स्याङ्जाको गल्याङ नगरपालिका–७ स्थित आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवकको २३ घण्टापछि शव फेला परेको छ।
आइतबार दिउँसो २ः३० बजेतिर आँधीखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका सल्यानको सिद्धकुमाख गाउँपालिका–१ घर भई गल्याङ–११ मुडकिल्ला बस्ने २५ वर्षीय बलदेब बस्नेतको सोमबार दिउँसो १ः५० बजेको समयमा शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार गल्याङ–७ आँधीखोलास्थित पुलमा काम गर्ने उनी पौडी खेल्ने क्रममा बेपत्ता भएको स्थानमा मृत फेला परेका हुन्।
खोलामा डुबेर मानिस बेपत्ता भएको खबरपछि प्रहरी चौकी गल्याङ र ३० नम्बर हेडक्वाटर गुल्म वालिङबाट खटिएको सशस्त्रको टोलीले खोजतलास गर्ने क्रममा शव फेला पारेको हो। घटबारे थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।