पौरखी सहर विराटनगर

२०७६ असोज ६ सोमबार ०८:०६:००

पाँचथरको लिम्बामा वि.सं. १९८८ मा जन्मेको म सात वर्षको उमेरदेखि विराटनगर बसिरहेको छु । विराटनगरकै पुरानो जुद्ध हाई स्कुलमा पढेको हुँ, जुन अहिलेको आदर्श मावि हो । त्यसवेला नेपालमा परीक्षा बोर्ड थिएन, भारतको पटना बोर्डले परीक्षा लिन्थ्यो । वीरगन्ज पुगेर परीक्षा दिनुपथ्र्यो ।

जोगवनी–कटिहार–समस्तीपुर–रक्सौल हुँदै भारतको बाटो दुई दिन लाग्थ्यो, वीरगन्ज पुग्न । म कक्षा पाँचमा पढ्दा राणाहरूले टंकप्रसाद आचार्यलगायत नेतालाई विराटनगरमा थुनेका थिए । त्यसवेलाका ‘जनरल पब्लिक अफ इन्स्पेक्सन’ मृगेन्द्रशमशेर राणा विराटनगर दौडाहामा आएका वेला आदर्श स्कुलमा आएर हामीलाई उपदेश दिएको सम्झना छ । पछि ०३२ सालमा म दुई वर्ष शिक्षा, सञ्चार तथा प्रशासन मन्त्री भएँ ।

  त्यसवेलाको विराटनगरका बाटाघाटा सबै माटाका डगरजस्ता थिए– हिउँदमा धुलो र वर्षामा अचाक्ली हिलो । काठबाट बनाइएका सबै घरमा टिनका छाना हुन्थे । काठका चक्का भएका बयलगाडा बग्रेल्ती हिँड्थे । बिजुली थिएन । मैले थाहा पाएदेखि विराटनगरमा मोटर गुड्थे । जोगवनीमा छोटी भन्सार मात्र थियो, मूल भन्सार ट्राफिक चोक (बजार अड्डा)मा थियो । राज्यका सबै काम बजार अड्डाबाटै हुन्थे । जोगवनीतिर मान्छे कमै जान्थे, बडाहाकिम स्कुलमै आएर जोगवनी नजानू गोली हानेर मार्छन् भन्थे । पछि बुझ्दा भारतमा स्वतन्त्रता 
आन्दोलन चर्केको रहेछ र उनीहरूले त्यसो भनेका रहेछन् ।

विसं. १९९३ मा रानीमा जुटमिल स्थापना भएपछि विराटनगरको कायापलट भएको हो । कोलकाताका महाजनले यहाँका व्यापारीको सहयोगमा जुटमिल स्थापना गरेका थिए ।
 

  विसं. १९९३ मा रानीमा जुटमिल स्थापना भएपछि विराटनगरको कायापलट भयो । कोलकाताका महाजनले यहाँका व्यापारीको सहयोगमा जुटमिल खोलेका थिए, जहाँ तीन हजारभन्दा बढी मजदुर काम गर्थे । भर्खरै दोस्रो विश्वयुद्ध सकिएर विश्व अर्थव्यवस्था तँग्रदै  थियो । तेस्रो मुलकमा जुटको माग धेरै थियो । नेपालको जुट पनि तेस्रो मुलुक जान्थ्यो । सुनसरी र मोरङका किसानले उत्पादन गर्ने पाटा (जुट) संकलन गरेर गोल्छा परिवारले पहाडजस्तै बनाएर राख्थ्यो ।

राधाप्रसाद घिमिरे पूर्वमन्त्री

रामलाल गोल्छा, ईश्वरीचन्द धाडेवा, दधिराम कोइराला, शंकरप्रसाद खनाल, हनुमानदास मुखियालगायत त्यसवेलाका धनाढ्य थिए । धाडेवा, कोइराला, खनाल र मुखियासँग प्रशस्त जमिन थियो । स्थानीय अर्थतन्त्र चलायमान भएपछि विराटनगरमा राष्ट्र बैंक स्थापना भयो । व्यापारीको संख्या बढ्यो । सिन्थेटिक, जिंक अक्साइड, सलाई, बिँडी, पायोनियर, जुट, टेक्सटायललगायत उद्योग धमाधम खुले । बिस्तारै पक्की घर बन्न थाले । जुट निर्यातबाट आर्जित रकमबाट व्यापारीले रड, सिमेन्टलगायत सामग्री आयात गर्न थाले ।

