मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७६ असार ३० सोमबार ०८:४९:००
Read Time : > 3 मिनेट
अर्थ

नयाँ मापदण्डले पोखरा लेकसाइडका होटेल व्यवसायीको लगानी जोखिममा

Read Time : > 3 मिनेट
२०७६ असार ३० सोमबार ०८:४९:००

पोखराको लेकसाईडका होटल क्षेत्रमा भएको लागानी फिर्ताका लागि बैंकहरुले व्यवसायीलाई दबाव दिएका छन् । फेवातालको मापदण्ड कायम गर्न सर्वोच्च अदालतले दिएको फैसला र त्यसलाई आधार मानेर पोखरा महानगरले निकालेको सूचनालाई आधार मानेर बैंक वित्तिय संस्थाले लगानी फिर्ताको दबाव दिएको ब्यवसायीहरुले जानकारी दिए । 
पोखरा महानगरले निकालेको सूचनालाई उच्च अदालत पोखराले बैद्धता नदिएपनि सूचना लगत्तै बैंक वित्तिय संस्थाहरुले ताल छेउका होटलहरुलाई लगानी फिर्ताका लागि दबाव बढाएको एक व्यवसायीले बताए ।

विगतमा महानगरसंग नक्सा पास गराएरै निर्माण गरिएका पूर्वाधारमा अहिले एकाएक लगानी फिर्ता गर्न बैंकले दबाव दिँदा आफूहरु मर्कामा परेको ति व्यवसायीको भनाई छ । ‘हामीले विगतमा महानगरबाट स्विकृति लिएर नै पूर्वाधार निर्माण गरेका हौं, त्यसैलाई आधार मानेर बैंकले सहजै ऋण दियो, त्यतिबेला मापदण्डको चर्चापनि थिएन,’उनले भने ‘अहिले विभिन्न बहाना बनाउँदै बैंक वित्तिय संस्थाले लगानी फिर्ताको दबाब दिएका छन्, यही अवस्थामा हामी न आफ्नो सम्पत्ति बेच्न सक्छौं, न लगानी फिर्ता नै गर्न सक्ने अवस्थामा छौं ।’

पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेलले बेला बखत फेरबदल भइरहने बैंक वित्तिय संस्थाको नीतिले व्यवसायी मर्कामा परेको भन्दै लगानी जोखिममा रहेको बताए । उनका अनुसार बैंकहरुले ठ्याक्कै लगानी फिर्ता गर नभने पनि सुरुमा ९ प्रतिशतमा लिएको ब्याजदर १४ प्रतिशत सम्म पु-याइएको र नभए लगानी फिर्ता दिनुस् भन्ने गरेको स्विकार गरे । सर्वोच्च अदालतले दिएको आदेश बमोजिम फेवातालको वरपर ६५ मिटरको मापदण्ड कति हो, त्यो टुंगो नलगाउँदा र विभिन्न भ्रम फैलाउँदा व्यवसायीलाई मर्का परेको उनले बताए । मापदण्ड टुंग्याइनुपर्ने, व्यवसायीको लगानी सुरक्षित गरिनुपर्ने र व्यवसायीलाई प्रोत्साहित गर्नुपर्नेमा झन त्रासमा राख्ने गरिएको उनको भनाई छ ।  

यसकारण जोखिम     

सर्वोच्च अदालतले फेवातालको मापदण्ड कायम गर्न निर्देशन दिएसंगै त्यसको असर ताल वरपरका व्यवसायीलाई परिसकेको छ । खासगरी गौरीघाट क्षेत्रका होटलहरुलाई बैंक वित्तिय संस्थाहरुले कस्न सुरु गरिसकेको त्यस क्षेत्रका होटल व्यवसायीहरुले बताएका छन् । त्यसैगरी लेकसाईडमा भौतिक संरचना निर्माण गर्दा(बाटो माथि) दुई तला भन्दा अग्ला संरचना बनाउन पाइन्न । तर अधिकांस संरचना उचाई मापदण्ड विपरित छन् । यिनै संरचना निर्माणका लागि उपयोग गर्न ऋण दिएका बैंक वित्तिय संस्थाले भोली केही भइहाले लगानी जोखिममा पर्ने ठान्नु स्वभाविक रहेको सिद्धार्थ बैंकका गण्डकी प्रदेश प्रमुख अमित श्रेष्ठ बताउँछन् । यद्यपी मापदण्ड विपरितका संरचनाका लागि बैंक वित्तिय संस्थाले लगानी नगरेका उनको दाबी छ ।

