पाइपलाइनबाट इन्धन ल्याउने २५ वर्षदेखिको सपना पूरा : वार्षिक २ अर्ब ढुवानी खर्च जोगिने

२०७६ भदौ २५ बुधबार ०६:२०:००

दक्षिण एसियाकै पहिलो क्रसबोर्डर मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेका छन् । दुई प्रधानमन्त्रीले आ–आफ्ना देशका राजधानीबाट रिमोटमार्फत आयोजनाको उद्घाटन गरेका हुन् । 

उद्घाटनसँगै अढाई दशकभन्दा लामो समयदेखि चर्चा र प्रतीक्षाको विषय भएको पाइपलाइनबाट डिजेल आउन थालेको छ । प्रधानमन्त्रीहरूको उद्घाटनपछि पाइपलाइनमार्फत आएको डिजेल भारतीय आयल कर्पोरेसन (आइओसी)का कार्यकारी निर्देशक जेपी सिन्हाले बोतलमा थापेर नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेललाई हस्तान्तरण गरेका थिए । 

भारतीय आयल कर्पोरेसनको लगानीमा बनेको ६९ किलोमिटर लामो पाइपलाइनमार्फत सुरुमा डिजेल आयात हुनेछ । सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमणका वेला पाइपलाइन निर्माणको सहमति भएको थियो । गत वर्षको अप्रिलमा प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा दुई प्रधानमन्त्रीले दिल्लीबाट पाइपलाइनको ‘रिमोट शिलान्यास’ गरेका थिए । शिलान्यास भएको १५ महिनामा पाइपलाइन निर्माण सम्पन्न भएको हो ।

पाइपलाइन निर्माणमा ५ अर्ब ३४ करोड रुपैयाँ खर्च भएको छ । आयल निगामको अमलेखगन्ज डिपोमा थप भण्डारणगृह बनाउन १ अर्ब २३ करोड रुपैयाँ थप लगानी हुँदै छ । नेपाल आयात हुने डिजेलमध्ये ७० प्रतिशत पाइपलाइनमार्फत आउने अपेक्षा छ । 

आइओसी प्रमुख सिन्हाले पाइपलाइन बिछ्याउनका लागि सबैभन्दा ठूलो चुनौतीका रूपमा पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको काम रहेको बताए । जंगलको ९ किलोमिटर क्षेत्रमा सुरुमा परियोजना असम्भवजस्तो देखिए पनि नेपाल सरकारको सहजीकरण भूमिकाले ठूलो काम गरेको भन्दै प्रशंसा गरे ।

 १५ महिनाअघि नै सम्पन्न
दुई देश र आयल निगमहरूको सक्रियताका कारण पेट्रोलियम पाइपलाइन परियोजना समयभन्दा १५ महिनाअघि नै सकिएको छ । पाइपलाइन विस्तार गर्नुपर्ने क्षेत्रमा रहेका घर–टहरा, खोलानाला तथा निकुञ्जसमेत रहेकाले समय लाग्न सक्ने भन्दै ३० महिनाको समयसीमा तोकिएको थियो । सोचेजस्तो बाधा–अवरोध झेल्नुनपरेको निगमका प्रबन्ध निर्देशक पौडेलले जानकारी दिए । सडकको क्षेत्राधिकारभित्र रहेको जग्गाबाटै पाइपलाइन विस्तार भएकाले मुआब्जालगायतका कुनै पनि समस्या झेल्नुपरेन ।

 पाइपलाइनको सुरक्षा नेपाली सेनालाई
नेपालतर्फको ३६ दशमलव २१ किलोमिटर लामो पाइपलाइनको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ । पाइपलाइन विस्तार क्षेत्र बारा र पर्सा जिल्लामा पर्छ । पर्साको बोर्डरदेखि परवानीपुरसम्म वीरगन्जस्थित चण्डीप्रसाद गण र बारातर्फ परवानीपुरदेखि अमलेखगन्जसम्म चन्दननाथ गणले सुरक्षा दिने निगमले जनाएको छ । 
 कस्तो छ पाइपलाइन ? 
त्यसो त विश्वमा पाइपलाइनबाट पेट्रोलियम पदार्थ ढुवानी गर्न सुरु गरिएको १ सय ५५ वर्षभन्दा बढी भइसकेको छ । र, विश्वले पेट्रोलियम ढुवानीको यो सबैभन्दा सस्तो प्रविधिबाट लाभ लिन थालेको डेढ शताब्दीपछि नेपालमा पनि पाइपबाट तेल आउने भएको छ ।

