नेप्सेसँगै कारोबार रकममा पनि सामान्य सुधार

२०७५ पौष २६ बिहीबार १०:४४:००

अघिल्लो दिन करिब स्थिर रहेको नेप्से बुधबार भने सामान्य अंक बढेर बन्द भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार देखिएको छ । आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यले बजार प्रभावित हुन थालेको एक विश्लेषकले बताए । त्रैमासको अन्त्यसँगै केही लगानीकर्ताहरूलाई ब्याजको चटारो परेको हुनाले कम मूल्यमा पनि सेयर बिक्री भइरहेको थियो ।

अहिले सो कार्य सकिइसकेको हुनाले अबका दिन बजार बढ्ने उनको भनाइ छ । प्राविधिक हिसाबमा पनि मंगलबार बनेको इन्भर्टेड ह्यामरले बजार बढ्ने संकेत गर्दछ । ब्याजदर घटेको र पुँजीबजार विस्तारका कार्यहरू पनि भइरहेको हुँदा बजारले अब गति लिने लगानीकर्ताको अपेक्षा रहेको छ । 

आधारभूत विश्लेषण 
बुधबार नेप्से परिसूचक २ दशमलव २९ अंक बढेर १ हजार १ सय ७९ दशमलव ३६ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ४२ अंक बढेर २ सय ५० दशमलव २६ बिन्दुमा पुगेको छ । यस दिन १ सय ६६ कम्पनीको ३ हजार २ सय ५ पटकको कारोबारमा ३४ करोड ७८ लाख ७९ हजार ४ सय ६९ रुपैयाँ बराबरको १५ लाख १३ हजार ९ सय १२ कित्ता सेयर खरिदबिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआईः नेप्सेको १४ दिने आरएसआई यस दिन ५० दशमलव १७ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ । 

एडी रेस्यो : नेप्सेको एडी रेस्यो यस दिन १ दशमलव ७२५ रहेको छ । यसले बजार बुलिस ट्रेन्डमा रहेको संकेत गर्दछ । यस दिन ८८ कम्पनीको सेयरमूल्य बढेको छ भने ५१ कम्पनीको घटेको छ । बाँकी २७ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 

सर्वाधिक कमाउने भार्गव
भार्गव विकास बैंक लिमिटेडको सेयरमूल्य यस दिन ६ प्रतिशत बढेको छ । बैंकले ६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । हिमालयन पावर पार्टनर लिमिटेडको सेयरमूल्य यस दिन ५ प्रतिशत बढेको छ । हाथवे फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य यस दिन ३ दशमलव २ प्रतिशत घटेको छ । कारोबार रकम र सेयर संख्याका आधारमा यस दिन छिमेक लघुवित्त विकास बैंकको संस्थापक सेयरअगाडि रहेको छ । यस दिन सो कम्पनीको ५ करोड ८६ लाख ३ हजार रुपैयाँबराबरको ५ लाख २३ हजार ६६ कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार संख्याका आधारमा भने यस दिन नेपाल बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन १ सय १५ पटक सेयर खरिदबिक्री भएको छ ।  

८ समूहको परिसूचक बढ्यो
बुधबार कारोबारमा आएको ८ समूहको परिसूचक बढेको छ भने २ समूहको मात्र परिसूचक घटेको छ । विकास बैंक समूहको परिसूचक शून्य दशमलव ५७ प्रतिशत बढेको छ । त्यसैगरी, उत्पादनमूलक समूहको परिसूचक शून्य दशमलव ५६ प्रतिशत, होटेल समूहको शून्य दशमलव ३२ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव २४ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव १८ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव १६ प्रतिशत, निर्जीवन बिमा समूहको शून्य दशमलव ११ प्रतिशत र जलविद्युत् समूहको शून्य दशमलव शून्य ६ प्रतिशत बढेको छ । अन्य समूहको परिसूचक यस दिन शून्य दशमलव १५ प्रतिशत र वित्त समूहको शून्य दशमलव शून्य ३ प्रतिशतले घटेको छ ।  

 किसानको हकप्रद बाँडफाँड
किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले पुस २३ गते हकप्रद सेयर बाँडफाँड गरेको छ । कम्पनीले मंसिर २ गतेदेखि पुस ८ गतेसम्म निष्कासन तथा बिक्री गरेको हकप्रद सेयर बाँडफाँड गरेको हो । कम्पनीले २ बराबर १ अनुपातमा प्रतिकित्ता १ सय अंकित मूल्यका २ लाख ४० हजार २ सय ५० कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

 कञ्चनको नगद लाभांश बैंक खातामा
कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले ६ दशमलव २९ प्रतिशत नगद लाभांश सेयरधनीहरूको बैंक खातामा जम्मा गरेको छ । कम्पनीले पुस ११ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्ने सेयरधनीहरूको बैंक खातामा सो नगद लाभांश जम्मा गरेको हो । अन्य सेयरधनीहरूको नगद लाभांश पनि बैंक खातामा नै जम्मा गरिने भएकाले कम्पनीले शीघ्र सेयर अभौतिकीकरण गराई हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ । पुस २१ गते सम्पन्न कम्पनीको नवौँ वार्षिक साधारणसभाले सो नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  

 सेयर सूचीकृत
बुधबार नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडले नेप्सेमा हकप्रद सेयर सूचीकृत गरेको छ । कम्पनीले ७ लाख ६६ हजार ५ सय ३१ दशमलव ४४ कित्ता हकप्रद सेयर यस दिन नेप्सेमा सूचीकृत गरेको हो ।

 बिओकेको साधारणसभा
बैंक अफ काठमाडौं लिमिटेडले माघ १७ गते एलिस रिसेप्सन्स, गैह्रीधारा, काठमाडौंमा २४औँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा १४ प्रतिशत बोनस सेयर वितरण गर्ने, ११ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने र सहायक कम्पनीमार्फत धितोपत्र व्यवसायीसम्बन्धी कार्य गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साधारणसभा प्रयोजनका लागि बैंकले पुस ३० गतेदेखि माघ १७ गतेसम्म बुक क्लोज गर्नेछ ।

प्रतिकृया दिनुहोस