विभेदविरुद्धको दसैँ अस्त्र

दसैँलाई नेपालका सीमान्तकृतले प्रभावशाली र दमनकारी राज्य र समुदायका विरुद्धमा प्रयोग गरेका प्रशस्त उदाहरण पाइन्छन्

२०७६ असोज १७ शुक्रबार ०७:२७:००

अनिल बेल्बासे

दसैँं हिन्दू धर्मावलम्बी र समग्रमा नेपालीको महत्वपूर्ण र प्रभावशाली पर्व हो । दसैँं परापूर्व कालदेखि हिन्दू समुदायले मनाउँदै आएको पर्व हो भन्नेमा विमति छैन । यो पर्व मनाउनुको पछाडि धार्मिक रूपमा विभिन्न विश्वास र मान्यता त छन् नै, यसको समाजशास्त्रीय र अर्थराजनीतिक पाटा पनि छन् ।

नेपालका केही समाजशास्त्री र विद्वान्ले यो चाडलाई यहाँका हिन्दू र बहुसंख्यकको पर्व भन्दै गैरहिन्दू र अल्पसंख्यकमाथि समयक्रममा थोपरिएको तर्क गरेका छन् । तर, दसैँंलाई नेपालका सीमान्तकृतले प्रभावशाली र दमनकारी राज्य र समुदायका विरुद्धमा प्रयोग गरेका प्रशस्त उदाहरण पाइन्छन् । यस लेखमा दसैँंलाई प्रतिरोधको अस्त्रको रूपमा गरिएको प्रयोगबारे  छलफल गरिनेछ ।  

चाडपर्व आमसमुदायले कुनै धार्मिक विश्वास, मान्यताको आधारमा र केही कुराको सम्झनास्वरूप सामूहिक रूपमा मनाउने रीतिरिवाज र संस्कारको सँगालोको समारोह हो । मानवशास्त्रीहरू चाडपर्वलाई क्रिया र प्रतिक्रियाको रीतिरिवाज र संस्कारको व्यवहार प्रदर्शन गर्ने समारोह ठान्छन् । चाडपर्वले आममानिसमा विद्यमान द्वन्द्व, अन्तरद्वन्द्व, झगडा र विवाद निराकरण र समाधान गरी सांस्कृतिक तथा सामाजिक एकता कायम गर्न सहयोग गर्छन् । त्यसैले चाडपर्वलाई पवित्र अवसरका रूपमा मनाइन्छ । 

नेपाल परापूर्वकालदेखि नै बहुभाषिक र बहुसांस्कृतिक राज्य हो । यहाँका सबै सांस्कृतिक समुदायको आफ्नै सांस्कृतिक चलन, रीतिरिवाज र संस्कार छन् । तर, जब टुक्रे राज्यहरूको एकीकरण गोरखा राज्यअन्तर्गत सुरु भयो, ती भिन्न सांस्कृतिक समुदायको संस्कृति र संस्कार आधुनिक नेपालको शासक वर्गको बेवास्तामा परे । पहाडी हिन्दूवादी संस्कृति र संस्कारले राज्यको प्रोत्साहन पाए ।

यहीँबाट नै हिन्दूवादी संस्कृति र पहाडी संस्कार  श्रीलंका, थाइल्यान्ड, कम्बोडिया र म्यानमारजस्ता मुलुकमा फैलियो । यी पुराना हिन्दूवादी राज्यमा अहिले बौद्ध धर्म मुख्य धर्मका रूपमा रहेको छ । खाडी मुलुकमा इस्लाम र युरोपियन मुलुकमा इसाई धर्मले जस्तै नेपालमा पनि हिन्दू धर्मले राज्यको धर्म र संस्कृतिको रूपमा प्रोत्साहन पायो । अझ राणा शासनका वेला हिन्दू दर्शनमा आधारित राजनीतिक दर्शन तथा पञ्चायतको एक धर्म र संस्कारको नीतिले त हिन्दूवादी र पहाडी संस्कारले झन् विस्तार हुने मौका पायो । यही क्रममा दसैँंप्रति नेपाल राज्यको उदार नीतिले मुख्य र महान् पर्वको रूपमा विस्तार हुँदै गयो । 

