यू–१९ एसिया कप : नेपालको सान्त्वना जित

२०७६ भदौ २५ बुधबार ११:३०:००

नेपालले एसियाली क्रिकेट काउन्सिल (एसिसी) यू–१९ युथ एसिया कपअन्तर्गत आफ्नो अन्तिम खेलमा ठूलो अन्तरको जित हात पारेको छ । नेपालले मंगलबार भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई १६० रनको भारी अन्तरले पराजित ग-यो । 

यद्यपि, नेपालका लागि यो सान्त्वना जितका रूपमा सीमित भएको छ । नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । आयोजक श्रीलंका र बंगलादेशसहित चार टोली रहेको समूह बीमा नेपाल तेस्रो बन्यो ।श्रीलंकाको कटुनायकेस्थित मैदानमा टस हारी पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८५ रनको योगफल तय गरेको थियो । जवाफमा आएको युएई ३४.४ ओभरमा मात्रै १२५ रनमा समेटियो । 

रोहितको उत्कृष्ट ब्याटिङ
युएईविरुद्ध नेपालले खराब सुरुवात ग-यो । प्रारम्भिक ब्याट्सम्यानद्वय रीत गौतम र पवन सर्राफ खाता खोल्नुअघि नै आउट हुन पुगे । यद्यपि, त्यसपछि आएका खेलाडीले नेपालको पारी सम्हाले । त्यसको नेतृत्व गरे कप्तान रोहितकुमार पौडेलले । उनले टोलीका लागि सर्वाधिक ६७ रनको योगदान दिए । 

उनीपछि सन्दीप झोराले ४८, असिफ सेखले ४५, रासिद खानले ४४ र कमलसिंह ऐरीले ४१ रनको योगदान दिए । यसक्रममा कप्तान रोहितले तेस्रो विकेटका लागि आसिफसँग ७१ र चौथो विकेटका लागि सन्दीपसँग ८५ रनको साझेदारी गरेका थिए । टोलीका लागि महत्वपूर्ण योगदान दिएका रोहित म्यान अफ दी म्याचसमेत चुनिए । नेपालका लागि रासिद र कमलले पनि आठौँ विकेटका लागि ७० रनको साझेदारी गरेका थिए । 

नेपाली स्पिनरको कमाल
युएईलाई सस्तो योगफलमा रोक्न नेपाली स्पिनरले सशक्त प्रदर्शन गरे । नेपालका तीन स्पिनरले मिलेर सात विकेट लिँदा युएई लक्ष्यसम्म पुग्न असफल बनेको थियो । त्यसमा सागर ढकाल एक्लैले तीन महत्वपूर्ण विकेट लिए । उनले युएईका शीर्ष तीन खेलाडीलाई सुरुवातमै आउट गराएपछि नेपालको जितको बाटो तय भएको थियो ।

सागरले युएईका प्रारम्भिक ब्याट्सम्यान सेइद हैदर (१५), तेस्रो क्रमका ब्याट्सम्यान भृत्य अरभिन्द (२८) र चौथो क्रमका ब्याट्सम्यान अन्स टन्डन (१२) तीनैजनालाई एलबिडब्ल्यू आउट गराएका थिए । ७ ओभर बलिङ गरेका सागरले दुई मेडनसहित २० रन मात्रै खर्चिए । भृत्यले जोडेको २८ रन नै खेलमा युएईका लागि कुनै पनि ब्याट्सम्यानले जोडेको व्यक्तिगत सर्वाधिक रन बन्यो ।  उनीबाहेक स्पिनरद्वय सूर्य तामाङ र पवन सर्राफले दुई–दुई विकेट लिए । यस्तै, मध्यम गतिका बलर रासिद खानले दुई र कमलसिंह ऐरीले थप एक विकेट लिएका थिए ।

नेपाली टोली स्वदेश फर्कंदै 
प्रतियोगिताको समूहगत चरणबाटै बाहिरिएको नेपाल बुधबार स्वदेश फर्कँदै छ । नेपाली टोली बुधबार बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने टोली व्यवस्थापक रमण शिवाकोटीले जानकारी दिएका छन् ।