आफ्नो बैंकले कुनै जोखिम महसुस नगरेको भएपनि जनताको पैसा जोखिममा पर्नबाट जोगाउनु बैंकको दायित्व रहने उनले प्रष्टाए । ‘मापदण्ड विपरितको संरचनामा हाम्रो लगानी छैन, हामीले जोखिममा रहेको महसुस् पनि गरेका छैनौं, तर, बैंक वित्तिय संस्थाले लगानी फिर्ता हुने सुनिस्तिता खोज्छ, त्यो सुनिस्चित गर्ने आधार होटलका रुमहरु वा अग्लो भवन भित्रका संरचना रहेको सत्य हो, अहिले मापदण्डको कुरा उठीरहँदा के हुने भनेर पक्कै केही अन्योल आउन सक्छ र लगानी गरेको बैंकले केही दबाव दिएको भए त्यसलाई अस्वभाविक मान्नु हुँदैन,’ उनले भने ।            

नाट्टा पश्चिमाञ्चल संघ पोखराका अध्यक्ष सन्तोष पोखरेल व्यवसायी बीचको अस्वस्थ प्रतिस्पर्धा र सरकारले संरक्षण्को नीति नलिँदा समस्या रहेको बताए । बैंक वित्तिय संस्थाहरुले अस्वभाविक ब्याजदर बढाउनु, लगानी धेरै भएकाले मुनाफा धेरै भएको राजश्व कार्यालयले ठान्नु र त्यही अनुरुपको व्यवहार गर्नुलाई उनले अर्को चुनौति भनेका छन् । उनले खासगरी व्यवसायीहरु ऋण थप्ने र पूर्वाधार निर्माणमै लागेको बताए । जगेडा पुँजी विना लगानी गर्ने प्रचलनले ससाना कुरामा समस्या आउँदा पनि टाट पल्टने अवस्था आउने उनको भनाई छ । राज्यले संरक्षणको नीति लिए भोलीको भाविश्य सुन्दर रहेको नत्र धरासायी अवस्थामा व्यवसायी रहने उनको टिप्पणी छ ।                                                                                                          
पाँच खर्व लगानी 
नेपालमै पर्यटनको इपिसेन्टर मानिने पोखराको लेकसाईडमा पर्यटन क्षेत्रमा भएको लगानी जोखिममा रहेको स्वयम पर्यटन व्यवसायीले बताउन थालेका छन् । यस क्षेत्रमा पर्यटकीय गतिविधि गर्ने पूर्वाधारमा पाँच खर्व लगाउनी रहेको उनीहरुको दाबी छ । त्यो जमिन बाहेकको हो । लगानी भन्ने वित्तिकै जमिन, भवन र त्यसभित्रको सम्पत्ति सबैको मुल्यांक हुन्छ । यस हिसावले हेर्ने हो पर्यटकीय क्षेत्र लेकसाईडमा १० खर्वभन्दा धेरै लगानी रहेको पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेल दाबी गर्छन् । पाँच खर्बलाई आधार मान्ने हो भने त्यसमा कम्तिमा पनि बैंक वित्तिय क्षेत्रको लगानी हिस्सा तीन खर्वभन्दा बढी रहेको बैंकर्सहरुको दाबी छ । 

समस्या सुल्झाउन तत्काल पहलको खाँचो
नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख मणिराज लामिछाने लगानीको संरक्षण नगर्ने र विना योजना अहिलेकै अवस्थामा अगाडि बढे समस्या रहेको स्विकार गर्छन् । उनका अनुसार लेकसाईडमा होटल लगायतका पूर्वाधारमा लगानी ह्वात्तै बढेको छ । अस्वस्थ प्रतिस्पर्धा र विना योजनाको लगानी अर्को समस्या हो । पर्यटक संख्यात्मक रुपमा बढेपनि बसाई अवधि दुईदिनको हाराहारीमा छ । पूर्वाधारमा लगानी बढे अनुरुप पर्यटकको संख्या नबढेको प्रमुख लामिछानेले बताए । 

निजी क्षेत्रको झण्डै पाँच खर्ब लगानी भएकाले त्यसको संरक्षण गर्ने दायित्वबाट स्थानीय सरकार अल्मलिन नहुने उनको प्रष्टोक्ति छ । खासगरी तालको मापदण्ड र उचाई मापदण्डमा त्यहाँका व्यवसायी भित्रिरुपमा त्रसित रहेको आफूले पाएको उनले नयाँ पत्रिकालाई सुनाए । यस्ता खालका अन्योलका कारण बैंक वित्तिय क्षेत्र पनि लगानी नडुब्ने आधार खोज्छन् । यसमा बैक वित्तिय संस्थाले हात झिक्ने प्रयास मात्र गर्दा पनि राष्ट्रिय अर्थतन्त्र नै धरासाई बन्ने तर्फ सचेत बन्नुपर्ने उनले औल्याए । ओम डेभलपमेन्ट बैंकका सिइओ विश्वमोहन अधिकारीले तत्कालै समस्या नरहेपनि यस्ता दुविधाहरु लगानी क्षेत्रमा रहिरहनु उचित नहुने बताउँछन् ।