मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ मङ्सिर १७ शनिबार
  • Saturday, 03 December, 2022
२०७६ श्रावण २३ बिहीबार ०८:२९:००
Read Time : < 1 मिनेट
अर्थ

ऋणपत्र भनेको के हो ?

Read Time : < 1 मिनेट
२०७६ श्रावण २३ बिहीबार ०८:२९:००

अर्थ जानकारी

कुल ऋण पुँजीलाई सर्वसाधारणले खरिद गर्न सक्ने गरी स–साना इकाइमा विभाजन गरिएको अंश वा इकाइलाई ऋणपत्र भनिन्छ । अझै प्रस्ट रूपमा भन्नुपर्दा कम्पनीले ऋणमा लगानी गर्ने पक्षलाई ऋणको रकम, ब्याजदर र भुक्तानी विधिका सर्तहरू उल्लेख गरी आधिकारिक रूपमा गरिदिएको लिखित पत्र नै ऋणपत्र हो । 

तोकिएको दर र समयमा सावाँ र ब्याज भुक्तानी गर्ने सर्तमा जारी गरेको धितोपत्रलाई डिबेन्चर भनिन्छ । यसको अंकित मूल्य हुन्छ । लगानीकर्ताले सर्तअनुुसार तोकिएको दरमा ब्याज प्राप्त गर्दछ । कम्पनीले साधारण सेयर र अग्राधिकार सेयरलाई लाभांश बाँड्नुअघि नै ऋणपत्रको लगानीकर्तालाई ब्याज भुक्तानी गर्नुपर्छ । सम्बन्धित संस्था नोक्सानीमा गए पनि लगानीकर्ताले प्राप्त गर्ने ब्याजमा कुनै बाधा पर्दैन ।

लगानीकर्ता र कम्पनीबीच साहु र ऋणीको जस्तै सम्बन्ध हुन्छ । कुनै कारणवश कम्पनीले सर्तअनुसार ब्याज भुक्तानी गर्न नसकेमा लगानीकर्ताहरूले कम्पनीलाई खारेजीमा पठाउनेसम्मको कारबाही गर्न सक्छ । ऋणपत्रका जोखिम उठाउन नचाहने लगानीकर्ताले लगानी गर्न रुचाउँछन् । ऋणपत्रधारीहरू कम्पनीको साधारणसभामा मताधिकार नहुने भएकाले कम्पनीको व्यवस्थापन नियन्त्रणमा उनीहरूको प्रभाव हुँदैन ।

त्यस्तै ब्याजदर पूर्वनिर्धारित हुने भएकाले धेरै नाफा आर्जन गर्दा पनि ऋणपत्रधारीहरूले नाफामा दाबी गर्न पाउँदैनन् । ऋणपत्रको परिपक्व अवधि दीर्घकालीन हुने भएकाले कम्पनीका लागि आवश्यक पर्ने स्थिर सम्पत्ति खरिद गर्न ऋणपत्रमार्फत पुँजी उठाइन्छ । पुँजीको आवश्यकता नभएमा केही रकम प्रिमियमबापत थप गरी फिर्ता गर्न सकिने प्रावधान हुन्छ । ऋणपत्रमा दिइने ब्याजलाई अन्य खर्चजस्तै तिर्नुभन्दा अगाडि नै खर्च लेख्न पाइन्छ । जसले गर्दा करको दायित्व कम हुन्छ ।