आर्थिक वृद्धितिर

२०७५ पौष २७ शुक्रबार ०७:३५:०० | काठमाडाैं

लामो समयको जडता र स्थिरतापछि नेपालको अर्थतन्त्र गतिशील हुन थालेको विश्वबैंकको पछिल्लो प्रक्षेपणले देखाएको छ । विश्वबैंकको प्रक्षेपण, एसियाली विकास बैंकलगायत वित्तीय संस्थाले गरेका अनुमान तथा अर्थतन्त्रमा आउँदै गरेका सकारात्मक सूचकलाई आधार बनाउने हो भने नेपालले अब दक्षिण एसियाका छिमेकी देशमा पछिल्ला वर्षमा आएको वृद्धिको लयमा लय मिलाउने विश्वास गर्न सकिन्छ । पछिल्ला वर्षमा दक्षिण एसियाका माल्दिभ्स, बंगलादेश, भुटान र भारत आर्थिक विकासका दृष्टिले विश्वकै ताता क्षेत्र बन्दै गएका छन् ।

एक समय पूर्वी तथा दक्षिणपूर्वी एसियामा देखिएको तीव्र आर्थिक विकासको गति समात्नका लागि यी देशमा पूर्वाधार तयार भएका छन् । भारतले केही वर्षदेखि सात प्रतिशत वरपरको वृद्धिदर हासिल गरिरहेको छ । बंगलादेशले लगातार आठ वर्ष उच्च आर्थिक वृद्धिको लय समातेको छ । माल्दिभ्स सानो अर्थतन्त्र भए पनि तीव्र विकासको चरणमा छ । यो अवश्य पनि यी देशले आर्थिक वृद्धिको टेकअफ स्टेजमा प्रवेश गर्न लागेको संकेत हो । ०३० को दशकदेखि थला परेको नेपालको आर्थिक विकासको दरले यतिवेला आएर लय समात्न थालेको हो ।

बीचबीचमा केही वर्ष कृषि उपजमा आउने सकारात्मक प्रतिफलका कारण उच्च आर्थिक वृद्धिदर देखिएको भए पनि त्यो टिकाउ खालको थिएन । अब भने कृषिभन्दा गैरकृषि क्षेत्र, त्यसमा पनि सेवा क्षेत्रको योगदानले आर्थिक वृद्धिलाई डोहो-याइरहेकाले यो लगातार बढ्न सक्ने अनुमान गर्न सकिन्छ । यससँगै पछिल्लो राजनीतिक विकासक्रमले राज्यको पुँजीगत खर्च गर्ने क्षमता र प्रतिबद्धता बढ्दै जाँदा त्यसका सकारात्मक प्रभाव अर्थतन्त्रमा देखिँदै छन् । पछिल्ला दुई वर्षयता विद्युत् आपूर्तिमा आएको स्थिरता र लोडसेडिङ अन्त्यले पनि आर्थिक गतिविधिलाई सकारात्मक योगदान दिएको छ । सन् १९९० यता बजारको भूमिकालाई बढाउन बनाइएका नीतिगत तथा कानुनी व्यवस्थाले परिणाम दिने समय पनि आएको छ ।

पछिल्लो राजनीतिक विकासक्रमले समेत राज्यको पुँजीगत खर्च गर्ने क्षमता र प्रतिबद्धता बढ्दै जाँदा त्यसका सकारात्मक प्रभाव अर्थतन्त्रमा देखिँदै छन्

यता आर्थिक विकासका लागि अनिवार्य मानिने शिक्षा क्षेत्रको विकास र शिक्षित जनशक्तिको उत्पादनले एउटा व्यवस्थापकीय क्षमता भएको र केही गरौँ भन्ने इच्छाशक्ति भएको जनशक्ति उत्पादन भएको छ । स्वास्थ्य क्षेत्रको लगानी, सुस्त र आवश्यकताभन्दा कम देखिए पनि जनताको स्वास्थ्यसम्बन्धी सूचकमा सकारात्मक प्रभाव देखिएकै छन् । विभिन्नस्तरको प्राविधिक जनशक्तिको देशभित्र उत्पादन बढेको छ भने बाहिर गएर काम गरेको अनुभवले देशभित्र सानो–ठूलो लगानी गरेर रोजगारी सिर्जना गर्नेहरूको संख्या पनि बढेको छ ।

सडक, विद्युत्, दूरसञ्चारजस्ता पूर्वाधारको विस्तारले पनि देशभित्रका विभिन्न क्षेत्रका बीचको अन्तर सम्पर्क विस्तारलाई सहज बनाएको छ । औद्योगिक तथा सेवाजन्य आर्थिक कार्यकलाप विस्तारका लागि अनिवार्य रूपमा आवश्यक पर्ने पुँजी निर्माण र परिचालनले एक स्तरको उचाइ हासिल गरेको र देशभित्र उत्पादनमूलक क्षेत्रमा लगानीका लागि आवश्यक पर्ने पुँजीको उपलब्धता बढेको सन्दर्भमा आर्थिक गतिविधिको विस्तार स्वाभाविक छ । प्रत्यक्ष वैदेशिक लगानीका लागि आवश्यक कानुनी तथा व्यावहारिक कमजोरी हटाउँदै जाने हो भने मात्रै पनि नेपालले अपेक्षित गतिमा आर्थिक वृद्धि हासिल गर्ने सम्भावना बढेका छन् । यसका लागि राजनीतिक नेतृत्व राज्यका अंगले इच्छाशक्ति देखाए भने आर्थिक वृद्धिको यो लहरबाट नेपाल पछि फर्कनु पर्नेछैन ।

 

 

 

प्रतिकृया दिनुहोस