भुवन चन्द अभिनेत्री/निर्मात्री

फिल्मको राजनीति सबैभन्दा जटिल

२०७६ भदौ ७ शनिबार ०८:४०:००
राज सरगम काठमाडाैं

नेपालमा बनेको पहिलो फिल्म ‘आमा’की नायिका भुवन चन्दको बाल्यकाल, यौवनावस्था र अहिले प्रौढकाल पनि फिल्ममै समर्पित छ । विक्रम संवत् ०११ सालतिर (१० वर्षको उमेरमा) बालकृष्ण समको नाटक ‘अन्धवेग’ मा बाल कलाकर भएर रंगमञ्चमा उदाएकी चन्दले ६ दशक अभिनयमै बिताइन् । थियटर, सेलुलाइट र डिजिटल फिल्मसम्म आइपुग्दा पनि अभिनयमै सक्रिय छिन् । अभिनयभन्दा पर नसोचेकी चन्दले अहिले आएर ‘साइनो’ फिल्म निर्माण गरिन् । साइनो फिल्म निर्माणको अनुभव सुनाउँदै भनिन्, ‘अभिनयमा अन्तर त छैन । तर, प्रविधिले धेरै फड्को मारिसकेछ ।’

अभिनयभन्दा फिल्म निर्माण कठिन
प्रथम नायिकाले कस्तो फिल्म निर्माण गरिन् होलिन् भन्ने जिज्ञासा स्वाभाविक हो । फिल्म निर्माणमा आफूलाई सिकारु ठान्ने चन्द भन्छिन्, ‘अभिनयभन्दा  फिल्म निर्माण गर्न कठिन लाग्यो ।’

फिल्म निर्माण गर्नु सिंगो टिम जुटाउनु हो । टिममा सबै सहयोगी नहुन सक्छन् । सहयोगी हात फेला नपर्न सक्छन् । उनले यो अनुभव संगालेकी छिन् । फिल्म वृत्तमा सहयोगी हात भेटिन मुस्किल भएको बताउने चन्दलाई सोचेजस्तो सहयोग नपाएको गुनासो पनि छ । तर, केही सहयोगी मनविना फिल्म निर्माण गर्न नसकिने तर्क गर्छिन् उनी । पहिलेको तुलनामा अहिले कलाको सम्मान नभएको बताउने चन्द भन्छिन्, ‘पहिला मिलेर फिल्म गरिन्थ्यो । एकअर्काको प्रतिभालाई कदर गरिन्थ्यो । अहिले  ती सबै पैसामा बार्गेनिङ हुँदा रहेछन् ।’ 

साइनो फिल्म निर्माणका क्रममा कसैलाई पनि निःशुल्क काम नलगाएको दाबी उनको छ । तर, फिल्म हलसम्म पुर्‍याउन निकै कठिन रहेको बताउँछिन् । हलसम्म पुर्‍याउने क्रममा धेरै वितरक तथा फिल्मकर्मीको वास्तविक अनुहार देख्न पाएको बताउने चन्द कुनै फिल्म निर्देशकको कुरा सापटी लिएर भन्छिन्, ‘निर्माण गर्न जति सजिलो भए पनि प्रदर्शन गर्न निकै गाह्रो रहेछ ।’ 

अहिले त चलचित्र जुधाउने खेल, वितरक–वितरक भिड्ने खेल, हलको लफडा, हिन्दी फिल्मको वर्चस्वजस्ता कुरामा लेनदेन हाबी भएको रहेछ । राजनीति बुझ्न जटिल लाग्थ्यो । त्योभन्दा फिल्म चलाउने राजनीति पो जटिल लाग्यो । 

साइनोको डेट जुराउन, हल पुर्‍याउन, ठूलै राजनीति गर्नुपरेको दुखेसो पोख्छिन् उनी । यस किसिमको विकृति बढ्नुको कारण हलको संख्याभन्दा बढी फिल्म निर्माण भएको बताउँछिन् । चलचित्र जुधाउने खेल, वितरक–वितरक भिड्ने खेल, हलको लफडा, हिन्दी फिल्मको वर्चस्वजस्ता कुराहरूमा लेनदेन नै हाबी भएको अनुभव निर्मात्री भएपछि उनले संगालिन् । भन्छिन, ‘राजनीति बुझ्न जटिल लाग्थ्यो । त्योभन्दा फिल्म चलाउने राजनीति पो जटिल लाग्यो । एक–अर्काको खुट्टा मात्रै तान्ने रहेछन् ।’