 दक्षिण एसियाकै पहिलो क्रसबोर्डर पाइपलाइन 
६९ किलोमिटर मोतीहारी–अमलेखगन्ज पाइपलाइन दक्षिण एसियाकै पहिलो अन्तरदेशीय (क्रसबोर्डर) पाइपलाइन हो । नेपालतर्फ वीरगन्जदेखि अमलेखगन्जसम्म ३६ दशमलव २ किलोमिटर पाइपलाइन निर्माण भएको छ । पाइपलाइनको भारततर्फ मोतीहारी–रक्सौल खण्ड ३२ दशमलव ७ किलोमिटर छ । 

मोतीहारीदेखि अमलेखगन्जसम्म सबै पाइपलाइन जमिनमुनि अढाई मिटर गहिरो खनेर गाडिएको छ । बाराको परवानीपुरमा २ किलोमिटर र जितपुरमा १.६ किलोमिटर दूरीमा भने बस्ती र बजार जोगाउन ड्रिलिङ गरी पाइप बिछ्याइएको छ । ६ देखि १६ मिटर जमिनुमनि तलसम्म ड्रिलिङ गरी पाइप गाडिएको हो ।

 अमेरिकी मापदण्डको पाइपलाइन 
नेपालमा आउने पाइपलाइनको निर्माण अमेरिकी पेट्रोलियम इन्स्टिच्युट (एपिआई)को मापदण्डअनुसार भइरहेको जानकारी पनि पौडेलले दिए । एपिआई मापदण्डअनुसारकै १० दशमलव ७५ इन्च मोटाइ (बाहिरी डायमिटर) भएको पाइप यहाँ बिछ्याइएको छ । बिहारको पटनादेखि सिबानसम्म १२ इन्च मोटाइको पाइप बिछ्याइएको छ । सिबानबाट भारतकै बेतालपुर र नेपालको अमलेखगन्जसम्म १० दशमलव ७५ इन्चको पाइप राखिएको छ । 

 एक घन्टामा दुई सय किलोलिटर तेल
पाइपलाइनमा पटनाबाटै पम्पिङ भएर तेल आउनेछ । नेपालतर्फ उचाइ बढी भएकाले दुईवटा पम्पले तेल पम्पिङ गर्नेछन् । एक घन्टामा दुई सय किलोलिटर तेल अमलेखगन्जमा आइपुग्ने आयल निगमले जानकारी दिएको छ । पाइपलाइनमा पहिलो चरणमा डिजेल ल्याइनेछ । 

 ५ अर्ब १८ करोड लागत 
पाइपलाइन निर्माणका लागि सुरुमा ४ अर्ब ४० करोड रुपैयाँ (२ अर्ब ७५ करोड भारु) लागत अनुमान गरिएको थियो । त्यसमध्ये २ अर्ब भारु आइओसीले र ७५ करोड भारु नेपाल आयल निगमले व्यहोर्ने सहमति भएको थियो । तर, बजार क्षेत्रमा ड्रिलिङ गर्नुपर्ने भएपछि परियोजनाको लागत ३ अर्ब २४ करोड भारु (५ अर्ब १८ करोड रुपैयाँ) पुगेको छ । 

परियोजनाको प्रस्ताव अढाई दशकअघि नै गरिएको थियो । तर, नेपाल र भारतबीच तीन वर्षअघि पाइपलाइन बनाउने सम्झौता भएपछि परियोजनाले गति लिएको हो । गत वर्षको ७ अप्रिलमा दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा पाइपलाइनको शिलान्यास गरेका थिए । 

बाराको अमलेखगन्जको पेट्रोलियम पाइपलाइनको उद्घाटनका क्रममा भिडियो कन्फरेन्सका माध्यमबाट दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग काठमाडौंमा कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली (बीच) । साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञावली (दायाँ छेउ) र उद्योग वाणिज्य तथा अपूर्तिमन्त्री मातृका यादव । उद्घाटनका क्रममा सिँगारिएको पेट्रोलियम पाइपलाइनको अन्तिम गन्तव्य बाराको अमलेखगन्ज (तल तस्बिर) । तस्बिर : नयाँ पत्रिका 