 कोइराला परिवारलाई सज्जन परिवार मानिन्थ्यो । स्वर्गीय कृष्णप्रसाद कोइरालाको शिक्षा र समाजसेवामा रुचि थियो । उनले परालको छाप्रोमा स्कुल खोले । त्यसपछि लोकलाजका कारण राणाहरूले जुद्ध हाई स्कुल खोले । कृष्णप्रसादका छोराहरू मातृका र बिपी पढेलेखेका र तार्किक व्यक्तित्व थिए । तारणीप्रसाद कोइराला पनि चल्तापुर्जा मानिन्थे ।

विराटनगर आफैँ सम्भावना खोज्ने र विकासलाई बोकेर हिँड्न सक्ने पौरखी सहर हो । १० वर्षे सशस्त्र विद्रोह र मधेस आन्दोलनमा पनि यो कहिल्यै आत्तिएन । ‘मृत सहर’ बन्नबाट जोगिएर माथि उठेरै छाड्यो ।

केशवप्रसाद कोइराला जिल्ला वन अधिकृत (डिएफओ) बनेका थिए । त्यो परिवारमा महिला पनि शिक्षित थिए । विराटनगर राजनीतिक सभ्यता भएको ठाउँ थियो । राणाहरूको अनुमतिविनै अमेरिका गएका कारण पद्मसुन्दर मल्लको जात काढिएको थियो, जसले ‘हाइड्रोपावर कम्पनी’ खोलेर मोरङको लेटाङमा बिजुली उत्पादन गरे । त्यही बिजुली हो विराटनगरमा पहिलोपल्ट बलेको । ००८ सालमा विराटनगर नगरपालिकाले बजारमा इँटा बिछ्यायो र बजारक्षेत्र सफा बन्यो । ०१४ सालमा हामीले ‘एलिट क्लब’ खोल्यौँ, जहाँ यहाँका बौद्धिक वर्ग भेला भएर बहस र छलफल गर्थे । अहिले पनि त्यो सञ्चालनमा छ, तर पहिलेजस्तो रौनक छैन ।

  पुराना उद्योगी र धनाढ्य काठमाडौं सरेपछि केही समय विराटनगर शून्य बन्यो । काठमाडौं गएकाहरूले विराटनगरलाई माया मार्न सकेनन् । तर, यहाँको विकासमा धेरै चासो पनि दिएनन् । राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरेपछि कोइराला र अधिकारीहरूसँग बदला लिन विराटनगरलाई उपेक्षामा राखेको विश्लेषण पनि गर्ने गरिन्छ ।

विराटनगर आफैँ सम्भावना खोज्ने र विकासलाई बोकेर हिँड्न सक्ने पौरखी सहर हो । १० वर्षे सशस्त्र विद्रोह र मधेस आन्दोलनमा पनि यो कहिल्यै आत्तिएन । ‘मृत सहर’ बन्नबाट जोगिएर माथि उठेरै छाड्यो । संघीयतापछि विराटनगरको नयाँ जीवन सुरु भएको छ । उद्योग, व्यापार उकालो लाग्दै छ । सीमामा संयुक्त भन्सार जाँचचौकी निर्माण भइसकेको छ । विश्व बैंकको सहयोगमा विराटनगरका ढल र सडक व्यवस्थित बन्दै छन् । मुख्य राजमार्ग ६ लेनको बन्दै छ । ठूला भवन, आधुनिक सिनेमा घर र होटेल खुल्ने क्रम बढ्दो छ ।

 

 

सम्बन्धित समाचार