नेपालका इतिहासकार र धर्मशास्त्रीले दसैँंलाई विजयउत्सवको रूपमा मनाइएको पर्वको रूपमा व्याख्या गर्ने गरेका छन् । तर, राजनीतिक–अर्थशास्त्रीले कृषिको मुख्य रोपाइँ कार्य सकिएको र मौसम पनि उचित भएकाले असोज महिनामा हर्ष र  मनोरञ्जनका लागि यो पर्व मनाउने गरेको भनि विश्लेषण गर्ने गरेको पाइन्छ । नेपाल परापूर्वकालदेखि नै कृषिमा आधारित हो । यहाँका आदिवासी जनजाति वा हिन्दू प्रभावशाली समुदाय पनि कृषिमा नै आधारित थिए । त्यसैकारण नेपालमा जग्गा जमिन एक सामाजिक प्रतिष्ठाको विषय थियो ।

आधुनिक नेपालको स्थापनासँगै जमिनमाथिको स्वामित्वमा बिस्तारै परिवर्तन हुँदै गयो । त्यसको मुख्य असर आदिवासी र जनजातिमा प¥यो । उनीहरूले बिस्तारै आफ्नो जमिनबाट स्वामित्व मात्रै गुमाएनन्, यहाँका मुख्य नागरिकबाट दोस्रो दर्जामा परिणत हुँदै गए । विरोध र विद्रोह गर्ने क्षमता उनीहरूमा थिएन । यही सन्दर्भमा जेम्स स्कट भन्छन्, जसरी प्रभावशाली हैकमवादीले आफनो प्रभुत्व कायम गर्न गुप्त रूपमा शक्तिको प्रयोग गर्छन्, त्यसैगरी राज्यका कमजोर र दमित वर्गले पनि विरोध र प्रतिरोधको रणनीति पनि बनाइरहेका हुन्छन् दृश्य वा अदृश्य रूपमा । 

प्रभावशाली समुदायको दसैँमा ठूलाबडाबाट टीका ग्रहण गर्ने र आशीर्वाद लिने चलन छ । यसको विपरीत कपिलवस्तुका थारू समुदायमा नवौँ दिनमा टीका  लगाउने र सानाले गाउँका ठूला जिम्वाल, जिम्दार, पटवारी, चौधरी र बढघरलाई टीका लगाइदिने चलन छ ।

नेपाल राज्यको यस्तै दमनकारी नीतिका कारण आदिवासी र जनजाति समुदायका प्रत्येक सदस्य र व्यक्तिको अन्तस्करणमा सांस्कृतिक र राजनीतिक स्वचेतनाको विकास ग-यो । फलस्वरूप उनीहरूले राज्यको विरुद्ध आफनो विरोध प्रदर्शन गर्ने छुट्टै गुप्त रणनीति बनाउन थाले । यही रणनीतिअन्तर्गत उनीहरूले विरोधका लागि सांस्कृतिक माध्यम खोजे । त्यही सांस्कृतिक माध्यमअन्तर्गतको पहिलो पाइलास्वरूप दसैँंको संस्कारमा प्रभावशाली हिन्दू पहाडी संस्कारभन्दा भिन्न संस्कारको विकास गरी यो पर्वलाई विद्रोहको रूपमा मनाउन थालेका हुन् । 

उदाहरणका लागि, थारू नेपालको तराई–मधेस क्षेत्रका मुख्य आदिवासी जनजाति हुन् । त्यहाँ उनीहरू आधुनिक नेपालको एकीकरणभन्दा अघिदेखि बसोवास गर्दै आएका हुन् । उनीहरूले त्यहाँ जंगल फाँडेर बस्ती बसाली खेतीपाती गर्न थाले । जब नेपाल एकीकरण भयो, राज्य सञ्चालनका लागि कर उठाउन थालियो । कर मुख्य रूपमा जमिनबाट नै उठाइन्थ्यो । कर उठाउन थालेसँगै जमिनको लिखित स्वामित्वका साथै जग्गा दर्ता गराउने प्रथा सुरु भयो । तर, त्यो वेला त्यहाँका अधिकांश रैथाने थारूहरूसँग जग्गा दर्ता गर्न नगदको अभाव थियो ।

 