निर्माताले ‘लगानी गरेपछि फिल्म बनिहाल्छ नि’ भन्ने मानसिकता धेरैमा छ । तर, चन्दको निजी अनुभवले त्यो स्विकार्दैन । उनी भन्छिन्, ‘राम्रो फिल्म टिमले बन्छ ।’ राम्रो ‘टिम होमवर्क’मा बनेका केही फिल्म बजारमा रामै्र चलेको बताउँछिन् । टिमले गरेको काममा लगानी गर्न निर्माता पनि नडराउने बताउने चन्द थप्छिन्, ‘लगानीभन्दा पनि टिम र प्रविधिको भूमिका बलियो हुनुपर्दो रहेछ ।’

प्रविधिले फड्को मार्‍यो
डिजिटल युगसँगै फिल्म निर्माण बढेको देख्ने चन्दले यति सजिलै प्रविधि जुटाउन सकिएला भन्ने कहिल्यै सोचेकी थिइनन् । साइनो निर्माणका क्रममा कथाले मागेको स्रोतसाधन दिन निकै सहज भएको सुनाउने चन्द भन्छिन्, ‘अहिले त फिल्मको आधा हिस्सा प्रविधि भइसकेको रहेछ ।’

रिल, प्रोजेक्ट, जस्ता स्रोत र साधानलाई ल्याउन/राख्न निकै जोखिम भएका दिनहरू सम्झिँदै उनले अहिलेको डिजिटल प्रविधिले छिटो र भरपर्दो बनाएको अनुभव साटिन् । पहिलेको तुलनामा अहिले सुटिङ गर्न सहज देख्छिन्, उनी । प्रविधिले टाढा भएका कलाकारलाई पनि एकै ठाउँमा बनाएको महसुस गर्ने चन्द भन्छिन्, ‘हाम्रो पालामा डबिङ दुई जना सँगै बसेर गर्नुपथ्र्यो ।’नेपाली फिल्ममा प्रविधि फेरिएसँगै कथा पनि फेरिएको बताउने चन्द थप्छिन्, ‘डिजिटल प्रविधिको जाँतोमा  मौलिक कथा भने पिसिएको छ ।’

कथा भन्ने तरिका फेरियो 
आफूले मौलिक कथामा ‘साइनो’ निर्माण गरेको दाबी गर्ने चन्द पछिल्ला फिल्महरूमा कथा नभएको ठोकुवा गर्छिन् । भन्छिन्, ‘पहिला मन छुने कथा हुन्थ्यो । अभिनय पनि स्वाभाविक लाग्थ्यो । साँच्चै हो कि झैँ हुन्थ्यो तर अहिलेका फिल्ममा गीत मात्रै हिट बनाउन खोजिन्छ ।’

फिल्ममा कथा हराएको बताउँछिन्, चन्द । गाउँघरको कथा मर्‍यो । आफ्नो पालामा निर्देशक, कलाकारले कथामा बढी जोड दिएको अनुभव सुनाउँछिन् । ‘अहिले कथाभन्दा बढी प्रविधि र फेसनलाई एक्सपोज गर्न लागिएको छ,’ उनको गुनासो छ । प्रविधिको विकाससँगै मौलिक कथा नछुटाइदिए हुन्थ्यो भन्ने उनको तर्क छ । भन्छिन्, ‘फिल्म चालिसको दशक अगाडिको हुनैपर्छ भन्ने होइन, तर कथामा नेपालीपन देखियोस् । हाम्रो मौलिकता झल्कियोस् भन्ने मात्रै हो ।’

कथाको पकड बलियो चाहिन्छ भन्ने तर्क राख्ने भुवनलाई साइनोको कथा मन परेर काम गरेको बताउँछिन् । नेपाली समाजमा पछिल्लो पुस्तामा नाता÷साइनो कसरी हराउँदै गइरहेको छ भन्ने कथा साइनोमा पस्कन खोजेको बताउने चन्द भन्छिन्, ‘कथा मन परेर मात्रै काम गरेकी हुँ । अहिले त कथाप्रधान फिल्म बन्नै छोडे । सतही विषयमै फिल्म बन्न थाले ।’

