Skip This
Skip This

करिब ३ अंकले बढ्यो नेप्से

२०७६ असार २५ बुधबार ०९:३९:००

साताको तेस्रो कारोबार दिन सेयर बजार परिसूचक नेप्से उकालो लागेको छ । नेप्से परिसूचक बढे पनि यस दिन कारोबार रकम भने घटेको छ । यतिवेला बजार बैंक तथा वित्तीय संस्थाको मर्जरको विषयले चलायमान भएको छ । 

नेपाल राष्ट्र बैंकले मर्जरको नीतिलाई कडाइका साथ लागू गर्ने संकेत दिएपछि केही लगानीकर्ता हौसिएका छन् भने बैंकहरू फोर्स मर्जरका विपक्षमा देखिएपछि केही लगानीकर्ता अन्योलमा परेका छन् । यद्यपि, अधिकांश लगानीकर्ता भने मौद्रिक नीतिको पर्खाइमा छन् । त्यसैले बजारमा सामान्य उतार–चढाव देखिएको छ । 

बजार सारांश
सोमबार नेप्से परिसूचक २ दशमलव ९२ अंक बढेर १ हजार २ सय ५० दशमलव २७ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव २७ अंक बढेर २ सय ६९ दशमलव शून्य ६ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव २४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव शून्य ७ अंक बढेको छ । यस दिन १ सय ६५ कम्पनीको ५ हजार ७ सय ९८ पटकको कारोबारमा ४६ करोड ८२ लाख २६ हजार ७ सय ७० रुपैयाँबराबरको १६ लाख ०७ हजार ६ सय ७२ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

७ समूहको परिसूचक हरियो
यस दिन कारोबारमा आएका ११ वटा समूहमध्ये ७ समूहको परिसूचक बढेर हरियो भएको छ भने बाँकी ४ वटा समूहको परिसचूक घटेर रातो भएको छ । यस दिन बैंकिङ समूहको परिसूचक शून्य दशमलव ३५ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंकको समूहको शून्य दशमलव ३, जलविद्युत्को शून्य दशमलव ३६, वित्त समूूहको शून्य दशमलव ८, उत्पादनको शून्य दशमलव ११, अन्यको शून्य दशमलव १८ र जीवन बिमा समूहको परिसूचक शून्य दशमलव ४ प्रतिशतले बढेको छ । त्यस्तै, होटेल समूहको शून्य दशमलव २७, निर्जीवन बिमा समूहको शून्य दशमलव ७३, लघुवित्त समूहको शून्य दशमलव शून्य ३ र म्युचुअल फन्ड समूहको परिसूचक शून्य दशमलव शून्य ९ प्रतिशतले घटेको छ । 

स्वाभिमान लघुवित्तको सेयर धेरैपटक कारोबार
यस दिन स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर धेरैपटक खरिद–बिक्री भएको छ । बैंकको नेप्सेमा २ सय ७८ पटक कारोबार भएको छ । कारोबारको अन्त्यमा भने सेयरमूल्य ४ सय ७८ कायम भएको छ । मेगा बैंकको २ सय ७४ पटक कारोबार भएको छ । बैंकको सेयरमूल्य २ सय ११ कायम भएको छ । सिभिल बैंकको २ सय ४५ पटक कारोबार भएको छ । बैंकको अन्तिम सेयरमूल्य १ सय ५८ रुपैयाँ कायम भएको छ । एनआइसी एसियाको १ सय ७४ र नेपाल बैंकको १  सय ६५ पटक सेयर खरिद–बिक्री भएको छ । 

इन्भेष्टमेन्टको प्रमोटर सबैभन्दा धेरै कारोबार
यस दिन कारोबारका आधारमा नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयरको सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको ६ करोड २ लाख रुपैयाँबराबको सेयर खरिद–बिक्री भएको छ । 

कारोबारको अन्त्यमा बैंकको सेयरमूल्य ४६९ कायम भएको छ । त्यस्तै, लक्ष्मी बैंकको ४ करोड १३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । बैंकको सेयरमूल्य २ सय २६ कायम भएको छ । नेपाल बैंकको २ करोड ६८ लाख रुपैयाँबराबरको कारोबार भएको छ भने अन्तिम मूल्य ३ सय ३५ कायम भएको छ । एनआइसी एसिया बैंकको १ करोड ८९ लाख रुपैयाँबराबरको कारोबार भएको छ भने मेगा बैंकको १ करोड ७० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

स्वावलम्बनले गर्‍यो मर्जर समिति गठन
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले मर्जर समिति गठन गरेको छ । संस्थाको गत सोमबार बसेको सञ्चालक समितिको ३०८औँ बैठकले मर्जर तथा प्राप्ति सम्बन्धनमा गृहकार्य गर्न मर्जर समिति गठन गरेको हो । समितिको संयोजकमा संस्थाका सञ्चालक सतिशकुमार श्रेष्ठ नियुक्त भएका छन् । त्यस्तै, सदस्यमा सञ्चालक रामप्रसाद पाण्डे र भाष्करनरसिंह जोशी नियुक्त भएका छन् भने प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल सदस्य सचिव नियुक्त भएका छन् । 

प्रभुको २३औँ साधारणसभा साउन १७ गते
प्रभु इन्स्योरेन्स कम्पनीको ३७४औँ सञ्चालक समितिको बैठकले आगामी साउन १७ गते २३औँ वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ । सभाका लागि साउन ३ गतेदेखि १७ गतेसम्म कम्पनीको सेयर दाखिला खारेज हुनेछ ।

जनउत्थानको सञ्चालकको राजीनामा स्वीकृति
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले सञ्चालक डा. मेगबहादुर विश्वकर्मा र रामचन्द्र गौतमको राजीनामा स्वीकृत गरेको छ । संस्थाको मंगलबार बसेको १३५औँ सञ्चालक समितिको बैठकले सञ्चालकको राजीनामा स्वीकृत गरेको हो । 

सम्बन्धित समाचार