सात कारोबार दिनपछि बढ्यो नेप्से

२०७५ पौष २४ मंगलबार ०९:३७:००

निरन्तर सात कारोबार दिन ओरालो लागेको नेप्से, यस साताको दोस्रो कारोबार दिन भने बढेर बन्द भएको छ । नेप्से उकालो लागे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा खासै सुध्रिन सकेको छैन । धेरै कम्पनीहरूको बुक क्लोजका कारण सेयर कारोबार नभएकाले पनि कारोबार रकम प्रभावित भएको एक ब्रोकरले बताए । यस दिन बजार खुलेदेखि नै उकालो लागेको नेप्से, मध्याह्नपछि भने केही ओरालो लाग्न थालेको थियो ।

तर, अन्तिम समयमा बजारमा माग बढेपछि नेप्से उकालो लागेर बन्द भएको हो । बजार लामो समयदेखि सुस्त गतिमा रहेका कारण लगानीकर्ता अन्योलमा रहेका छन् । लगानीकर्ता अहिले ‘पर्ख र हेर’को अवस्थामा रहेको एक लगानीकर्ताले बताए । चालू आवको दोस्रो त्रैमास सकिन लागेका कारण पनि बजारले गति लिन नसकेको उनको भनाइ छ । महिनाको अन्त्यमा म्युचुअल फन्डहरूले एनएमभी बढाउन पनि सेयरको भाउ बढाउने गरेका छन् । सोही कारण पनि यस दिन बजार बढेको हुन सक्ने उनको अनुमान छ ।

नेप्से परिसूचक यस दिन ६ दशमलव ६७ अंक बढेर १ हजार १ सय ७७ दशमलव ४६ बिन्दुमा पुगेको छ । त्यसैगरी, सेन्सेटिभ इन्डेक्स यस दिन १ दशमलव ३७ अंक बढेर २ सय ४९ दशमलव ९३ बिन्दुमा पुगेको छ । यस दिन १ सय ४८ कम्पनीहरूको ३ हजार ९३ पटकको कारोबारमा ३० करोड १९ लाख ८७ हजार ६ सय १६ रुपैयाँबराबरको ९ लाख १४ हजार २ सय ३९ कित्ता सेयर खरिद–बिक्री भएको छ । नेप्सेको १४ दिने आरएसआई यस दिन ४९ दशमलवम ६५ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

कारोबार रकम र सेयर संख्याका आधारमा यस दिन नेपाल बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन ८ करोड ५९ लाख २७ रुपैयाँबराबरको २ लाख ८० हजार ६ सय २४ कित्ता सेयर खरिद–बिक्री भएको छ । कारोबार संख्याका आधारमा भने यस दिन नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन १ सय ६० पटकको कारोबारमा १ करोड ६१ लाख ६५ हजार रुपैयाँबराबरको ७३ हजार ७ सय ९५ कित्ता सेयर खरिद–बिक्री भएको छ ।

हाथवे फाइनान्स कम्पनी र सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य यस दिन ६ दशमलव ५० प्रतिशतभन्दा बढी बढेको छ । किसान माइक्रो फाइनान्स वित्तीय संस्था र मेरो माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ । कारोबारमा आएका १ सय ४८ कम्पनीमध्ये यस दिन १ सय कम्पनीको सेयर मूल्य बढेको छ भने २३ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी २५ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ । 

सोमबार कारोबारमा आएको उत्पादनमूलक र अन्य समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक बढेको छ । यस दिन जीवन बिमा समूहको परिसूचक सर्वाधिक १ दशमलव ५४ प्रतिशत बढेको छ । त्यसैगरी, निर्जीवन बिमा समूहको परिसूचक १ दशमलव ४८ प्रतिशत, होटेल समूहको १ दशमलव शून्य ३ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ८४ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ५३ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव ४६ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव ४५ प्रतिशत र वित्त समूहको शून्य दशमलव २ प्रतिशत बढेको छ । उत्पादनमूलक समूहको परिसूचक यस दिन शून्य दशमलव ५७ प्रतिशत र अन्य समूहको शून्य दशमलव शून्य १ प्रतिशत घटेको छ ।

घलेम्दीको आइपिओ निष्कासन बन्द
घलेम्दी हाइड्रो लिमिटेडले पुस १९ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आइपिओमा आवेदन दिने म्याद पुस २३ गते सकिएको छ । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यका १५ लाख ३३ हजार ७ सय ७० कित्ता साधारण सेयर निष्कासन गरेको थियो । कम्पनीले निष्कासन गरेको आइपिओलाई इक्रा नेपालले ‘इक्राएनपी आइपिओ ग्रेड फाइभ’ रेटिङ दिएको थियो । यसले कम्पनीको आधारभूत अवस्था औसतभन्दा कमजोर रहेको संकेत गर्छ । कम्पनीअन्तर्गतको आयोजनाको कुल लागत १ अर्ब १५ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २३ करोड रुपैयाँ रहेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक भिबोर क्यापिटल लिमिटेड रहेको छ । 

 सिद्धार्थ बैंकको डिबेन्चर निष्कासन बन्द
सिद्धार्थ बैंक लिमिटेडले मंसिर २३ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको ‘१० दशमलव ५ प्रतिशत एसबिएल डिबेन्चर २०८२’ मा आवेदन दिने म्याद पुस २३ गते सकिएको छ । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका २२ लाख ५० हजार कित्तामध्ये ४ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गरेको हो । निष्कासन गरिएको कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् २२ हजार ५ सय कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । यस ऋणपत्रको अवधि ७ वर्ष तोकिएको छ ।

सो अवधिपश्चात् बैंकले यस ऋणपत्रको सावाँ र अन्तिम किस्ताको तिर्न बाँकी ब्याज रकम एकमुष्ट भुक्तानी गर्नेछ । बैंकले वार्षिक १० दशमलव ५० प्रतिशतका दरले ६÷६ महिनामा ब्याज भुक्तानी गर्नेछ । बैंकले निष्कासन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडले न्यून कर्जा जोखिम जनाउने ‘इक्राएनपी एलबिबिबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता भएको तथा कर्जा जोखिम मध्यम रहेको संकेत गर्छ । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।