भैरव रिसाल
२०७६ असोज ५ आइतबार १०:४५:००
रमेश दवाडी

९२ वर्षीय भैरव रिसालको दीर्घायु सूत्र

नियमित जीवन, मितभाषी, मिताहारी, आत्मानुशासन स्वस्थ लामो आयुका सूत्र हुन् । 

रेडियो सुन्दै थेरापी 
म विसं १९८५ साउन २९ जन्मेको हुँ । गत साउन २९ गतेबाट म ९२ वर्षमा प्रवेश गरेँ । बिहान ४ बजे उठ्छु, लगत्तै नुहाउँछु । रेडियो सुन्दै थेरापी गर्छु । पहिला एक्सरसाइज गर्थें । नसा, हाड कमजोर भएपछि एक्सरसाइज छाडेँ । थेरापी सुरु गरेँ । झन्डै ४५ मिनेट थेरापी गर्छु । 

चार वर्षअघिदेखि मलाई पार्किन्सन (हात–खुट्टा काप्ने) भयो । यसैका लागि डाक्टरको सल्लाह अनुसार थेरापी गर्छु । थेरापी र औषधिले मलाई सन्चो गरायो । त्यसभन्दा अगाडि मलाई दाह्री काट्न, लेख्न समस्या हुन्थ्यो । हजाम घरमै बोलाउँथेँ । नङ परिवारले काटिदिन्थे । 

मुख बार्दिनँ 
समयमा खाने र काम गर्ने बानीले मलाई सहज बनाएको छ ।  आधा उमेर गएपछि मैले यस्तो बानीको विकास गरेको हुँ । समयमा सुत्न, उठ्न थालेँ । मुख बार्दिनँ । मासु, दाल, भात, तरकारी, अचार, मोही, दूध, दही खान्छु । बिहान ६ बजे बिस्कुट, चिया खान्छु । ९ बजे खाना खान्छु । १२ बजे फलफूल खान्छु । २ बजे खाजा खान्छु । बेलुकी ७ बजे खाना खान्छु । बेलुकाको खाना कोचेर खान्न । बिबिसी नेपाली सेवाको समाचार सुनेर सुत्छु । खानामा पिरो मन पर्छ । अदुवा र तिलको अचार मनपर्छ । बिहान–बेलुका दूध खान्छु । निद्रा लाग्ने, खानेकुरा मीठो हुने भएपछि शरीर ठीक हुने रहेछ ।  

प्रोस्टेटको औषधि खान्छु । औषधि सातथरी छ । प्रायः रुघा लाग्दैन । बिहान पाँचवटा तुलसीको पात चियामा हालेर खान्छु । यसले धेरै फाइदा गर्छ । यसरी खान थालेको ४० वर्ष भयो । जंगी हर्रो बिहान बेलुका एक–एकवटा खान्छु । कहिल्यै पनि मास्क लगाउँदिन । तुलसीपत्र र जंगी हर्रोले धानेको छ । 

‘ज्ञानी बिरामी’ 
डाक्टरले मलाई ज्ञानी बिरामी भन्छन् । माया गर्छन् । आफ्नो काम सकेसम्म आफैँ गर्नुपर्छ । शरीरका इन्द्रीय चल्नुपर्छ । इन्द्रीय सक्रिय भए स्वस्थ भइन्छ । मर्ने चिन्ता गर्नुहुँदैन । चिन्ता नगर्दा शान्त भइन्छ । 

स्वस्थ र लामो आयु बाँच्न नियमित जीवन बाँच्नुपर्छ । मीठो पाएँ भन्दैमा धेरै खानुहुँदैन । बिरामी हुँदा आत्तिनुहुँदैन । मनोबल उच्च राख्नुपर्छ । सकेसम्म ढाँट्नुहुँदैन । ढाँट्नुको प्रत्यक्ष प्रभाव शरीरमा पर्ने रहेछ । नियमित जीवन, मितभाषी, मिताहारी, आत्मानुशासन स्वस्थ र लामो आयुका सूत्र हुन् । 

म पुनर्जन्ममा विश्वास गर्दिनँ । चावार्क दर्शनमा विश्वास गर्छु । ‘जति दिन बाँच्छौ, ऋण नै गरेर भए पनि घिउभात खाऊ,’ भन्ने दर्शन अवलम्बन गर्छु । मैले इच्छा मरणको नारा दिएको छु । जनस्वास्थ्यप्रति सरकार जिम्मेवार छैन । सरकारको चासो जनस्वास्थ्यमा हुनुपर्ने हो, तर त्यो देखिँदैन ।