अर्कोतर्फ सही सूचना तल्लो वर्गसम्म उचित समयमा पुग्दैनथ्यो । नेपालका थारूका बारेमा अध्ययन गरेका गुणरत्नेका अनुसार थारूहरूले कमाउँदै र खेती गर्दै आएको जमिनबाट स्वामित्व गुमाउँदै गए । कतिपय थारू कर तिर्न नसकेका कारण राज्यबाट बच्न भाग्दै हिँड्न थाले । यसै क्रममा राज्यले विभिन्न प्रभावशाली वर्गका व्यक्तिलाई ती जग्गा बिर्ताको रूपमा दिन थाल्यो र जग्गाबाट कर उठाउन तल्लो तहमा जिम्वाल, जिम्दार, पटवारी, चौधरीहरूको नियुक्ति ग-यो ।

राज्यका लागि कर उठाउन उनीहरूले थारूमाथि जोरजुलुम गर्न थाले । यही त्रासले पनि कतिपय थारू भागी– भागी हिँड्न थाले । एवं रीतले जग्गाका स्वामित्व बिस्तारै बिर्तावाल र राज्यका प्रभावशाली जिम्मेवारी बोकेका जिम्वाल, जिम्दार, चौधरी र पटवारीमा स-यो । अधिकांश थारू कमैया भए । कमैया भएसँगै उनीहरूमाथि जिम्वाल, जिम्दार, चौधरी र पटवारीको दमन सुुरु भयो । यसरी कुनै समयका प्रतिष्ठित र प्रभावशाली थारू समुदाय बिस्तारै यो देशको सीमान्तीकृत र वञ्चित समुदाय हुँदै दोस्रो दर्जाका नागरिक बन्न पुगे ।

प्रतिष्ठित नागरिकबाट सीमान्तीकृत दोस्रो तहका नागरिक बन्नुपर्दा ती समुदायका व्यक्तिमा चेतनाको विकास पनि हुँदै गयो । राज्यको दमनकारी नीतिको विरोध गर्नुपर्छ भन्ने चेतनाको विकास उनीहरूभित्र हुँदै गयो । तर, उनीहरू साधनस्रोत, आर्थिक र राजनीतिक रूपमा कमजोर थिए । त्यसकारण प्रभावशाली समुदायको प्रत्यक्ष रूपमा विरोध गर्न सक्दैनथे । उनीहरूले अदृश्य रूपमा भित्र–भित्र राज्य र प्रभावशाली हैकमवादी समुदायको विरोध गर्न गुप्त रणनीति बनाउन थाले ।

यस्ता रणनीति राजनीतिक नभई सांस्कृतिक थिए ता कि राज्य र प्रभावशाली हैकमवादी समूहले त्यो थाहा पाएर थप दमन गर्न नसकून् । त्यसैले उनीहरूले आफ्नै शैलीको दसैँं मनाउने संस्कार र संस्कृतिको विकास गरे । पहाडी हिन्दूवादी र प्रभावशाली वर्गले १० दिनसम्म विभिन्न संस्कार गरी दसैँं मनाउँछन् ।

थारूहरूले नवौँ दिनको दिन सेतो टीका र मकैको जमरा लगाएर दसैँं मनाउन थाले । प्रभावशाली समुदायको दसैँंमा ठूलाबडाबाट टीका ग्रहण गर्ने र आशीर्वाद लिने चलन छ । यसको विपरीत कपिलवस्तुका थारू समुदायमा नवौँ दिनमा टीका लगाउने र सानाले गाउँका ठूला जिम्वाल, जिम्दार, पटवारी, चौधरी र बढघरलाई टीका लगाइदिने चलन छ । 

राज्यले हिन्दू धर्म दर्शन अपनाएकाले त्यसै स्वरूपमा दसैँं मनाउने प्रचलन थियो । हिन्दू धर्ममा सुँगुरलाई छुन नहुने जनावर मानिन्छ र त्यसलाई बलि दिने र त्यसको मासु खाने गरिँदैन । तर, थारूहरूले दसैँंको एक दिन विशेष गरी सुँवरा मराई (सुँगुर मार्ने दिन) दिन भनेर छुट्याएका थिए । यसरी, उनीहरूले दसैँंमा नयाँ संस्कारको निर्माण र पुर्नसंरचना गरे ।

