‘उत्तर कोरिया तत्काल निःशस्त्र हुनुपर्छ’

२०७५ पौष २७ शुक्रबार ०९:००:०० | सिउल

दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले उत्तर कोरियाले आणविक निःशस्त्रीकरणका विषयमा ठोस कदम चाल्नुपर्ने बताएका छन् । राष्ट्रपतिको कार्यालय ब्लुहाउसमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मुनले विश्व समुदायले उत्तर कोरियाली आणविक निःशस्त्रीकरणलाई जतिसक्दो चाँडो कार्यान्वयनमा आएको हेर्न चाहेको बताए ।

 निःशस्त्रीकरण भए प्रतिबन्ध हट्छ
उत्तर कोरियाले व्यावहारिक ढंगले जति सक्दो चाँडो आफूलाई निःशस्त्र गर्नुपर्नेमा मुनले जोड दिए । उत्तर पूर्ण रूपमा निःशस्त्र भए उसमाथि लाग्दै आएको प्रतिबन्ध हट्ने उनले दाबी गरे । ‘उत्तर कोरियाको आणविक निःशस्त्रीकरण प्रक्रियामा जति चाँडो काम हुन सक्यो, उति चाँडो अन्तर्राष्ट्रिय प्रतिबन्धहरू फुकुवा हुनेछन्,’ उनले भने । अमेरिका र उत्तर कोरियाबीच कसले पहिले के गर्ने भन्नेमा विवाद रहेकै वेला राष्ट्रपति मुनको विचार सार्वजनिक भएको हो ।

अमेरिकाले उत्तर पहिले आणविक रूपमा निःशस्त्र हुनुपर्ने सर्त राखेको छ भने उत्तर कोरियाले अमेरिकासँग भएको सम्झौताबमोजिम आणविक निःशस्त्रीकरणका धेरै कार्य भइसकेकाले पहिले प्रतिबन्धहरू फुकुवा हुनुपर्ने अडान राख्दै आएको छ । यिनै विवादलाई लिएर कहिलेकाहीँ दुवै मुलुकबाट एक–अर्काप्रति आरोप–प्रत्यारोप चल्ने गरेको छ । राष्ट्रपति मुनले अमेरिका र उत्तर कोरियाबीचको मतभिन्नताले अविश्वास र शत्रुता बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउन उत्तरले आणविक निःशस्त्रीकरणको पहल गर्नुपर्ने र अमेरिकाले पनि उत्तर कोरियाको आणविक निःशस्त्रीकरणलाई प्रोत्साहित गर्नुपर्ने उनले बताए । राष्ट्रपति मुनले अमेरिका र उत्तर कोरियाबीचको मतभिन्नताले अविश्वास र शत्रुता बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । 

 दोस्रो शिखर सम्मेलनको संकेत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सन् २०१८ को जुन महिनामा सिंगापुरमा पहिलो ऐतिहासिक शिखर बैठक भएको थियो । राष्ट्रपति मुनले दोस्रो शिखर बैठक पनि चाँडै हुने विश्वास व्यक्त गरे । उत्तर कोरियाली नेता किमको यसै साता सम्पन्न चीन भ्रमण शिखर सम्मेलनप्रति लक्षित भएको उनले बताए । ‘अध्यक्ष किमको चीन भ्रमणले दोस्रो उत्तर कोरिया–अमेरिकी बैठक अब टाढा छैन भन्ने संकेत गरेको छ । चीनले अन्तर–कोरियाली संवादमा विगतमा झैँ सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास छ,’ राष्ट्रपति मुनले थपे ।

 


 

प्रतिकृया दिनुहोस