा धेरै कम्पनीले नयाँ योजना ल्याएका छन् । हामी पनि केही नयाँ प्रडक्ट लिएर आउँदै छौँ । यसका लागि हामीले अध्ययन, अनुसन्धान गरिरहेका छौँ । नेपाली समाजमा हुने जोखिम र सोहीअनुसार प्रडक्ट ल्याउने हाम्रो योजना हो ।

 

 

प्रतिकृया दिनुहोस