स्वास्थ्य पर्यटन प्रवर्द्धनमा मलेसियाका अस्पतालको प्याकेज

२०७६ श्रावण २८ मंगलबार ०८:२१:००

मलेसियाका अस्पतालले स्वास्थ्य पर्यटन (मेडिकल टुरिजम) प्रवर्द्धन गर्न विभिन्न प्याकेजमा सुविधा दिन थालेका छन् । उपचार र भ्रमणसँगै गराउने उद्देश्यले त्यहाँको सरकारले नै मेडिकल टुरिजमलाई प्रवर्द्धक गरिरहेको अवस्थामा अस्पतालले प्याकेज घोषणा गरेका हुन् । मलेसिया हेल्थ केयर ट्राभल काउन्सिल (एमएचटिसी) स्थापना गरी सरकारले समेत यस क्षेत्रलाई प्राथमिकता दिएको छ । 

मलेसियाका कतिपय अस्पतालले विदेशी नागरिकलाई लक्षित गरी छुट्टै सहायता कक्षसमेत स्थापना गरेका छन् । आर्थिक रूपमा कमजोर देशका मात्र होइन सम्पन्न देशका नागरिकसमेत उपचार गर्न मलेसिया पुग्ने गरेका छन् । प्याकेजमा आउने बिरामीलाई अस्पतालले विमानस्थलबाटै जिम्मा लिएर होटेलमा राख्ने, उपचार गर्नेलगायत जिम्मेवारी लिने गरेका छन् । अस्पतालले बिरामीलाई उपचार र विभिन्न स्थानको भ्रमणको व्यवस्था गर्छन् । बिरामी घुम्नका लागि प्याकेज उपलब्ध गराउँछन् । 

जापान, चीन, सिंगापुर, अस्ट्रेलिया, सोमासिया, इन्डोनेसियालगायत देशबाट उपचारका साथै घुम्न आउने गरेका छन् । निजी क्षेत्रको ठूलो अस्पताल सनवे मेडिकल सेन्टरमा वर्षेनी ५० हजार विदेशीले उपचार सेवा लिने गरेका छन् । जापानलगायत देशबाट उपचार गर्न आउने गरेका छन् । अस्पतालले जापानबाट आउने बिरामीका लागि छुट्टै ‘पेसेन्ट सेन्टर’ स्थापना गरेको छ । उसले जापनिज भाषा बोल्ने कर्मचारी राखेर सुविधा दिने गरेको छ । भिभिआइपीका लागि अस्पतालभित्रै पौडी पोखरीलगायत सुविधा र सुरक्षासमेत व्यवस्था गरेको छ । अस्पतालका अधिकारीका अनुसार सिंगापुरलगायत अन्य देशको तुलनामा सस्तोमा आधुनिक उपकरणसहित सेवा दिने गरेको छ । अस्पतालले पर्यटन प्रवद्र्धन गरिरहेको छ । सिभिएस हस्पिटलले पनि मलेसिया उपचार गर्न आउनेलाई प्याकेजमा सुविधा दिएको छ । 

क्वालालम्पुरको प्रिन्स कोर्ट मेडिकल सेन्टरले पनि ‘इन्टरनेसन बिजनेस लंग’ स्थापना गरेर विदेशीलाई सुविधा दिएको छ । इन्डोनेसियालगायत धेरै बिरामी आउने देशलाई विशेष अफर दिने गरेका छन् । सस्तो शुल्कमा अस्पतालमा सम्पर्क गरेपछि विमानस्थलबाट अस्पताल ल्याउने, उपचार गर्ने, होटेल पुर्‍याउने लगायत सुविधा दिने गरेको अस्पतालका अधिकारीले बताए । यो अस्पताल फर्टिलिटीलागायतका लागि प्रख्यात छ । ग्लेनेगल्स अस्पतालका एन्डीले विदेशी बिरामी आउने क्रम बढेको बताए । 

विमानस्थलमा एमएचटिसीको कक्ष
एमएचटिसीका डाइरेक्टर जसदेव सिंहका अनुसार एमएचटिसीमा आबद्ध हस्पिटललाई सपोर्ट गर्ने र नेपाली बिरामी ल्याउन पनि पहल गर्ने बताए । नेपाली अहिले सिंगापुर र थाइल्यान्ड गइरहेका र थप मार्केटिङ गरी उनीहरूलाई मेडिकल प्याकेजमा मलेसिया ल्याउने पहल गर्ने बताए । मलेसियाका सबै अन्तर्राष्ट्रिय तथा डोमेस्टिक विमानस्थलमा मेडिकल टुरिस्टलाई सहयोग एमएचटिसीको कक्ष राखेको सिंहले बताए ।