थारूका यी दसैँं  संस्कारलाई मिहीन रूपमा विश्लेषण गर्ने हो भने प्रभावशाली हैकमवादी वर्गको विरुद्ध आफूसँग भएको शक्ति र क्षमतालाई हतियारको रूपमा प्रयोग गर्दै विरोध गरेको देखिन्छ । राज्य र प्रभावशाली हैकमवादी व्यक्तिहरू यस्तो प्रयोगका बारेमा सचेत भएको देखिँदैन । थारूका यस्ता दसैँं संस्कार प्रभावशाली प्रभुत्ववादी समुदायलाई सम्मान नभई राज्य र उनीहरूको दमन र विभदेकारी नीतिका विरुद्ध प्रयोग गरिएको एक सांस्कृतिक हतियार मात्र हो ।

सेतो टीका थापेर र हिन्दूवादी दसैँ संस्कारविपरीत बंगुर, बँदेल आदिको मासु र रक्सी खाएर यो पर्व मनाउनु तत्कालीन हिन्दू राज्यविरुद्ध सांस्कृतिक हतियारको रुपमा प्रयोग भन्न सकिन्छ ।

पूर्वका राई लिम्बू वा अन्य मंगोलियन आदिवासी जनजातिको दसैँं बहिष्कार पनि प्रभुत्ववादी वर्गको प्रतिरोध हो । दसैँंमा सेतो टीका थापेर र हिन्दूवादी दसैँं संस्कारविपरित रक्सी, बंगुर, बँदेल आदिको मासु ग्रहण गरेर मनाउनु पनि तत्कालीन हिन्दू राज्यविरुद्ध दसैँंलाई सांस्कृतिक हतियारको रूपमा प्रयोग भन्न सकिन्छ । उनीहरूले राज्यको नीतिको विरोध गरेका हुन् । त्यसैले जेम्स स्कटले भनेझैँ दमित वा कमजोर समूह वा समुदायको निरन्तर प्रतिरोध दसैँंको हकमा समेत लागू भएको देखिन्छ । 

प्रभावशाली वर्ग र समुदायले जर्बजस्त रूपमा आधीन वर्गको दमन र शोषण गर्दा त्यसको विरोध उनीहरूले अव्यक्त रूपमा आफ्नो दैनिक जीवनको अनेक क्रियाकलाप, रीतिरिवाज र संस्कारबाट गर्छन् । यही नै विभिन्न सांस्कृतिक समुदाय र समाजका वर्गका बीचमा द्वन्द्व सिर्जना हुने पहिलो खुड्किलो बन्छ । नेपालका आदिवासी जनजाति र राज्यमा पहुँच भएका हिन्दूवादी समुदायको बीचमा पनि द्वन्द्व परापूर्वकालदेखि नै रहँदै आएको छ ।

उनीहरूको जुनसुकै विरोधको शैलीको सम्मान गर्नुपर्छ । राज्यले उनीहरूका मागलाई वेलैमा ध्यान दिएर सम्बोधन गर्नुपर्छ । नत्र जेम्स स्कटले भनेजस्तै पहिला सामान्यजस्तो लाग्ने विरोध समयक्रममा शक्तिशाली हुँदै जान्छ । विरोधलाई भिन्न सांस्कृतिक अर्थ दिएर आफ्नो लक्ष्य प्राप्त गर्न उनीहरू लाग्न सक्छन् । नेपालका आदिवासी जनजातिको दसैँं संस्कार यसको बलियो उदाहरण हो ।  

अतः निष्कर्षमा के भन्न सकिन्छ भने कुनै पनि सांस्कृतिक समुदायको विभिन्न संस्कृति, रीतिरिवाज र संस्कारलाई सरल र सापेक्ष रूपमा उनीहरूको भिन्न संस्कृति मात्र बुझ्नुहुँदैन ।  बरु ती समुदायले ती संस्कार किन गर्छन्, कसरी सुरु भयो, कहिलेबाट गर्न थाले र तिनका वास्तविक र वैकल्पिक अर्थ र मान्यता के–के हुन सक्छ भनेर गहन रूपमा अध्ययन गर्नुपर्छ । ती संस्कारमार्फत असन्तुष्टि व्यक्त गरिएका छन् भने वेलैमा सम्बोधन गर्न राज्य लाग्नुपर्छ । सीमान्तकृतका मागमा ध्यान नदिँदा धेरै राज्यहरू गम्भीर समस्यामा परेका छन् ।