यो पाइपलाइन निर्माण गरिएपछि यसैको समानान्तर रूपमा सडकको अर्कोपट्टि ग्यासको पाइपलाइन निर्माणको पनि प्रस्ताव नेपालले गरेको छ । त्यस्तै, भारतको सिलिगुडीबाट नेपालको झापासम्म अन्तरदेशीय र अमलेखगन्जदेखि चितवनको लोथरसम्म आन्तरिक पाइपलाइन निर्माणका लागि अध्ययन पनि अघि बढेको छ ।

नेपाल–भारत कनेक्टिभिटीको सर्वश्रेष्ठ उदाहरण
 केपी शर्मा ओली, प्रधानमन्त्री 

निर्धारित समयको आधा अवधिमै सम्पन्न भएको अन्तरदेशीय पाइपलाइन उद्घाटनको अवसर हामी दुई मुलुकका प्रधानमन्त्रीलाई प्राप्त भएको छ, वास्तवमा यो उत्साहजनक विषय हो । यो परियोजनाले भारतबाट नेपालमा पेट्रोलियम पदार्थ ढुवानीमा समय बचत गर्ने, लागत घटाउने, सवारी यातायात कम गर्ने र वायु प्रदूषणलाई कम गर्नेछ ।

यस प्रकारका पाइपलाइनहरूको विस्तारका लागि नेपालले अरू अवसर खोजी गर्नेछ । यस पाइपलाइनले नेपाली उपभोक्ताहरूमा सकारात्मक प्रभाव परेको छ । आजैदेखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा दुई रुपैयाँ मूल्य घटाएको छ ।

यसबाहेक परियोजनाले दुई देशका बीचमा परस्पर सम्बन्ध र पारस्परिक निर्भरता बढाउनेछ । नेपाल र भारतको ट्रेड र ट्रान्जिट पूर्वाधारको सम्बन्धमा कनेक्टिभिटीको सर्वश्रेष्ठ उदाहरणसमेत हुनेछ ।

नेपाल–भारत मित्रताको विशेष दिन
 नरेन्द्र मोदी, भारतीय प्रधानमन्त्री

आज भारत–नेपाल मित्रताको विशेष दिन हो । मेरा मित्र प्रधानमन्त्री ओली र मैले संयुक्त रूपमा भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म रहेको दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पदार्थ पाइपलाइनको उद्घाटन ग-यौँ । यो परियोजना निर्धारित समयभन्दा धेरैअघि नै सम्पन्न भएको विषय थाहा पाउँदा तपाईंहरू निश्चय नै खुसी हुनुहुनेछ ।

मोतीहारी–अमलेखगन्ज पाइपलाइनले नेपालका जनतालाई सुलभ मूल्यमा अझै सफा पेट्रोलियम पदार्थ दिनेछ । नेपाल र भारतबीचको सहकार्यले हाम्रा जनताको परस्पर लाभका लागि नयाँ उचाइ प्राप्त गरेकोमा म हर्षित छु । 

डिजेलको सबै ढुवानी खर्च जोगियो
पाइपलाइनबाट डिजेल ल्याउन सुरु गरिएपछि वार्षिक २ अर्ब ढुवानी खर्च जोगिने निगमले जनाएको छ । अहिले भारतका डिपोबाट अमलेखगन्जसम्म दैनिक १ सयदेखि १ सय १२ ट्यांकर डिजेल आयात भइरहेको छ । अमलेखगन्जसम्म ल्याउँदा प्रतिट्यांकर भाडा मात्रै ५० हजार रुपैयाँ लाग्ने गरेको निगमको भनाइ छ ।

त्यस हिसाबले पाइपलाइनबाट डिलेज आयात गर्दा वार्षिक २ अर्ब रुपैयाँभन्दा बढी ढुवानी खर्च जोगिनेछ । त्यस्तै, ट्यांकरबाट पेट्रोलियम ढुवानी गर्दा तापक्रमका कारण १ प्रतिशतसम्म कम हुने (लस) गर्छ ।

जमिनमुनिको पाइपलाइनबाट तेल ल्याउँदा तापक्रमका कारण कुनै क्षति हुँदैन । त्यसबाट पनि निगमलाई ठूलो फाइदा हुनेछ । ढुवानी खर्च र तापक्रमका कारण हुने क्षति घट्दा उपभोक्ताले प्रतिलिटर ३ देखि ४ रुपैयाँ कममा डिजेल पाउने सम्भावना छ ।

 

 

 

 

सम्बन्धित समाचार