अरूको खुसीको चिन्ता
कुनै गाउँमा एक किसान बस्थे । उनी मकैको खेती गर्थे । उनले हरेक वर्ष सबैभन्दा राम्रो मकै फलाउने किसानको पुरस्कार प्राप्त गर्दै आएका थिए । एक दिन एक पत्रिकाका संवाददाता तिनै किसानको अन्तर्वार्ता लिन उनको घर पुगे । कुराकानीका क्रममा उनले किसानसित हरेक वर्ष राम्रो मकै फल्नुको रहस्य सोधे । किसानले यसका अनेक कारण बताए । साथमा उनले आफूले हरेक वर्ष जुन बिउबाट उत्कृष्ट मकै फलाइरहेका थिए, त्यही बिउ छिमेकी किसानलाई पनि बाँड्ने गरेको पनि बताए ।
ती संवाददालाई किसानको जवाफ अनौठो लाग्यो । उनले आश्चर्यका साथ सोधे– तपाईंको बिउकै कारण तपाईंले हरेक वर्ष सबैभन्दा राम्रो मकै फलाउने किसानको पुरस्कार हात पार्दै आउनुभएको छ । तर, त्यही बिउ अन्य किसानमा पनि बाँडिदिनु कति बुद्धिमानी हो ?
पत्रकारको प्रश्नमा अलिकति मुस्कुराउँदै किसानले भने– तपाईंलाई खेती–किसानीको व्यावहारिक नियमबारे थाहा छैन जस्तो छ । हावाले मकैको पराग कणलाई परपरका खेतसम्म पुर्याउँछ । मेरा छिमेकी किसानले नराम्रो मकै लगाए भने त्यतिखेर तिनै नराम्रो मकैका पराग कणसित सहपराकणका कारण मेरा मकै पनि कम गुणस्तरका हुनेछन् । त्यसैले, राम्रो अन्न फलाउन चाहने किसानले जहिल्यै छिमेकीलाई पनि सहयोग गर्नुपर्छ ।
यी किसानलाई छिमेकी किसानले राम्रो बिउ रोपेनन् भने आफ्नो खेतको उत्पादनसमेत प्रभावित हुन्छ भन्ने राम्ररी थाहा थियो । ठीक यस्तै हो हाम्रो जिन्दगी पनि । जहिल्यै सुख, शान्तिसित बाँच्ने कामना गर्ने व्यक्तिले आफ्ना छिमेकीको सुख, शान्तिको पनि चिन्ता गर्नुपर्छ । कसैको जीवनले कति मानिसको जीवनलाई छुन्छ, त्यसैका आधारमा कसैको जीवनको सफलता आँकिन्छ । तपाईं आफू खुसी रहन चाहनुहुन्छ भने, चारैतिर खुसी छर्नुहोस् किनकि सबैको खुसीमा नै तपाईंको पनि खुसी निर्भर छ ।