बजेटका पक्षमा मत जाहेर गर्न नेकपाको ह्विप

२०७६ असार २६ बिहीबार ११:१६:००

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठकले बजेटका पक्षमा मत जाहेर गर्न  आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले पार्टीका सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित भएर बजेटका पक्षमा मत जाहेर गर्न ह्विप जारी गरेका हुन् । बिहीबार बिहान बस्ने बैठकमा बजेटप्रति सांसदहरूले धारणा राख्ने पालो सकिने र दिउँसो ३ बजे बस्ने संसद् बैठकमा आर्थिक मामिला तथा योजनामन्त्रीले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएपछि बजेट पारित गर्ने तय भएको बताइएको छ । 

सचेतक तामाङले बैठकमा उपस्थित भएर बजेटको पक्षमा मत जाहेर गर्न सांसदहरूलाई ह्विप जारी गरिएको बताए । बजेटलाई लिएर सत्तापक्षका सांसदहरू सरकारमाथि खनिएका छन् । छलफलका क्रममा सत्तापक्षकै सांसदहरूले तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपाका २५ जना सांसदले यसअघि आफ्नो हस्ताक्षर गरेर मुख्यमन्त्री त्रिलोचन भट्टलाई बुझाएका थिए ।

सत्तापक्षका अधिकांश सांसद बजेटको असन्तुष्टिलाई लिएर आक्रामक भएपछि सरकार नै अप्ठेरोमा परेको छ । सांसदहरूले तीव्र असन्तुष्टि जनाएपछि नेकपा संसदीय दलको बैठकले सांसदहरूलाई बजेटको पक्षमा मत जाहेर गरेर पारित गर्न ह्विप जारी गरेको बताइएको छ । सुदूरपश्चिम प्रदेश सभामा नेकपाको दुईतिहाइ बहुमत छ । संसद्मा ध्वनि मतका आधारमा बजेट पारित गरिन्छ । 

सांसदहरूले संसद्मा निरन्तर सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । बुधबारको बैठकमा नेकपाका सांसद रतन थापाले मन्त्रीहरूले आफ्नो पैतृक सम्पत्ति वितरण गरेजस्तै बजेट बनाएको आरोप लगाएका थिए । नेकपा कैलालीका अध्यक्षसमेत रहेका थापाले सरकारले मनलाग्दी गरे आफूहरू चुप लागेर नबस्ने चेतावनी दिए । उनले भने, ‘सरकारले जे पायो त्यहीँ गर्दा सहेर बस्नुपर्छ भन्ने छैन । लोगो फुकालेर घर जान सकिन्छ ।’ नेकपाकै सांसद महेशदत्त जोशीले यसअघिको बैठकमा आफ्नै पार्टीका सांसदका असन्तुष्टि मिलाउन नसके सरकार ढल्न सक्ने चेतावनी दिएका थिए ।  

सुधार गर्छु : मुख्यमन्त्री
बुधबार अपराह्न बसेको संसदीय दलको बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले सांसदहरूका भावनालाई समेटेर बजेट सुधार गर्ने प्रतिबद्धता जनाएका थिए ।   सांसदहरूका छुटेका योजनाहरू समेट्ने प्रतिबद्धता मुख्यमन्त्रीले जनाएका बैठकमा सहभागी एक सांसदले बताए । आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले पनि सांसदका भावनाअनुसार सुधार गर्ने प्रतिबद्धता जनाएको ती सांसदले बताए । 

 

 

 

सम्बन्धित समाचार