Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २१ बुधबार
  • Wednesday, 05 August, 2020
२०७६ असार २० शुक्रबार १०:११:००
खेलकुद

विश्वकपबाट बिदा भए गेल

२०७६ असार २० शुक्रबार १०:११:००

१२औँ विश्वकप क्रिकेट प्रतियोगिता सुरु हुनुअघि वेस्टइन्डिजका बायाँहाते ब्याट्सम्यान तथा उपकप्तान क्रिस गेलले भनेका थिए, ‘विश्वकपमा इंग्ल्यान्डको पिचमा युनिभर्सल बोसले विस्फोटक ब्याटिङ गर्नेछ ।’ तर, गेलले आफ्नो भनाइ यथार्थमा उतार्न सकेनन् । करिअरकै अन्तिम विश्वकप खेलिरहेका गेलले यसपटक इंग्लिस भूमिमा कुनै चामत्कारिक प्रदर्शन गर्न सकेनन् । वेस्टइन्डिजले ब्याटिङमा ओपनर ब्याट्सम्यान गेलबाट सर्वाधिक आशा गरेको थियो । तर, गेलले आफ्नो क्षमताअनुरूप खेल्न नसक्दा वेस्टइन्डिज प्रत्येक खेलमा दबाबमा देखियो । गेल विश्वकपकै अन्तिम खेलका रूपमा अफगानिस्तानविरुद्ध ब्याटिङ गर्दा पनि गेल निराशाजनक प्रदर्शन गर्दै विश्वकप अभियान अन्त गर्न बाध्य भए । 

अन्तिम खेलमा सात रन
अफगानिस्तान र वेस्टइन्डिज दुवैका लागि विश्वकपको ४२औँ खेल केवल औपचारिकता मात्र थियो । यस खेलमा जितले दुवै टोलीलाई कुनै अर्थ राख्दैनथ्यो । किनभने, दुवै टोली विश्वकपको राउन्डरोबिन लिगबाटै बाहिरिसकेका थिए । यद्यपि, गेल अन्तिम खेलमा जादुमयी प्रदर्शन गर्दै आफ्नो रबाफिलो इतिहासको सफल अन्त गर्ने अपेक्षामा थिए । तर, उनी सात रनमै क्रिजबाट हटे । ५.३ ओभरमा गेल दौलत जाद्रानको बलमा विकेटपछाडि इक्रमबाट क्याचआउट भए । आउट भएसँगै गेलले विश्वकपबाट औपचारिक बिदा लिए । लिड्सको मैदानमा गेल सुरुदेखि नै दबाबमा थिए । उनी फास्ट र स्पिन बलरविरुद्ध खेल्न सकिरहेका थिएनन् । कट गर्ने प्रयासमा उनी विकेटपछाडि क्याचआउट हुन पुगे । लिड्सको मैदानमा क्याचआउट भएपछि गेल निकै निराश देखिए । 

दुई अर्धशतक
तीन महिनाअघि इंग्ल्यान्डविरुद्धको सिरिजमा सानदार दुई शतक बनाएका गेल यसपटक असफल रहे । चालू प्रतियोगितामा गेलले दुई अर्धशतक मात्र प्रहार गरे । विश्लेषकले गेलले कम्तीमा विश्वकपमा एउटा शतक प्रहार गर्नुपर्ने बताएका छन् । तर, आफूलाई सम्हाल्न नसक्दा र अवस्थाअनुसार ब्याटिङ नगर्दा गेल विश्वकपमा चुक्न पुगेको विश्लेषकको भनाइ छ । चालू विश्वकपमा गेलको उत्कृष्ट प्रदर्शन नै न्युजिल्यान्डविरुद्ध थियो । सो खेलमा गेलले ८७ रन बनाउनुका साथै एक विकेट लिएका थिए । उनले इंग्ल्यान्डविरुद्धको पहिलो खेलमा ५० रनको इनिङ खेलेका थिए । बंगलादेश विरुद्धको खेलमा उनी शून्य रनमै आउट भए । भारतसँगको खेलमा ६ रन बनाए । 

पाँच विश्वकपको यात्रा
सन् १९९९ को सेप्टेम्बरमा गेलले इंग्ल्यान्डविरुद्धको एकदिवसीय खेलमा डेब्यु गरेका थिए । गेलले आफ्नो करिअरमा पाँच विश्वकप खेलेका छन् । सुरुवातीभन्दा पनि करिअरको मध्यतिर गेलले विस्फोटक ब्याट्सम्यानका रूपमा आफूलाई चिनाए । टेस्टदेखि एकदिवसीयसम्म उनको ब्याटिङ शैली परिवर्तन भएन । क्रिकेटका तीनवटै फम्र्याटमा गेलले आक्रामक रूपमा ब्याटिङ गर्दा सबै उनको खेल हेर्न आतुर हुन्थे ।  

विश्वकपमा दोहोरो शतक बनाउने पहिलो खेलाडी
विश्वकप इतिहासमा गेल दोहोरो शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान हुन् । सन् २०१५ को विश्वकपमा गेलले यो कीर्तिमान जिम्बावेविरुद्ध बनाएका थिए । उनले एकदिवसीय खेलमै व्यक्तिगत सर्वाधिक दुई सय १५ रन जोडे । सोही विश्वकपमा न्युजिल्यान्डका मार्टिन गुप्टिलले दुई सय ३७ रनको इनिङ खेल्दै गेलको रेकर्ड तोडे । मार्टिनले वेस्टइन्डिजविरुद्ध नै यो रेकर्ड बनाएका थिए । गेलले दुई सय ९७ एकदिवसीय खेलमा २५ शतक र ५३ अर्धशतकका साथ १० हजार तीन सय ८६ रन बनाएका छन् ।