Skip This
Skip This

ठेलामा ल्याइने तरकारीको क्वारेन्टाइन अनिवार्य 

भारतबाट दैनिक २५ ठेला नेपालगन्ज क्षेत्रमा भित्रिने भन्सार कार्यालयको भनाइ

२०७६ असार २६ बिहीबार ०७:४३:००

बिक्रीका लागि ठेलामा राखेर भारतबाट नेपालगन्ज ल्याइने फलफूल र तरकारी व्यापारीले पनि अबदेखि क्वारेन्टाइन परीक्षण गराउनुपर्ने भएको छ । नेपालगन्ज भन्सार कार्यालयले प्लान्ट क्वारेन्टाइन गराएर मात्र ठेलामा भएका तरकारी र फलफूल नेपाल प्रवेश गर्न दिने नीतिलाई कडाइ गरी ठेला व्यापारिले पनि अनिवार्य रूपमा क्वारेन्टाइन जाँच गराउनुपर्ने भएको हो । विदेशबाट आयात हुने खाद्य तथा खाद्यजन्य वस्तुको क्वारेन्टाइन अनिवार्य गर्नुपर्ने प्रावधान भए पनि नेपालगन्ज भन्सारले ठेलाका व्यापारीलाई छुट दिँदै आएको थियो । ‘नियम त पहिले पनि थियो, तर व्यवहारिक रूपमा ठेलाका फलफूल र तरकारी क्वारेन्टाइन नगरेरै छोड्न गरिन्थ्योँ । अबचाहिँ प्रवेश इजाजतपत्र (इपी) नहुँदासम्म जान दिइने छैन,’ नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले भने । 

प्लान्ट क्वारेन्टाइनबाट निरोगिताको प्रमाणपत्र ल्याएपछि मात्र ठेलाका फलफूल र तरकारी नेपाल प्रवेश गर्न दिने नीति अवलम्बन गरिएको निरौलाले जानकारी दिए । ‘पहिले भएको नियमलाई कडाइ गरिएको मात्र हो,’ उनले भने । खाद्य तथा खाद्यजन्यवस्तुमा भएको रोग तथा कीरा एउटा देशबाट अर्को देशमा भित्रिन नपाओस् भन्ने उद्देश्यले प्लान्ट क्वारेन्टाइन गरिन्छ । दुवै देशमा भएका समान रोगलाई त्यति ध्यान नदिइए पनि अर्को देशमा उत्पन्न भएका नयाँ जातका किरा र रोग भए/नभएको परीक्षण गरेर मात्र खाद्यवस्तु भित्रिने अनुमति दिने गरिएको पशु क्वारेन्टाइन कार्यालय, नेपालगन्जका प्रमुख वरिष्ठ बाली संरक्षण अधिकृत थमनबहादुर कार्कीले बताए । ‘हाम्रो देशमा नभएको रोग अर्को देशको खाद्यवस्तुमा छ वा छैन भन्ने जानकारी लिन खाद्य तथा खाद्यवस्तुको परीक्षण गरिन्छ,’ उनले भने, ‘मानव स्वास्थ्यमा असर पार्ने छ, छैन भन्ने जाँच पनि सँगसँगै हुन्छ,’ उनले भने । 

भारतबाट दैनिक २०–२५ ठेला नेपालगन्ज भित्रिन्छन्
भारतीय सीमा बजार रुपइडिहाबाट हरेक दिन झन्डै २०–२५ वटा ठेलामा तरकारी र फलफूल नेपालगन्ज आउने गरेका छन् । ती ठेलाका व्यापारीले बेलुका रित्तो ठेला लिएर भारत जाने र बिहान ठेलामा तरकारी र फलफूल भरेर ल्याउने गर्छन् । ‘बिहान ६ बजे भन्सार खुल्छ, ठेलामा फलफूल र तरकारी बिक्री गर्ने व्यापारीहरू बिहान सात बजे भन्सारमा आइपुग्छन्,’ प्रमुख भन्सार अधिकृत निरौलाले भने । 

मालबाहक ट्रकमा आयात भएका खाद्यवस्तुको मात्र परीक्षण गर्दै आएको प्लान्ट क्वारेन्टाइन कार्यालयले सरकारको नीति कार्यान्वयनका लागि भन्सार कार्यालयसँग मिलेर कडाइ गरिएको बताएको छ । ‘ठूला मालबाहक ट्रकबाट ल्याउने खाद्यवस्तुजस्तै ठेलामा ल्याउने खाद्यवस्तुबाट पनि रोग भित्रिन सक्ने भएकाले परीक्षण अनिवार्य गरिएको हो,’ क्वारेन्टाइन प्रमुख कार्कीले भने ।