समयसँगै समाज फेरिए पनि मानिसको अनुभूति नफेरिएको धारणा चन्दको छ । समाजमा इन्टरनेट र फेसनले केही चरित्रहरू बदलिदिए पनि मानिसका कथा अझै सामाजिक परिवेशभन्दा माथि नउठेको बताउँछिन् । भन्छिन्, ‘प्रविधिको एकाध चिज थपिए पनि सामाजिक कथा अझै फेरिएको छैन ।’

फिल्ममा मौलिक कथा टिप्न नसकेको गुनासो गर्ने चन्द, कथा भन्ने तरिकामा गल्यामर भित्रिएको देख्छिन् । यति हुँदाहुँदै पनि पछिल्ला वर्षहरूमा राम्रा फिल्म बनिरहेको बताउने चन्द भन्छिन्, ‘केही पढेर आएका छन् । सायद अब यिनीहरूले नयाँपन ल्याउँछन् कि ।’

गल्यामर हाबी भयो 
कुनैवेला घुँडा छोप्नुपथ्र्यो । कुहिना देखाउनुहुँदैन थियो । खाली पैतला अर्गानिक लोकेसनमा नाच्नुपथ्र्यो । अहिलेका नायिकालाई त्यो जोखिम नभएको बताउँछिन्, चन्द । गल्यामर केही बढे पनि मौलिकपन नछुटाइदिए हुन्थ्यो भन्ने चन्दको अपेक्षा छ । भन्छिन्, ‘मौलिक कथा मौलिक ड्रेस, नछुटेको भए हुन्थ्यो ।’ जति छोप्यो त्यति राम्रो बताउने चन्द आक्रोशित हुँदै भन्छिन्, ‘हेर्ने जमना हो भन्दैमा उदांगिनुभएन ।’

अचेल फिल्ममा गाउँघरको कथा मर्‍यो । हाम्रो पालामा निर्देशक र कलाकारले कथामा बढी जोड दिन्थे । अहिले त कथाभन्दा बढी प्रविधि र फेसनलाई एक्सपोज गर्न लागिएको छ ।

आफ्नो पालामा जस्तै हुनुपर्छ भन्ने उनको अडान पनि छैन । तर, संस्कृति, संस्कारलाई आत्मासाथ नगरेको प्रति उनको गुनासो छ । आप्mनो फिल्ममा चौबन्दी चोलोलाई समेटेको बताउँछिन् । भन्छिन्, ‘गल्यामर ‘अदा’पो दिनुपर्‍यो लुगा छोट्याएर होइन ।’

स्वदेशी संस्कार बिर्सिएर विदेशी संस्कृति हाबी भएको तर्क छ उनको । देखासिखीमा मौलिक ड्रेस हराउँदै गएको बताउँछिन्, उनी । नायिका प्रधान फिल्ममा समेत ड्रेसअपमा ध्यान नदिएको देख्छिन् चन्द ।   भन्छिन्, ‘त्यसवेला हिरोइन प्रधान फिल्म हुन्थ्यो, ड्रेस पनि सुहाउँदो हुन्थ्यो । आजभोलिका फिल्ममा ती ड्रेसलाई बेवास्ता गरियो ।’

उनी फिल्म क्षेत्रलाई पवित्र मान्छिन् । ड्रेसका कारण फिल्मलाई ‘हेट’ नगरून् भन्ने तर्क उनको छ । नेपालभित्रकै कथा छुटिरहेका वेला अनेक तामझामका साथ विदेशी फिल्मका नक्कल गर्दा फिल्ममा थप गल्यामर भित्रिएको उनी बताउँछिन् । केही फिल्मकर्मीले गलत तरिकाले अथ्र्याउन खोज्दा गल्यामर हाबी भएको बताउने चन्द भन्छिन्, ‘फिल्मलाई खस्काउने काम केही स्वार्थी मान्छेले गरेका छन् । जसले फिल्मलाई कला पनि हो भन्ने नबुझेर व्यापार मात्रै बनाएका छन् ।’

पछिल्ला केही फिल्म हलमै गएर हेरिन्, उनले । फिल्ममा केही सुधारका संकेत देखेकी चन्दले आफूले निर्माण गरेको साइनोको कथामा गल्यामर आमदर्शकले हेर्न सक्ने र पचाउन सक्ने बनाएको दाबी गर्छिन् । भन्छिन्, ‘फिल्म भनेको परिवारसँग बसेर हेर्दा पनि सहज अनुभूति हुनुपर्छ ।’

