दसैँका लागि चीनबाट आयात गरिएका विभिन्न सामग्री पहिरोका कारण बीच बाटोमै रोकिएको छ । पासाङ ल्हामु राजमार्गको राम्चे–धुन्चे सडक खण्डमा पहिरो जाँदा विगत एक सातादेखि गाडी चल्न सकेको छैन । गाडी नचल्दा चीनबाट रसुवागढी नाका हुँदै नेपाल भित्रिएको सामग्री बीचबाटोमै रोकिएको हो ।
पासाङ ल्हामु राजमार्गको राम्चे–धुन्चे सडकखण्डको नागार्दुन २५ भदौमा गएको पहिरोले सडक भासिएको छ । त्यसयता यो सडकमा सवारी सञ्चालन हुन सकेको छैन । मैलुङतर्फ सवारी सञ्चालन गर्न कठिन भएको र राम्चेतर्फ सडक मर्मत भइनसकेका कारण दसैँका सामग्री लिएर काठमाडौं जान लागेका सवारी बीच बाटोमा नै रोकिएका हुन् ।
करिब सात सयवटा मालवाहक कन्टेनर बीचमै रोकिएका रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए । चीनबाट आएका करिब चार सय मालवाहक कन्टेनर भन्सार यार्डमा रोकिएर छन् भने दुई सयवटा भन्दा बढी कन्टेनर बीच बाटोमै रोकिएका छन् ।
दुई देश जोड्ने सडक अवरुद्ध हुँदा दसैँको मुखमा व्यवसाय चौपट हुने भन्दै व्यवसायी चिन्तित भएका छन् । पहिरो पन्छाएर सडक सञ्चालन गर्न खोज्दा पनि नयाँ ट्र्याक भएकाले सवारी सञ्चालन गर्न समस्या भएको छ । वर्षात्को समयमा ठूला सवारी सञ्चालन गर्दा जोखिम हुने र सवारी फस्ने गरेको सवारीचालक बताउँछन् ।
शनिबार केही कन्टेनर पास
शनिबार बिहानैदेखि पानी नपरेकाले स्याउ बोकेका करिब एक सय ४० वटा कन्टेनर मैलुङ स्याफ्रुबेँसी सडक हुँदै गन्तव्यतर्फ लागेको रसुवा यातायात सहकारी संस्थाका अध्यक्ष पेम्बा लामाले जानकारी दिए । ‘पानी पर्दा जोखिम हुने भएकाले चालकले गाडी चलाएका थिएनन्,’ लामाले भने, ‘शनिबार पानी परेन, मौसम पनि सफा भयो, करिब डेढ सयवटा कन्टेनर काठमाडौंतर्फ लागेका छन्,’ उनले भने ।
अहिले दसैँका लागि चीनबाट धमाधम सामान आयात भइरहेको छ । राजधानीलगायत देशका मुख्य बजारमा चिनियाँ सामानकै वर्चस्व छ । दसैँमा चिनियाँ तयारी पोसाकको बढी माग हुने गरेको छ । तयारी पोसाकलगायतका सामग्री रसुवागढी नाकाबाट भित्रिने गरेको छ । वर्षात्को समयमा नाका बन्द भएकाले मागअनुसार सामान ल्याउन नसकिएको व्यापारीले बताएका छन् ।
सडक मर्मत हुँदै
राम्चे धुन्चे सडक खण्डको नागार्दुन क्षेत्रमा भासिएको सडम मर्मतको काम भइरहेको छ । भासिएको सडकमा जनशक्ति परिचालन गरी द्रुत गतिमा मर्मतको काम भइरहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । आइतबार सँझसम्ममा सडक सञ्चालनमा आउने उनको भनाइ छ ।