मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७६ भदौ ३० सोमबार ०७:३८:००
Read Time : > 1 मिनेट
समाचार

सिन्धुवासीलाई खासा प्रवेश खुला

Read Time : > 1 मिनेट
२०७६ भदौ ३० सोमबार ०७:३८:००

दसैँ नजिकिँदै जाँदा चीन स्वशासित तिब्बतको खासा क्षेत्रमा सिन्धुपाल्चोकवासीलाई प्रवेश खुला गरिएको छ । व्यापारिक कामको सिलसिलामा खासा तथा न्यालम जिल्ला जान पाउने गरी सिन्धुवासीका लागि मात्रै प्रवेश खुला गरिएको हो ।

स्याउ, रेडिमेड सामान, दसैँका लागि भेडाच्यांग्रा लिन जाने व्यापारी र लोड–अनलोड गर्ने मजदुरलाई अध्यागमन कार्यालय कोदारीले प्रवेश पास जारी गर्न थालेको छ । दैनिक ५०–६० नेपाली कामको सिलसिलामा खासा प्रवेश गर्छन् । अध्यागमनले कन्टेनरचालकका लागि नेपाली नागरिकता र लाइसेन्सका आधारमा फोटो टाँसेर एकवर्षे प्रवेश पास दिने भएको छ । सिन्धुवासीका लागि नागरिकताको फोटोकपी बुझाएपछि सोही प्रकारको एकवर्षे प्रवेश पास दिइन्छ । हाललाई चालक, व्यापारी वा सर्वसाधारण जो भए पनि सिन्धुपाल्चोकवासीलाई मात्रै पास उपलब्ध गर्ने नियम रहेको अध्यागमनका प्रतिनिधि तिलक मगरले जानकारी दिए । चिनियाँ अध्यागमनका अधिकारीले खासा क्षेत्रमा व्यापारका लागि आउने सिन्धुपाल्चोकका नागरिकलाई मात्र पास दिन आग्रह गरेको उनले बताए ।

स्याउ र रेडिमोड लोड–अनलोड गर्न भोटेकोसी गाउँपालिका वडा नम्बर–२ का २५ स्थानीय दैनिक खासा जाने गरेका छन् । खासा क्षेत्रमा एक रेस्टुरेन्ट र एउटा होलसेल पसल खुलेको छ । तर, खासा गएका नेपाली व्यापारी र मजदुरले दिउँसोको खाजा यतैबाट लाने गर्छन् । काम सकेपछि बेलुका तातोपानी फर्कने गरेका छन् । पहिरोले रसुवागढी सडक अवरुद्ध भएपछि झन्डै एक सयवटा गाडी स्याउ खासा भएर काठमाडौं भित्रिँदै छ । 

भेडाच्यांग्रा लिन न्यालम
दसैँका लागि भेडाच्यांग्रा लिन शुक्रबार र शनिबार १९ जना नेपाली खासा प्रवेश गरेका छन् । पुनर्निर्माणका कारण आइतबार र सोमबार खासा क्षेत्र बन्द रहने भएकाले मंगलबारदेखि अरू भेडा व्यापारी पनि तिब्बत जाँदै छन् । भूकम्प गएको चार वर्षपछि नेपाली व्यापारी तातोपानी नाका भएर भेडाच्यांग्रा किन्न तिब्बत गएका हुन् । 

अध्यागमन कार्यालयले जारी गरेको एकवर्षे पासको साथ झोला–झोलामा लाखौँ रकम बोकेर खासालीको गाडीमा भेडाच्यांग्रा लिन न्यालमभन्दा सय किलोमिटर पर पोङ्रङ भन्ने ठाउँमा जान १९ जना नेपाली त्यसतर्फ प्रस्थान गरेका हुन् । सिन्धुपाल्चोकको पाटीचौर, जलवीरे, बाह्रबिसे, मार्मिङ र चौताराका स्थानीय भेडाच्यांग्रा किन्न न्यालम गएको व्यापारी ठेप्लेकान्छा श्रेष्ठले बताए ।