नायिकाको सोच्ने क्षमता नौलो  
‘नृत्य गर्नु हाम्रो पालामा निकै उत्ताउलो ठान्थ्यिो, हिरोइन हुनु त परको कुरा,’ आफ्ना बितेका दिन सम्झिँदै भन्छिन्, ‘साँघुरो चेतना भएका मानिसका बीचमा सामाजिक विभेदका झन् ठूला खाडल थिए  ।’ 

त्यो समय आफूलाई स्थापित गर्नु आफैँमा ठूलो चुनौती थियो । कलाको महत्व नबुझ्ने समय थियो । उनको बाल्यकाल र युवा अवस्थामा प्रतिभालाई कदर गर्न हिचकिचाउने मानिस भेटिन्थे । तर, चन्दले आफूभित्रको प्रतिभालाई निरन्तर अभिनयमा ढालिन् । भन्छिन्, ‘नाच्ने/अभिनय गर्ने कामलाई प्रशंसाभन्दा बढी कुरा काटिन्थ्यो ।’

हाम्रो पालामा डबिङ पनि दुईजना सँगै बसेर गर्नुपथ्र्यो । नेपाली फिल्ममा प्रविधि फेरिएको छ । प्रविधिसँगै कथा पनि फेरिएको छ । डिजिटल प्रविधिको जाँतोमा मौलिक कथा  पिसिएको छ ।
 

हिरोइनलाई हेर्ने दृष्टिकोण हिजो जस्तो छ, आज पनि उस्तै रहेको बताउँछिन् चन्द । तर, पहिलेको तुलनामा अहिलेका नायिकाहरू बोल्न सक्ने भएको बताउँछिन् । समाजका केही पात्रले अलिअलि देखिएको गल्यामारलाई बढाइचढाइ आलोचना गर्ने परिपाटी अझै कम नभएको उनले पाएकी छिन् । तर, नायिकाहरू आत्माविश्वासका साथ त्यस्ता टिप्पणीसँग जुध्न सक्ने भएको बताउँछिन् । ‘अहिलेका नायिका कथा र अभिनयलाई बुझ्न सक्नेछन् । सोचेभन्दा बढी परफर्मेन्स दिन सक्छन्,’ उनले भनिन् । 

नायिकाहरूले शिक्षा र फिल्मलाई बुझेर हात हालिदिऊन् भन्ने उनको अनुरोध पनि छ । ‘अहिलेको नायिकाहरू दुनियाँ बुझ्नेछन् । विश्वका फिल्महरू हेरेका छन् । फिल्म बुझेका छन् । फिल्मकर्मीले कस्तो रेस्पोन्स दिँदै छन् भन्ने अनुमान लगाउन सक्ने भएका छन् । उनी भन्छिन, ‘कहाँ–कस्तो अभिनय गर्नुपर्छ भन्ने चेतना अहिलेका नायिकाहरूमा छ ।’

पछिल्ला केही फिल्म महिला प्रधान बन्न लागेको प्रति उनी खुसी छिन् । महिला प्रधान फिल्मले नायिकामाथि थप आत्माविश्वास बढेन उनको बुझाइ छ । कतिपय नायिकाहरू आफूलाई एक्सपोज गर्न डराउँदैनन् । सुहाउँदो र पचाउन सक्नेखालको एक्सपोज पनि गर्दा फरक नपर्ने तर्क गर्ने चन्द निर्धक्क भन्छिन्, ‘हिरोइनले आफूलाई मात्रै होइन्, समाजलाई पनि हेर्नुपर्छ ।’

आफ्नो पालामा कलाकार खोजेर भौँतारिने दिन रहेको बताउने चन्द अहिले कथाले मागेअनुसारको पात्र छानेर कास्ट गर्न मिल्ने दिन देख्छिन् । नायिकाहरू स्वयं निजी व्यवसाय गर्दै कलाकारिता पनि गरिरहेका छन् । कलाकारले कलाकारिता मात्रै नभएर सामाजिक काममा पनि हात हालेको देखेर उनी गर्व गर्छिन् । पढेलेखका र अभिनय बुझेका नायिकाहरूको फिल्म क्षेत्रमा खाँचो देख्ने चन्द भन्छिन्, ‘फिल्म क्षेत्रको परिवार्तनमा पढेलेखेका भाइबहिनीको प्रवेश अनिवार्य छ ।’